युरोपेली विमानसेवाहरूमा फेरि नक्कली बमको धम्की, २५ भन्दा बढी उडान प्रभावित


प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार

Photo: Margo Evardson/ Unsplash

यसै साता दोस्रो पटक बिहीबार बिहान आयरल्यान्डदेखि बुल्गेरियासम्मका युरोपेली विमानसेवाहरूलाई लक्षित गरी श्रृङ्खलाबद्ध रूपमा बमको नक्कली धम्की दिइएको छ। यस धम्कीका कारण कम्तीमा २५ वटा उडान प्रभावित भएका छन् भने केही विमानहरूलाई आपत्कालीन अवतरण गराउनुका साथै फाइटर जेटले पहरा दिएर सुरक्षित अवतरण गराएका छन्।

यी धम्कीहरूको जिम्मेवारी हालसम्म कुनै पनि देशले लिएको छैन। यद्यपि, युरोपेली अधिकारीहरूले रसियामाथि ‘हाइब्रिड आक्रमण’ र तोडफोडको योजना बनाएको आरोप लगाउँदै आएका छन्। यस्ता आक्रमणहरू प्रायः कम खर्चिला, सजिलै अस्वीकार गर्न सकिने र कुनै सैन्य प्रतिक्रिया ननिम्त्याउने खालका हुन्छन्।

बिहीबारको अवरोधबाट प्रभावित डेनमार्क, पोल्यान्ड र रोमानियाले यसअघि नै मस्को माथि प्रत्यक्ष आरोप लगाइसकेका छन्। त्यस्तै जर्मनीले अगस्ट महिनामा लिपजिग विमानस्थलमा भएको आक्रमणको कारक रसियालाई नै मानेको छ। बेलायतले पनि विगतमा रसियामाथि नै आरोप लगाएको थियो, तर हालै अमेरिकी एयर बेसमा आक्रमण गर्ने संदिग्ध योजनामा इरानको संलग्नता रहेको दाबी गरेको छ। रसिया र इरान दुवैले भने यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।

विमानस्थल सुरक्षा समूह ‘ड्यामी’का प्रमुख एरिक साउतेनका अनुसार प्रभावित धेरैजसो देशहरूले रसिया विरुद्धको युद्धमा युक्रेनलाई सहयोग गर्दै आएका छन्।

“भूराजनीतिक दृष्टिकोणबाट हेर्दा यो हाइब्रिड युद्धको एउटा रूप हुन सक्छ,” साउतेनले भने, “रसियाले हामीलाई रेल्वे, सुपरमार्केट, ब्लड बैंक, ऊर्जा, इन्टरनेट र हाल आएर उड्डयन क्षेत्रजस्ता विभिन्न मोर्चाहरूमा आक्रमण गरिरहेको सम्भावनालाई सधैं ध्यानमा राख्नुपर्छ।”

बुल्गेरियाको वायुसेनाले आफ्ना फाइटर जेटहरूले तीनवटा यात्रुवाहक विमानलाई सुरक्षित रूपमा जमिनमा अवतरण गराएको जनाएको छ। कोपेनहेगन र म्याड्रिडबाट सोफियाका लागि उडेका रायनएयरका विमानहरू तय गरिएकै समयमा अवतरण भए पनि लन्डनबाट सोफिया जाँदै गरेको उडानलाई बुल्गेरियाको दोस्रो ठूलो शहर प्लभदिभमा डाइभर्ट गरिएको थियो।

स्पेनिस अधिकारीहरूका अनुसार बिहान ९ बजेको २० मिनेटभित्रै बमका तीनवटा धम्कीपूर्ण इमेल आएका थिए। जसमा म्याड्रिडबाट पेरिस जान लागेका एयर युरोपका दुईवटा र रोम तथा मिलानबाट आउँदै गरेका आइबेरियाका चारवटा उडान समावेश थिए।

धम्कीपछि केही विमानहरूलाई धावनमार्गमै रोकियो भने केहीलाई उडान भर्नुअघि नै रोकेर यात्रुहरूलाई सुरक्षित बाहिर निकालि जाँच गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी बेलायतबाट आएका इजीजेटका दुई, आयरल्यान्डको एक र ग्रिसको एक उडान बमको धम्कीका बाबजुद प्रागमा निर्धारित समयमै अवतरण भए। चेक प्रहरीले भने ती धम्कीहरूको सत्यता न्यून रहेको जनाएको छ।

फिनल्यान्डको हेल्सिंकीबाट रोम जाँदै गरेको फिनएयरको विमानलाई इटालीको वायुसेनाले पहरा दिएर रोममा सुरक्षित अवतरण गराएको थियो। रोम विमानस्थल प्रशासनले सेवामा कुनै अवरोध नआएको बताएको छ। फिनएयरकै अर्को उडान पनि धम्कीका बाबजुद भियनामा सामान्य रूपमै अवतरण भएको थियो। त्यस्तै इटालीको समाचार संस्था ‘अन्सा’ का अनुसार मिलानमा पनि दुईवटा विमान सुरक्षित अवतरण भएका छन्।

पोलिस एयरलाइन्स ‘लट’को वारसवाबाट ब्रसेल्सका लागि उडेको विमान सुरक्षा चेतावनीका बीच निर्धारित समयमै अवतरण भयो। वारसवामै पेरिस जान लागेको अर्को विमानलाई धावनमार्गमा गुडिरहेकै बेला रोकेर सावधानीपूर्वक यात्रुहरूलाई अर्को विमानमा स्थानान्तरण गरिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com