आईआरएसद्वारा सन् २०२७ का नयाँ कर दर सार्वजनिक, विवाहित दम्पतीको कर छुट सीमा बढेर ३३ हजार २०० डलर
अमेरिकी आन्तरिक राजस्व सेवा (आईआरएस) ले सन् २०२७ का लागि महँगीअनुसार समायोजन गरिएका नयाँ कर दर र छुटका सीमा सार्वजनिक गरेको छ। नयाँ व्यवस्थाअनुसार मानक कर छुट (स्ट्यान्डर्ड डिडक्सन) बढाइएको छ भने संघीय आयकरका विभिन्न तहमा लागू हुने आम्दानीको सीमा र केही कर छुट तथा सहुलियतको रकम पनि वृद्धि गरिएको छ। यी परिवर्तन मुख्यतः सन् २०२८ मा बुझाइने कर विवरणमा लागू हुनेछन्।
नोभेम्बर ५ मा सार्वजनिक गरिएको घोषणामा करसम्बन्धी झन्डै ७० वटा व्यवस्थामा परिवर्तन गरिएको छ। यसको विस्तृत विवरण राजस्व प्रक्रिया २०२६–३५ मा उल्लेख छ।
संयुक्त रूपमा कर विवरण बुझाउने विवाहित दम्पतीका लागि मानक कर छुटको सीमा सन् २०२७ मा बढेर ३३ हजार २०० डलर पुगेको छ। यो सन् २०२६ को तुलनामा एक हजार डलर बढी हो।
एकल करदाताका साथै छुट्टाछुट्टै कर विवरण बुझाउने विवाहित व्यक्तिका लागि मानक कर छुट १६ हजार ६०० डलर हुनेछ। घरपरिवारको प्रमुखका रूपमा कर विवरण बुझाउने व्यक्तिका लागि यो सीमा बढेर २४ हजार ९२५ डलर पुगेको छ।
संघीय आयकरका सातवटै दर भने यथावत् रहनेछन्। न्यूनतम १० प्रतिशतदेखि अधिकतम ३७ प्रतिशतसम्मका दरमा परिवर्तन गरिएको छैन। तर, प्रत्येक कर दर लागू हुने आम्दानीको सीमा बढाइएको छ।
यी कर दर कुल तलब वा आम्दानीमा नभई करयोग्य आम्दानीमा लागू हुन्छन्। करदाताको आम्दानीको जुन हिस्सामा जुन दर लागू हुन्छ, त्यही हिस्सामा मात्र सम्बन्धित दरअनुसार कर लाग्छ।
सन् २०२७ का नयाँ आयकर दर
एकल कर विवरण बुझाउने व्यक्तिका लागि १२ हजार ८०० डलरसम्मको करयोग्य आम्दानीमा १० प्रतिशत कर लाग्नेछ। १२ हजार ८०० डलरभन्दा बढी तर ५२ हजार २५ डलरसम्मको आम्दानीमा १२ प्रतिशत कर लाग्नेछ। त्यस्तै, ५२ हजार २५ डलरभन्दा बढी तर एक लाख नौ हजार १२५ डलरसम्मको आम्दानीमा २२ प्रतिशत कर लाग्नेछ।
एक लाख नौ हजार १२५ डलरभन्दा बढी तर दुई लाख आठ हजार ३२५ डलरसम्मको आम्दानीमा २४ प्रतिशत कर लाग्नेछ। दुई लाख आठ हजार ३२५ डलरभन्दा बढी तर दुई लाख ६४ हजार ५५० डलरसम्मको आम्दानीमा ३२ प्रतिशत कर लाग्नेछ।
दुई लाख ६४ हजार ५५० डलरभन्दा बढी तर ६ लाख ६१ हजार ३७५ डलरसम्मको आम्दानीमा ३५ प्रतिशत कर लाग्नेछ। ६ लाख ६१ हजार ३७५ डलरभन्दा बढी आम्दानी गर्ने व्यक्तिले ३७ प्रतिशत कर तिर्नुपर्नेछ।
संयुक्त रूपमा कर विवरण बुझाउने विवाहित दम्पतीका लागि २५ हजार ६०० डलरसम्मको करयोग्य आम्दानीमा १० प्रतिशत कर लाग्नेछ। २५ हजार ६०० डलरभन्दा बढी तर एक लाख चार हजार ५० डलरसम्मको आम्दानीमा १२ प्रतिशत कर लाग्नेछ। त्यस्तै, एक लाख चार हजार ५० डलरभन्दा बढी तर दुई लाख १८ हजार २५० डलरसम्मको आम्दानीमा २२ प्रतिशत कर लाग्नेछ।
दुई लाख १८ हजार २५० डलरभन्दा बढी तर चार लाख १६ हजार ६५० डलरसम्मको आम्दानीमा २४ प्रतिशत कर लाग्नेछ। चार लाख १६ हजार ६५० डलरभन्दा बढी तर पाँच लाख २९ हजार १०० डलरसम्मको आम्दानीमा ३२ प्रतिशत कर लाग्नेछ।
