नेपाल–अमेरिका व्यापार र लगानी विस्तारमा केन्द्रित शिखर सम्मेलन दुई सातापछि न्युयोर्कमा
प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार
बुधबार न्युयोर्कमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरु। फोटो: राजन काफ्ले
नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी विस्तार गर्ने, नेपाली उद्यमीलाई अमेरिकी बजारसँग जोड्ने र प्रवासी नेपालीको पुँजी, सीप तथा अनुभवलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यले नेपाली अमेरिकी व्यापार तथा लगानी शिखर सम्मेलन न्युयोर्कमा आयोजना हुने भएको छ।
ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सको आयोजनामा नोभेम्बर २० देखि २२ सम्म न्युयोर्कको जेएफके विमानस्थलस्थित म्यारियट होटलमा सम्मेलन हुनेछ। ‘पुँजी, विचार र अवसरलाई जोड्दै’ नारासहित आयोजना हुने सम्मेलनमा व्यवसायी, लगानीकर्ता, उद्यमी, नीतिनिर्माता तथा विभिन्न क्षेत्रका विज्ञहरू सहभागी हुनेछन्। सम्मेलनलाई न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको सहयोग रहेको छ।
सम्मेलनको मुख्य उद्देश्य नेपाल र अमेरिकाबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउनु, लगानीका नयाँ सम्भावना पहिचान गर्नु, नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न सहयोग पुर्याउनु तथा प्रविधि र उद्यमशीलतामार्फत आर्थिक अवसर सिर्जना गर्नु रहेको छ।
पहिलो दिन आठ नयाँ उद्यमको प्रस्तुति, दोस्रो दिन चार विषयगत छलफल
बुधबार न्युयोर्कको ज्याक्सनहाइटमा आयोजित चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम्मेलनकी निर्देशक नग्मा श्रेष्ठले दिएको जानकारी अनुसार पहिलो दिन आठवटा नयाँ उद्यमले आफ्ना व्यावसायिक अवधारणा र उत्पादन प्रस्तुत गर्नेछन्। तीमध्ये केही उद्यम अमेरिका बाहिरका देशबाट समेत सहभागी हुनेछन्। प्रस्तुतिको मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका विज्ञहरू निर्णायकका रूपमा रहनेछन्।
निर्णायकहरूमा प्रतिभा जोशी र राशी कडेल रहेका छन्। नेपालमा ‘शार्क ट्याङ्क नेपाल’ कार्यक्रमका परिकल्पनाकार तथा सञ्चालक सञ्जोग कँडेल पनि सम्मेलनका तीनवटै दिन सहभागी हुनेछन्। पहिलो दिनको कार्यक्रममा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतसहित महावाणिज्य दूतावासका प्रतिनिधिहरूको पनि उपस्थिति रहने श्रेष्ठले बताइन्।

सम्मेलनको दोस्रो दिन बिहान ७ बजे खाजासहितका कार्यक्रम सुरु हुनेछन् भने बिहान ९ देखि साढे १० बजेसम्म उद्घाटन समारोह आयोजना हुनेछ। त्यसपछि साँझ ५ बजेसम्म चारवटा विषयगत छलफल र विशेष संवाद सञ्चालन हुनेछन्।
पहिलो छलफल ‘प्रविधि, कृत्रिम बौद्धिकता र भविष्यको कार्यशक्ति’ विषयमा केन्द्रित हुनेछ। यसमा कृत्रिम बौद्धिकताको व्यावसायिक प्रयोग, प्रविधिको उपयोग, कार्यक्षमता विकास तथा जिम्मेवार प्रविधि अवलम्बनका विषयमा छलफल हुनेछ। रूपा लक्ष्मी शाहले सञ्चालन गर्ने यस छलफलमा डा. समीर मास्के, अञ्जनी फुयाल र रशिक अधिकारी सहभागी हुनेछन्।
दोस्रो छलफल ‘नेपालको आर्थिक परिदृश्य : पर्यटन, उद्यमशीलता र नयाँ अवसर’ विषयमा केन्द्रित हुनेछ। यसमा नेपालको आर्थिक सम्भावना, पर्यटन, उद्यमशीलता, उदीयमान उद्योग तथा दिगो आर्थिक विकासका विषयमा छलफल हुनेछ।
नेपालमा लगानीको वातावरण सुधार गर्ने, व्यवसाय विस्तार गर्ने, उच्च मूल्यका रोजगारी सिर्जना गर्ने तथा प्रवासी नेपालीको पुँजी र विशेषज्ञतालाई नेपालको विकासमा उपयोग गर्ने उपायहरूबारे यस सत्रमा विमर्श हुनेछ। राजेन्द्र बानियाँले सञ्चालन गर्ने छलफलमा सांसद मनीष झा, पूर्वमन्त्री श्रद्धा श्रेष्ठ, सुमन राज तिम्सिना र सञ्जोग कोइराला सहभागी हुनेछन्।
तेस्रो छलफल ‘नेपाल–अमेरिका व्यापार, लगानी र पुँजी’ विषयमा केन्द्रित हुनेछ। यस सत्रमा सीमापार लगानी, प्रवासी नेपालीको पुँजी परिचालन, वित्तीय स्रोतमा पहुँच, लगानीकर्ताको विश्वास अभिवृद्धि, नियामकीय चुनौती तथा दुई देशका व्यवसायीबीच दीर्घकालीन साझेदारी निर्माणका विषयमा छलफल हुनेछ।
व्यापार विस्तारका व्यावहारिक उपाय पहिचान गर्ने, लगानीका अवरोध सम्बोधन गर्ने र नेपाल–अमेरिका व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य यस छलफलले राखेको छ। प्राध्यापक जेनिक राडोनले सञ्चालन गर्ने यस छलफलमा डा. यांकी उक्याब, थोमस ए. ब्रोडबेन्ट जुनियर, डा. मदन उप्रेती र नेभिन क्षेत्री सहभागी हुनेछन्।
चौथो छलफल ‘स्थानीयदेखि विश्व बजारसम्म : अमेरिकामा नेपाली व्यवसाय’ विषयमा केन्द्रित हुनेछ। यसमा अमेरिकामा नेपाली उद्यमीले सञ्चालन गरेका व्यवसायको विकास र विस्तारका सम्भावनाबारे छलफल हुनेछ।

