२४ वर्षको टेलिभिजन स्टारडमपछि विश्वव्यापी क्षितिज विस्तारमा नजर लगाउँदै सुरज सिंह ठकुरी


प्रकाशित मिति : श्रावण १४, २०८० आईतबार

झण्डै २४ बर्ष भयो चर्चित टेलिभिजनकर्मी सुरज सिंह ठकुरीले नेपालका टेलिभिजनहरुमा कार्यक्रम चलाउन थालेको । उनले सन् २००० मा नेपाल टेलिभिजनमा दिव्यदृष्टि टेलिभिजनको प्रस्तुती संचालन गर्दा उनी भर्खर २० बर्ष कटेका थिए । त्यो यताका झण्डै साढे २ दशकमा उनी नेपाली टेलिभिजन क्षेत्रमा लाइमलाइटमा रहिरहे । उनै  चर्चित टेलिभिजन पर्सनालिटी सुरज सिंह ठकुरी हाल अमेरिका भ्रमणमा छन् । अमेरिकाको न्युयोर्क आएको बेलामा हामीले उनको विगत, वर्तमान र आगामी योजनाबारे कुराकानी गरेका थियौं ।

फरक शैलीको कार्यक्रमको हुटहुटी

‘सुरुमा टेलिभिजन हेर्दा एकदमै औपचारिक भाषामात्र प्रयोग हुर्ने गथ्र्यो । आम जनताले बोल्ने प्रकारको वा अनौपचारिक भाषा टेलिभिजनमा प्रयोग हुदैनथ्यो । आम जनताले बोल्ने शैलीको भाषा टेलिभिजनमा प्रयोग गर्नेबारे म निकै उत्सुक थिएँ । जब मैले टेलिभिजनमा कार्यक्रम चलाउन सुरु गरें, मैले परम्परागत रुपमा प्रयोग हुदै आएको औपचारिक भाषाको साटो आम जनताले प्रयोग गर्ने अनौपचारिक भाषा प्रयोग गर्न सुरुवात गरें,’  टेलिभिजन करिअरका सुरुवाती दिनहरु सम्झिदै सुरजले भने ।

सन् २००० मा नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनमा शनिबार विहान ९ बजेदेखि साढे ९ बजेसम्म चलाउने उनको कार्यक्रम निकै लोकप्रिय बन्यो । त्यो समयमा सरकारी टेलिभिजनमा कार्यक्रम संचालनका थुप्रै मापदण्डहरु थिए । त्यसैले उनले झण्डै १ बर्षपछि निजी क्षेत्रको टेलिभिजन रोजेर च्यानल नेपालमा सन् २००१ देखि मनोरञ्जन क्षेत्रका विभिन्न कार्यक्रमहरु चलाउन थाले । कुनै समय उनले च्यानल नेपालमा म्युजिक एण्ड मोर अन डिमाण्ड, टी टक जस्ता तीनवटा शो चलाउँथे ।

कल कान्तिपुरमार्फत कमाएको लोकप्रियता

जब उनले सन् २००३ मा कान्तिपुर टेलिभिजनमा प्रवेश गरेर कल कान्तिपुर नामको लाइभ कार्यक्रम चलाउन थाले, त्यसपछि कार्यक्रमसँगै उनको लोकप्रियता अत्यन्तै चुलियो । त्योभन्दा अगाडि नेपाली टेलिभिजन जगतमा लाइभ फोनकल लिने कुनै सांगीतिक कार्यक्रम थिएन । सुरज सिंह ठकुरीले यही कार्यक्रममार्फत नेपाली टेलिभिजन जगतमा नयाँ ट्रेण्डको सेटपअ गरे, जुन शैली त्यसपछि धेरै टेलिभिजनहरु र कार्यक्रम प्रस्तोताहरुले पछ्याए । उनले संचालन गर्ने यो टेलिभिजन कार्यक्रमले समग्र कान्तिपुर टेलिभिजनकै टीआरपी बढाउन समेत उल्लेख्य भूमिका खेल्यो ।

कल कान्तिपुर संचालनका बेलामा सुरज सिंह ठकुरी । जसले उनलाई लोकप्रियताको शिखरमा पुर्यायो ।

