२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

क्यानडाद्वारा सन् २०२७ सम्म ६ लाख २२ हजार नयाँ स्थायी बासिन्दा भित्र्याउने लक्ष्य

क्यानडा सरकारले सन् २०२७ को अन्त्यसम्ममा नियमित अध्यागमन र एकपटकका लागि ल्याइएको विशेष ट्रान्जिसन कार्यक्रममार्फत ६ लाख २२ हजारसम्म नयाँ स्थायी बासिन्दा  भित्र्याउने योजना सार्वजनिक गरेको छ। सङ्घीय सरकारको ‘बजेट २०२६’ तथा ‘इमिग्रेशन लेभल्स प्लान’अनुसार यो निर्णय गरिएको हो।

नोभेम्बर ५ मा घोषित विवरण अनुसार, सन् २०२७ मा ४ लाख २२ हजार नियमित स्थायी बासिन्दा भित्र्याउने लक्ष्यका साथै क्यानडामा पहिले नै बसोबास गरिरहेका २ लाखसम्म अस्थायी बासिन्दाहरूलाई स्थायी आवासमा परिणत गराउन सहज बनाइनेछ।

इमिग्रेशन, रिफ्युजी एन्ड सिटिजनसिप क्यानडाले आफ्नो आधिकारिक वेबसाइट क्यानाडा डट सीए मा जनाए अनुसार: यस योजनाले नयाँ अस्थायी बासिन्दाको आगमनलाई प्रतिवर्ष ३ लाख ७० हजारमा स्थिर राख्नेछ। यसमा सन् २०२७, २०२८ र २०२९ मा वार्षिक २ लाख २० हजार नयाँ कामदार र १ लाख ५० हजारसम्म नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू समावेश छन्।

विशेष ट्रान्जिसन कार्यक्रम अन्तर्गत छुट्याइएको २ लाख सिटमध्ये १ लाख सिट ‘एक्सप्रेस इन्ट्री’  र ‘प्रोभिन्सियल नोमिनी प्रोग्राम’ मार्फत दक्ष कामदारहरूका लागि तोकिएको छ, जुन प्रान्त तथा क्षेत्रीय सरकारहरूसँगको समन्वयमा कार्यान्वयन हुनेछ।

सन् २०२७ देखि २०२९ सम्म प्रत्येक वर्ष ३ लाख ८० हजार स्थायी बासिन्दा र ३ लाख ७० हजार अस्थायी बासिन्दा भित्र्याउने लक्ष्य छ।

सन् २०२७ का लागि तोकिएको २ लाख २० हजार कामदारको कोटामा ५० हजार सिट ‘टेम्पोरेरी फरेन वर्कर प्रोग्राम’का लागि छुट्याइएको छ। यस अन्तर्गत रोजगारदाताहरूले क्यानडाली नागरिक वा स्थायी बासिन्दा उपलब्ध नभएको प्रमाण स्वरूप ‘लेबर मार्केट इम्प्याक्ट असेसमेन्ट’लिनुपर्नेछ।

आगामी तीन वर्षमा स्थायी आवास पाउनेमध्ये ६४ प्रतिशतभन्दा बढी हिस्सा आर्थिक अध्यागमनको हुनेछ, जसले क्यानडाको श्रम बजारमा देखिएको दक्ष जनशक्तिको अभाव पूर्ति गर्नेछ।

क्युबेक बाहिर फ्रान्सेली भाषी स्थायी बासिन्दाको अनुपात बढाएर सन् २०२७ मा ९.५ प्रतिशत, २०२८ मा १०.५ प्रतिशत र २०२९ मा १२ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

साथै, सङ्घीय सरकारले सन् २०२५ मा घोषणा गरिएका दुईवटा विशेष पहल अन्तर्गत क्यानडामा रहेका १ लाख १५ हजार संरक्षित व्यक्ति र ३३ हजार कामदारहरूलाई स्थायी आवास दिने प्रक्रिया पनि पूरा गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।