व्यवसाय विस्तारका लागि पुँजीमा पहुँच, नयाँ बजारमा प्रवेश, ब्रान्ड निर्माण, रणनीतिक साझेदारी, मार्गदर्शन तथा नेपालसँग व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयलाई यस सत्रमा समेटिनेछ। नेपाली मूलका व्यवसायीलाई अमेरिकी बजारमा प्रतिस्पर्धी बनाउन तथा नयाँ पुस्ताका उद्यमीलाई प्रोत्साहित गर्न उपयोगी रणनीति पहिचान गर्नु यस छलफलको उद्देश्य हुनेछ। सुरज सिंह ठकुरीले सञ्चालन गर्ने यस छलफलमा समीर महर्जन र रादेश पण्डित सहभागी हुनेछन्।
सांसदसँग विशेष संवाद र भव्य रात्रिभोज
दोस्रो दिनका विषयगत छलफलका अतिरिक्त विशेष संवाद कार्यक्रम पनि आयोजना हुनेछ। यसमा सांसद मनीष झा र संविधान निर्माण प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गिरिशा प्रसाद कोइराला सहभागी हुनेछन्। उनीहरूबीच नेपालको आर्थिक तथा नीतिगत विषयसँगै प्रवासी नेपालीको भूमिका र सम्भावनाबारे संवाद हुने आयोजकले जनाएको छ।
कार्यक्रमका लागि कोलम्बिया विश्वविद्यालयका प्राध्यापक चक राडोन, गिरिशा प्रसाद कोइराला, रूपा लक्ष्मी शाह, नेपालबाट आउने पत्रकार राजेन्द्र बानियाँ र सञ्चारकर्मी सुरज सिंह ठकुरीले विभिन्न सत्रको सञ्चालन गर्नेछन्।
सम्मेलनको दोस्रो दिन साँझ औपचारिक रात्रिभोज आयोजना हुनेछ। औपचारिक पोसाकमा सहभागी हुन आयोजकले अनुरोध गरेका छन्। महिलाहरूले साडी लगाएर सहभागी हुन सक्नेछन्। रात्रिभोजलाई सम्मेलनमा सहभागी व्यवसायी, लगानीकर्ता तथा उद्यमीबीच आपसी परिचय र व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको छ।

अन्तिम दिन व्यवसायी र सरकारी निकायबीच व्यावसायिक भेटघाट
सम्मेलनको तेस्रो तथा अन्तिम दिन आधा दिनको कार्यक्रम हुनेछ। बिहानको खाजापछि १० बजेदेखि मध्याह्नसम्म व्यवसायीबीच तथा व्यवसायी र सरकारी निकायका प्रतिनिधिबीच व्यावसायिक भेटघाट कार्यक्रम सञ्चालन हुनेछ।
यस कार्यक्रममार्फत नेपाल र अमेरिकाका व्यवसायी, लगानीकर्ता तथा सरकारी प्रतिनिधिबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, लगानीका सम्भावना पहिचान गर्ने र व्यावसायिक साझेदारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

सम्मेलनकी निर्देशक श्रेष्ठका अनुसार ‘पुँजी, विचार र अवसरलाई जोड्दै’ भन्ने मूल नारालाई व्यवहारमा उतार्न आयोजक टोलीले सहभागीहरूबीच अर्थपूर्ण व्यावसायिक सम्पर्क र सहकार्यका अवसर सिर्जना गर्न विशेष तयारी गरेको छ।