उनले यो कार्यक्रम झण्डै १० बर्ष अर्थात् सन् १०१२ सम्म चलाए । उनको यो कार्यक्रम यति लोकप्रिय थियो कि उनको शोबारे एकजना विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट मास्टर्सको थेसिस नै गरिन् । नेपालका अहिलेका सांगितिक क्षेत्रका प्राय चर्चित सेलिब्रेटीहरुको प्रिमियर सुरजको टेलिभिजन शो कल कान्तिपुरबाटै भएको इतिहास छ । कुनै गीतको म्युजिक भिडियो बनिसकेपछि त्यसको प्रिमियर कल कान्तिपुरबाट गर्नका लागि महिनौंको लाइन हुनेगथ्र्यो । कल कान्तिपुरबाट प्रिमियर भएको भिडियोको ब्राण्ड नै छुट्टै हुने अवस्था थियो ।

उच्च घरानाका र चर्चितहरु पनि नाम फेरेर कल कान्तिपुरमा

अहिलेका काठमाडौंका मेयर बालेन शाह पनि कुनै बेला कल कान्तिपुरका नियमित दर्शक थिए । बालेन आफैले एउटा टेलिभिजन शोका क्रममा यसबारे बताएका थिए । उनले कल कान्तिपुरमा आम दर्शकका रुपमा फोन गरेर कुराकानी समेत गरेका थिए । सुरज सम्झिन्छन् – ‘उच्च घरानाका र कैयन चर्चित व्यक्तिहरुले समेत आफ्नो नाम फेरेर लाइभ टेलिभिजन शोमा फोन गर्थे । कतिपय दर्शकहरुले त निरन्तर फोन लगाएर एकसयपटकभन्दा पनि धेरै कार्यक्रममा सहभागिता जनाएका छन् ।’

ठूलो संख्यामा दर्शकहरुले एकैपटक फोन ट्राइ गर्दा फोन लगाउन गाह्रो हुन्थ्यो । त्यसका बाबजुत पनि निरन्तर फोन लगाएर ५० पटकसम्म कार्यक्रममा सहभागी भएका एक दर्शकलाई त सुरजले कार्यक्रममा नै अतिथिका रुपमा बोलाए । एकपटक अतिथिका रुपमा आएका ती व्यक्ति फेरी ५० पटक फोनकलमार्फत कार्यक्रममा सहभागी भएपछि दोश्रो पटकपनि कार्यक्रममा अतिथिका रुपमा आए ।

कल कान्तिपुर संचालनका बेलाका दर्जनौं रोचक किस्साहरु सुरजसँग छन् । कल कान्तिपुरमा लक्की ड्रको कार्यक्रम पनि थियो । उक्त कार्यक्रममार्फत लक्की ड्र गरेर झण्डै १० करोडको रुपैयाको उपहार पनि दर्शकहरुलाई प्रदान गरिएको थियो । लक्की ड्र विजेताहरुले कार, फोन, घर, बाइक, मोबाइल र सुन लगायतका उपहारहरु पाउँथे । कार्यक्रम यति लोकप्रिय थियो कि एकपटक उनी साउदी अरबमा जाँदा दर्शकहरुको भींड थाम्न नसक्ने अवस्थामा भएपछि सुरक्षाकर्मीहरुले लाठिचार्ज नै गर्नुपरेको थियो ।

झण्डै १० बर्षसम्म कल कान्पिुर संचालन गर्दा उनका को होस्टहरु भने बारम्बार फेरिए । प्रसिद्धिका रायमाझी, प्रिटी सिटौला, माल्भिका सुब्बा, मानवी ढकाल, सरिता ज्ञवाली, अकेशा विष्ट लगायतले उनीसँग को होस्टका रुपमा कार्यक्रम चलाए । उनीसँगै कल कान्तिपुरमा को होस्ट हुनेहरु २ जना मिस नेपालका विजेता थिए भने अरु कैयन नेपालका ब्युटी पेजेन्टहरुमा विभिन्न टाइटल जित्नेहरु थिए ।

