श्रीधरको निर्देशनमा पुष्प र वर्षाले बाँधे जोडी (म्युजिक भिडियो)


प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र पछिल्लो पुस्ताकी चल्तीकी गायिका मेलिना राइको स्वर समावेश पछिल्लो गीत ‘नानी ज्यान’ सार्वजनिक भएको छ । सोमबार युट्युव मार्फत गीतको भिडियो पनि रिलिज गरियो ।

सार्वजनिक भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले जोडी बाँधेका छन् । पुष्प अभिनित ठुलो पर्दाको ‘मंगलम’ रिलिजको क्रममा छ भने शिवाकोटी ‘भेरै’ फिल्मको सुटिङबाट केहि दिन पहिले मात्रै राजधानी फर्केकी थिइन् । फिल्म अभिनयसँगै भिडियोमा पनि उत्तिकै उपस्थिती जनाउँदै आएका पुष्प र वर्षा नेपाली सानो पर्दामा हिट जोडीमा गनिन्छन् ।

सञ्चारकर्मी समेत रहेका श्रीधर पौडेलको निर्देशनमा तयार भिडियोमा पुष्प र वर्षालाई प्रेम भावमा भेट्न सकिन्छ । पौडेलले पछिल्लो समय सञ्चारकर्म सँगसँगै भिडियो तथा विज्ञापन निर्देशनमा आफुलाई अब्बल प्रमाणित गर्दै आइरहेका छन् ।

यो भिडियोमा शब्द संगीत राजप्रताप केसीको छ भने एरेञ्ज बाबु प्रधानले गरेका छन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । एशियन म्युजिकले भिडियोको बजार व्यवस्थापनको काम गरेको छ ।

को हुन् गायक राजेश केसी ?

गायक राजेश रेडियो नेपालको वरिष्ट गायक शिव केसी र सावित्री केसीका छोरा हुन् । युवा अवस्थाको सम्झना सहित आफ्नै जीवन संगीनीलाई समर्पित गर्दै ‘नानी ज्यान’ एल्बममा समावेश हुनेगरी पछिल्लो गीत ‘नानी ज्यान’ नै नाम लिएर दर्शक श्रोतामाझ ल्याएको उनले बताए ।

तीन दर्जन बढि गीतहरुमा स्वर संगीत भरिसकेका राजेश बालापनदेखिको पारिवारिक सांगितिक माहोलबाट बाहिर जान सकेनन् । सानो उमेरदेखि नै गीत संगीतसँग जोडिए । नारायणहिटी राजदरबारमा पुर्व राजा बिरेन्द्र परिवार रहँदा दिपेन्द्र सरकारको जन्मोत्सवमा राजपरिवारको अगाडी गायनकला प्रस्तुत गरेको अनुभव पनि राजेशसँग छ ।

पछिल्लो पटक लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका राजेशले त्यहाँ रहँदा नेपाली कला संस्कृति तथा नेपाली कलाकर्मीहरुको पक्षमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । बुबाकै प्रेरणामा गीत संगीत क्षेत्रसँग जोडिएका उनि देश बाहिर रहे पनि नेपाली कला संस्कृतिबाट टाढा रहन नसक्ने बताउँछन् । राजेशले शरिरमा स्वास रहुन्जेल गीत संगीत सँगसँगै रहने बताए ।

भिडियो छायांकनका क्रममा श्रीधर पौडेलले खिचेका केही तस्विरहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com