पाँच लाख २९ हजार १०० डलरभन्दा बढी तर सात लाख ९३ हजार ६५० डलरसम्मको आम्दानीमा ३५ प्रतिशत कर लाग्नेछ। सात लाख ९३ हजार ६५० डलरभन्दा बढी आम्दानीमा ३७ प्रतिशत कर लाग्नेछ।
परिवारका लागि कर छुट बढ्यो
सन्तान कर छुट (चाइल्ड ट्याक्स क्रेडिट) को अधिकतम रकम सन् २०२७ मा १०० डलरले बढेर दुई हजार ३०० डलर पुगेको छ। यसमध्ये फिर्ता पाउन सकिने अधिकतम रकम पनि १०० डलरले बढेर एक हजार ८०० डलर पुगेको छ।
तीन वा सोभन्दा बढी योग्य सन्तान भएका र निर्धारित मापदण्ड पूरा गर्ने करदाताले पाउने अधिकतम श्रम आम्दानी कर छुट (अर्न्ड इन्कम ट्याक्स क्रेडिट) आठ हजार ४९६ डलर पुगेको छ। यो सन् २०२६ को आठ हजार २३१ डलरभन्दा बढी हो। करदाताले पाउने वास्तविक रकम उनीहरूको आम्दानी, कर विवरण बुझाउने अवस्था र पारिवारिक परिस्थितिमा निर्भर हुनेछ।
सन्तान धर्मपुत्र वा धर्मपुत्रीका रूपमा ग्रहण गर्दा पाइने अधिकतम कर छुट (एडप्सन क्रेडिट) पनि बढेर १८ हजार २५० डलर पुगेको छ। सन् २०२६ मा यो रकम १७ हजार ६७० डलर थियो। यसमध्ये पाँच हजार २८० डलरसम्म फिर्ता पाउन सकिनेछ।
आईआरएसका प्रमुख कार्यकारी अधिकृत फ्र्याङ्क जे. बिसिग्नानोले नयाँ समायोजनले सरकारले ‘वर्किङ फ्यामिलिज ट्याक्स कट्स’ नाम दिएको व्यवस्थाअन्तर्गत उपलब्ध कर छुट र सहुलियत बढाउने बताएका छन्।
“मेहनत गरेर काम गर्ने अमेरिकी करदाताले वर्किङ फ्यामिलिज ट्याक्स कट्सबाट लाभ लिइरहनेछन्। नयाँ समायोजनसँगै यसअन्तर्गतका कर छुट र कटौती पनि बढ्नेछन्,” बिसिग्नानोले भने।
उनले परिवारका लागि मानक कर छुट र सन्तान कर छुट बढ्नुका साथै व्यवसायहरूले खर्चका रूपमा देखाउन पाउने रकम पनि वृद्धि हुने बताए।
रोजगारी र व्यवसायसम्बन्धी कर सुविधाको सीमा बढ्यो
स्वेच्छिक तलब कटौतीमार्फत स्वास्थ्यसम्बन्धी लचिलो खर्च खातामा (हेल्थ फ्लेक्सिबल स्पेन्डिङ अकाउन्ट) रकम जम्मा गर्ने कर्मचारीका लागि सन् २०२७ मा वार्षिक सीमा तीन हजार ५०० डलर पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १०० डलर बढी हो।
खातामा बाँकी रहेको रकम अर्को वर्ष सार्न अनुमति दिने योजनाअन्तर्गत अधिकतम सात सय डलर सार्न पाइनेछ। यो सीमा पनि २० डलरले बढाइएको हो।
योग्य यातायात सुविधाबापत कर्मचारीले पाउने कर छुटको मासिक सीमा ३५० डलर पुगेको छ। पार्किङ सुविधाबापत पाइने छुटको मासिक सीमा पनि बढेर ३५० डलर पुगेको छ। दुवै सीमा सन् २०२६ को तुलनामा १० डलर बढी हुन्।
व्यवसायहरूले आन्तरिक राजस्व संहिताको दफा १७९ अन्तर्गत योग्य सम्पत्ति खरिदमा खर्च भएको दुई लाख ६४ हजार डलरसम्मको रकम तत्कालै खर्चका रूपमा कटौती गर्न पाउनेछन्। सन् २०२६ मा यो सीमा दुई लाख ५६ हजार डलर थियो।
खेलकुद उपयोगका लागि बनाइएका ठूला सवारीसाधन (एसयूभी) का लागि दफा १७९ अन्तर्गत छुट्टै निर्धारित कटौती सीमा पनि बढेर ३३ हजार १०० डलर पुगेको छ। सन् २०२६ मा यो सीमा ३२ हजार डलर थियो।