त्यतीबेला सिनियर प्रोड्युसरका रुपमा समेत काम गरेका सुरज भन्छन् -‘कल कान्तिपुरका त्यतीबेलाका दर्शकहरु अहिले विश्वभर छन् । उनीहरुसँग अहिलेपनि भेटहुँदा उनीहरुले आफ्नो बाल्यकाल सम्झिन्छन् । बाल्यकालमा विद्यालयबाट फर्केपछि बेलुका कल कान्तिपुर हेर्ने गरेको स्मरण गर्दै उनीहरु नोस्टाल्जिक हुने गर्छन् । त्यसले मलाई पनि नोष्टाल्जिक बनाउँछ । दर्शकहरु मेरा एक्सटेण्डेड परिवारजस्ता थिए ।’

मनोरञ्जनपछि सामाजिक विषयतिर

सन् २०१४ पछि भने सुरजले आफूले संचालन गर्ने कार्यक्रमलाई सामाजिक विषयमा केन्द्रीत गर्न थाले । घुमघाम, नेटिभ ट्युन्स लगायतका कार्यक्रमसँगै उनले सामाजिक विषयलाई उठान गर्ने कार्यक्रम परिवर्तन संचालन गरे । २०१४ देखि २०१६ सम्म संचालन गरेको यो कार्यक्रममा नेपालका सामाजिक विकृति, विसंगती लगायतका विरुद्धमा समेत उनले आवाज उठाउन थाले । उनले बोक्सी लगायतका कुप्रथाविरुद्ध कैयन कार्यक्रम बनाए भने उनले नेपालमा भूकम्पको जोखिमबारे बनाएको टेलिभिजन शो छायांकन भएको केही दिनमा नै नेपालमा सन् २०१५ मा गएको शक्तिशाली भूकम्पमा हजारौंले ज्यान गुमाए । उनले यो कार्यक्रमको दौरान दुर्घटना, विपत्ति लगायत कैयन विषयमा सामाजिक जागरण जगाउने भागहरु बनाए ।

सन् २०१८ मा कान्पिुर टेलिभिजनमा कार्यकारी प्रोड्युसरको जिम्मेबारीसँगै उनले संचालन गरेको इट्स माइ शो नामको कार्यक्रमले पनि सामाजिक परिवर्तनका क्षेत्रमा उल्लेखनीय भूमिका खेल्यो । उनले एसिड आक्रमणको शिकार भएकी मुस्कान खातुनलाई कार्यक्रममा ल्याएर कानुन परिवर्तनका लागि सरकारलाई दिनेगरी यो विषयलाई राष्ट्रिय विषय बनाए । कार्यक्रममा उनले श्रीमतीको एसिड आक्रमणमा परेका श्रीमान रामराजा थापालाई पनि ल्याएका थिए ।

इट्स माई शोमा एसिड आक्रमणका पीडितहरुसँग कुराकानी गर्दै सुरज सिंह ठकुरी ।

सन् २०१९ मा १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गरेकोमा मुस्कान खातुन एसिड हमलाको शिकार भएकी थिइन् । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । मुस्कानले धम्की र सामाजिक दबाबका बीच एसिड हमलाविरुद्ध कडा कानुन र सजायको लागि अभियान संचालन गरिरहेकी थिइन् ।

मुस्कान खातुनलाई सुरजले आफ्नो टेलिभिजन शोमा ल्याएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न बोलाए, जसमा मुस्कानले एसिड हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरेकी थिइन् । त्यसपछि सरकारले अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश जारी गरेको थियो । एसिड आक्रमणमा परेर बाँचेकी नेपाली खातुनलाई सन् २०२१ मा अमेरिकी सरकारले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गरेको थियो भने सन् २०२३ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिंकेन सहभागी ह्वाइटहाउसमा आयोजना गरिएको कार्यक्रममा मुस्कान खातुनलाई निमन्त्रणा दिइएको थियो ।

सुरजले आफ्नो कार्यक्रममा सिमान्तकृत समुदायका आवाज पनि उठाउँदै आए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि सकृय भूमिका श्रेष्ठ लगायतलाई आफ्नो शोमा अतिथिका रुपमा बोलाएर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आवाजलाई थप बुलन्द बनाउन मद्दत गरे । पछि भूमिका श्रेष्ठ पनि सन् २०२२ मा अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित भइन् । भूमिका पनि सन् २०२३ मा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिंकेन सहभागी ह्वाइटहाउसमा आयोजित रिसेप्सनमा सहभागी भएकी थिइन् ।

