यी मार्गबाट जाने नेपालीले पनि लिनुपर्छ भारतीय भिसा
प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार
नेपाली पासपोर्ट
चीन, हङकङ, मकाउ वा पाकिस्तानबाट यात्रा सुरु गरेर अथवा ती स्थानमा ट्रान्जिट हुँदै भारत प्रवेश गर्ने नेपाली नागरिकले वैध राहदानी र भारतीय भिसा लिनुपर्ने व्यवस्था भारतले बुधबार पुनः स्पष्ट पारेको छ। तर यो व्यवस्था नयाँ भने होइन। नयाँदिल्लीस्थित नेपाली दूतावासले सन् २०१९ मै यी स्थानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकलाई भारतीय भिसा आवश्यक पर्ने सूचना जारी गरेको थियो।
भारतको गृह मन्त्रालयले नोभेम्बर ४, २०२६ मा जारी गरेको ‘अध्यागमन तथा विदेशी नागरिकसम्बन्धी (छुट) (संशोधन) आदेश, २०२६’ मा यस्तो प्रावधान समेटिएको छ। आदेशले सन् २०२५ को छुटसम्बन्धी व्यवस्थामा संशोधन गरेको हो। सरकारी राजपत्रमा प्रकाशित भएको मितिदेखि लागू हुने आदेशमा उल्लेख छ।
नेपाल वा भुटानबाट सीधै स्थल वा हवाई मार्ग हुँदै भारत प्रवेश गर्ने नेपाली नागरिकलाई राहदानी र भिसा अनिवार्य हुने व्यवस्थाबाट छुट कायमै राखिएको छ। तर उनीहरूले आफ्नो नेपाली नागरिकता पुष्टि गर्न भारतको ‘भिसा म्यानुअल’मा तोकिएका कागजातमध्ये कुनै एउटा अध्यागमन अधिकारीसमक्ष पेस गर्नुपर्नेछ। अधिकारीले मागेको थप विवरणसमेत उपलब्ध गराउनुपर्नेछ।
नेपाल वा भुटानबाहेक अन्य मुलुकबाट भारत प्रवेश गर्ने वा भारतबाट तेस्रो मुलुक जाने नेपाली नागरिकले भने वैध राहदानी बोक्नुपर्नेछ। चीन, हङकङ, मकाउ वा पाकिस्तानबाट यात्रा सुरु गरेका अथवा ती स्थानमा ट्रान्जिट गरेर भारत प्रवेश गर्ने नेपालीका लागि राहदानीसँगै वैध भारतीय भिसा पनि अनिवार्य गरिएको छ। यही व्यवस्था भुटानी नागरिकका हकमा समेत लागू हुनेछ।
सन् २०१९ मै दूतावासको सूचना
नयाँदिल्लीस्थित नेपाली दूतावासले जुन २०१९ मै पाकिस्तान, चीन, हङकङ र मकाउबाट भारत प्रवेश गर्ने नेपाली नागरिकलाई भारतीय भिसा आवश्यक पर्ने सूचना जारी गरेको थियो। त्यसैले पछिल्लो संशोधनले ती मार्गबाट आउने नेपालीका लागि पहिलो पटक भिसा अनिवार्य गरेको भने होइन।
दूतावासको वेबसाइटमा प्रकाशित प्रश्नोत्तरमा पनि चीन (हङकङ र मकाउसहित) तथा पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकले भारतीय भिसा लिनुपर्ने उल्लेख छ।
सन् २०१९ मा प्रकाशित सूचनाअनुसार नेपालबाट सीधै भारत जाने नेपाली नागरिकलाई राहदानी वा भिसा आवश्यक पर्दैनथ्यो। तर नेपाली नागरिक भएको पुष्टि गर्ने परिचयपत्र भने बोक्नुपर्ने व्यवस्था थियो। त्यसबेला नेपाली राहदानी, नागरिकता प्रमाणपत्र, निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र तथा आवश्यक अवस्थामा भारतस्थित नेपाली नियोगले जारी गर्ने सीमित अवधिको फोटोसहितको परिचयपत्रलाई मान्य कागजातका रूपमा उल्लेख गरिएको थियो।
तर पछिल्लो आदेशमा मान्य परिचयपत्रको सूची स्पष्ट रूपमा दिइएको छैन। त्यसका लागि भारतको ‘भिसा म्यानुअल’लाई आधार मानिएको छ।
यात्रा मार्गअनुसार फरक व्यवस्था
पछिल्लो आदेशले नेपाल र भुटानबाहेकका सबै मुलुकबाट आउने नेपाली नागरिकलाई भारतीय भिसा अनिवार्य गरेको छैन। अन्य मुलुकबाट भारत प्रवेश गर्दा वा भारतबाट बाहिरिँदा वैध राहदानी आवश्यक हुने व्यवस्था छ। तर चीन, हङकङ, मकाउ र पाकिस्तानबाट यात्रा सुरु गर्ने वा ती स्थान हुँदै भारत प्रवेश गर्ने नेपालीले राहदानी र भारतीय भिसा दुवै लिनुपर्नेछ।
आदेशमा तोकिएका अध्यागमन नाकाबाट मात्र आवतजावत गर्नुपर्ने प्रावधान पनि छ। तर उपलब्ध आदेशमा उल्लेखित यो विशेष व्यवस्था नेपाल वा भुटानको सीमाबाट तेस्रो मुलुक जाने वा त्यहाँबाट फर्किने भारतीय नागरिकसँग सम्बन्धित छ।