कर्मचारीका लागि बाल हेरचाह सुविधा उपलब्ध गराउने रोजगारदाताले पाउने अधिकतम कर छुट पाँच लाख १५ हजार ९४३ डलर ६७ सेन्ट पुगेको छ। सन् २०२६ मा यो सीमा पाँच लाख डलर थियो। योग्य साना व्यवसायका लागि अधिकतम कर छुट बढेर ६ लाख १९ हजार १३२ डलर ४० सेन्ट पुगेको छ।
सम्पत्ति, उपहार र विदेशमा कमाएको आम्दानीमा छुट बढ्यो
सन् २०२७ मा मृत्यु हुने व्यक्तिको सम्पत्तिमा संघीय सम्पत्ति कर नलाग्ने अधिकतम सीमा (एस्टेट ट्याक्स बेसिक एक्सक्लुजन) बढेर १ करोड ५४ लाख ८० हजार डलर पुगेको छ। सन् २०२६ मा यो सीमा एक करोड ५० लाख डलर थियो।
कुनै व्यक्तिले अर्को व्यक्तिलाई वार्षिक रूपमा कर नलाग्ने गरी दिन पाउने उपहारको सीमा (एनुअल गिफ्ट ट्याक्स एक्सक्लुजन) बढेर प्रतिव्यक्ति २० हजार डलर पुगेको छ। सन् २०२६ मा यो सीमा १९ हजार डलर थियो।
अमेरिकी नागरिक नभएका पति वा पत्नीलाई उपहार दिँदा कर नलाग्ने वार्षिक सीमा पनि बढेर दुई लाख एक हजार डलर पुगेको छ। अघिल्लो वर्ष यो सीमा एक लाख ९४ हजार डलर थियो।
विदेशमा काम गरेर आम्दानी गर्ने योग्य अमेरिकी करदाताले विदेशमा कमाएको आम्दानीमध्ये कर छुट पाउने अधिकतम सीमा पनि बढाइएको छ। सन् २०२७ मा यो सीमा एक लाख ३७ हजार ३०० डलर पुगेको छ। सन् २०२६ मा यो सीमा एक लाख ३२ हजार ९०० डलर थियो।
वैकल्पिक न्यूनतम कर (अल्टरनेटिभ मिनिमम ट्याक्स) अन्तर्गत अविवाहित व्यक्तिका लागि कर छुटको सीमा बढेर ९३ हजार डलर पुगेको छ। यस्तो छुट क्रमशः घट्न सुरु हुने आम्दानीको सीमा पाँच लाख १५ हजार ९५० डलर हुनेछ।
संयुक्त रूपमा कर विवरण बुझाउने विवाहित दम्पतीका लागि वैकल्पिक न्यूनतम कर छुटको सीमा एक लाख ४४ हजार ७०० डलर पुगेको छ। यस्तो छुट घट्न सुरु हुने आम्दानीको सीमा १० लाख ३१ हजार ९०० डलर हुनेछ।
केही कर व्यवस्था यथावत्
सन् २०२७ मा व्यक्तिगत कर छुट (पर्सनल एक्जेम्प्सन) को सीमा शून्य नै रहनेछ। सन् २०१७ को कर कटौती तथा रोजगारी ऐनअन्तर्गत हटाइएको व्यक्तिगत कर छुटलाई वर्किङ फ्यामिलिज ट्याक्स कट्सले स्थायी बनाएको आईआरएसले जनाएको छ। तर, यसले नयाँ कानुनअन्तर्गत थप गरिएको ज्येष्ठ नागरिकका लागि छुट्टै कर कटौतीलाई समेट्दैन।
दीर्घकालीन अध्ययनसम्बन्धी कर छुट (लाइफटाइम लर्निङ क्रेडिट) का लागि आम्दानीको सीमा पनि परिवर्तन गरिएको छैन। यो सुविधा पाउने करदाताको समायोजित कुल आम्दानी (मोडिफाइड एडजस्टेड ग्रस इन्कम) ८० हजारदेखि ९० हजार डलरबीच भएमा क्रमशः कर छुट घट्दै जान्छ। संयुक्त रूपमा कर विवरण बुझाउने विवाहित दम्पतीका लागि यो सीमा एक लाख ६० हजारदेखि एक लाख ८० हजार डलरसम्म कायम छ।
वस्तुगत खर्च कटौती (आइटमाइज्ड डिडक्सन) मा लाग्दै आएको सामान्य सीमा हटाइएको व्यवस्था पनि यथावत् रहने आईआरएसले जनाएको छ। तर, ३७ प्रतिशत कर दर लागू हुने समूहमा पर्ने करदाताले त्यस्ता खर्च कटौतीबाट प्राप्त गर्न सक्ने कर लाभमा छुट्टै सीमा सामना गर्नुपर्नेछ।