आफ्नै हजुरबा र बाबुबाट पटकपटक बलात्कृत काभ्रेकी एक पीडित बालिकाको बारेमा पनि सुरजले टेलिभिजन शो बनाए । जसका कारण यो मुद्दा राष्ट्रिय बहसको मुद्दा बन्न पुग्यो । पीडित बालिकाले सहयोग प्राप्त गर्न सफल भइन् भने बलात्कारको अभियोगमा दोषी बाबुलाई अदालतले २० बर्षको जेल सजाय दियो । मेनुका थापाबाट संचालित रक्षा नेपालले बालिकालाई न्याय र आश्रय दिलाउनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो ।

इट्स माई शो कार्यक्रम संचालनका क्रममा ।

सन् २०२२ सम्म कान्तिपुर टेलिभिजनमा इट्स माइ शो कार्यक्रम संचालनका क्रममा सुरजले उठाएका सामाजिक विषयहरुले सामाजिक परिवर्तनका लागि निकै महत्वपूर्ण योगदान दिए । उनले मानसिक स्वास्थ्यका बारेमा पनि धेरै भागहरु निर्माण गरे । उनको यो टेलिभिजन शोमा अन्तर्राष्ट्रिय स्तरका सेलिब्रेटीहरु चर्चित अमेरिकन कलाकार वाइक्लेफ, चर्चित फेशन डिजाइनर प्रबल गुरुङ, एल सिड लगायतले पनि अन्तरवार्ता दिइसकेका छन् । सुरजको इट्स माई शो यति चर्चित भयो कि झण्डै ७० प्रतिशत भाग यही शोले ओगटेको छ भने यसका कतिपय भाग युट्युबमा मौ १५ मिलियनपटकसम्म हेरिएको छ । कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा सुरजले यो दौरान कान्तिपुर टेलिभिजनमा प्रशारण इन्चार्जको नेतृत्वदायी भूमिकामा रहेर समेत काम गरे ।

निर्देशक र कलाकार समेत, स्पोटर्स ब्रोडकास्टमा  क्रान्ति

सुरज सिंह ठकुरीको परिचय टेलिभिजन कार्यक्रम प्रस्तोता वा प्रोड्युसरका रुपमा मात्र सिमित छैन । उनी चलचित्र र म्युजिक भिडियोका कलाकार र मोडल समेत हुन् भने उनले आफै पनि कैयन म्युजिक भिडियोहरुको निर्देशन गरेका छन् । उनले कर्कस, नाई नभन्नु ल २, नाई नभन्नु ल ३, जंगे, समर लभ लगायतमा चलचित्रमा अभिनय समेत गरेका थिए । उनले २ दर्जन बढी म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् भने १५० भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरेका छन् । म्युजिक भिडियोको क्षेत्रमा उनी सन् २००६ देखि नै लागेका थिए । उक्त समय नेपालमा म्युजिक भिडियोको सुरुवाती चरण थियो । सुरजले २ सयभन्दा धेरै चर्चित कार्यक्रमहरुमा मास्टर अफ सेरेमोनीका रुपमा काम गरेका छन् । उनले कोकाकोला लगायत कैयन चर्चित ब्राण्डका ब्राण्ड एम्बेसडरका रुपमा समेत काम गरे ।

एक म्युजिक भिडियोमा अभियनका क्रममा सुरजसिंह ठकुरी ।

त्यो बाहेक उनले नेपालमा स्पोटर्स ब्रोडकास्टमा एकप्रकारको क्रान्ति नै ल्याए । उनले स्पोटर्स ब्रोडकास्टका क्षेत्रमा २०१६ बाट काम सुरु गरेकोमा सन् २०१८ सम्म आइपुग्दा यस क्षेत्रमा निकै ठूलो परिवर्तन ल्याउन सफल भए । नेपालको खेलकुद लाइभ गर्नमा उनको निकै ठूलो भूमिका रहदै आएको थियो । सन् २०२३ देखि नेपालको हिमालय टिभीमा कन्सल्यान्टका रुपमा काम गरिरहेका सुरज सिंह ठकुरी रोडिज नामको चर्चित शोको सिजन ५ मा प्रोजेक्ट हेड र एंकरका रुपमा रहेका छन् ।

कैयन सम्मान र अवार्डबाट सुसज्जित हुँदै अन्तर्राष्ट्रिय क्षितिजको खोज

नेपाली टेलिभिजन जगतमा पायनियर र ट्रेलब्लेजर सुरज सिंह ठकुरीले आफूले गरेको योगदानवापत कैयन अवार्ड र सम्मानहरु समेत पाएका छन् । उनले सन् २०२३ मा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको चर्चित प्रवल जनसेवाश्री पदक पाएका थिए । उनले संचारकर्मी र मिडिया पर्सनालिटीका रुपमा गरेको योगदानवापत यो पदक पाएका हुन् ।

सन् २०१८ मा चिफ अफ आर्मी कमेन्डेशन ब्याचबाट समेत सम्मानित उनले विन्ध्यावासिनी म्युजिक अवार्डमा तीनपटकसम्म बेष्ट म्युजिक भिडियो निर्देशक अवार्ड पाएका थिए । सन् २०२२ मा उनले जीवन्त नेपाल म्युजिक भिडियो अवार्डमा बेष्ट म्युजिक भिडियो निर्देशक अवार्ड पाएका थिए । हङकङमा १० बर्ष अगाडि भएको इन्फा फिल्म अवार्डमा उनले चलचित्र नाई नभन्नु ल २ का लागि बेष्ट एक्टर इन सर्पोर्टिंग रोल अवार्ड पाएका थिए । त्यो बाहेक उनले दर्जनौं सम्मान र साइटेशनहरु पाएका छन् ।

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको चर्चित प्रवल जनसेवाश्री पदक प्राप्त गर्र्दै सुरज सिंह ठकुरी

पुरुष मोडलहरुको मुख्य अन्र्तराष्ट्रिय प्रतियोगिता म्यानहन्ट इन्टनेशनलका लागि नेपाली प्रतियोगी छनौट गर्ने प्रोस्टाइल म्यानहन्ट इन्टनेशनलमा २ पटकसम्म निर्णायको भूमिका खेलेका सुरजले मिस एसिया प्यासेफिक इन्टनेशनल नेपाल, मोडल हन्ट नेपाल, मिस नेपाल नर्थ अमेरिका, मिस्टर नेपाल, मिस्टर एण्ड मिस ब्लाइन्ड रकर्स इन्टरनेशनल लगायतका राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा पनि निर्णायकको भूमिका खेलेका छन् ।

उनको २४ बर्ष लामो यो अनुभवलाई विभिन्न चर्चित तथा राष्ट्रिय संचारमाध्यमहरुले पनि प्राथमकिताका साथ कभर गर्दै आएका छन् । नेपालका कैयन टेलिभिजनमा अन्तरवार्ताका क्रममा पनि उनले आफ्नो अनुभव शेयर गर्दै आएका छन् भने विभिन्न पडकास्टमा उनले शेयर गरेको अनुभव चर्चित हुने गरेको छ । नेपालका चर्चित संचारमाध्यमहरु कान्तिपुर, काठमाडौंपोष्ट, फेमिली म्यागाजिन लगायतमा उनका बारेमा कैयन कभर स्टोरीहरु आइसकेका छन् भने वेभ, नभ्यता, ट्राभल टाइम्स, फोलियो म्याजिन, नारी म्यागाजिन लगायतले पनि उनको जीवनमा अनुभवका बारेमा धेरै सामाग्रीहरु प्रकाशित गरिसकेका छन् ।

राष्ट्रिय रुपमा ट्रेलब्लेजर भएतापनि सुरज सिंह ठकुरी यत्तिमा भने सन्तुष्ट छैनन् । उनी भन्छन् -‘अब म ग्लोबल तरिकाले अगाडि बढ्न चाहन्छु । २४ बर्षमा सिकेको सिपलाई ग्लोबल बनाउन चाहन्छु । स्पोटर्स ब्रोडकास्टिंग र कन्टेन्ट क्रियशनमा आफ्नो क्षितिज ग्लोबल तरिकाले अगाडि बढाउने इच्छा छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com