२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
अमेरिका

डेमोक्र्याटको नियन्त्रणपछि इलोन मस्क र ट्रम्पका अधिकारीहरूमाथि संसदीय छानबिन हुने

Photo: Louis Velazquez/ Unsplash

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले शानदार जित हासिल गरेसँगै आगामी जनवरीदेखि संसदको नियन्त्रण सम्हालेपछि प्रविधि अरबपति इलोन मस्क, ह्वाइट हाउसका नवनियुक्त मुख्य सचिव स्टेफन मिलर र केही ठूला व्यावसायिक कम्पनीहरू संसदीय छानबिनको घेरामा पर्ने भएका छन्।

आइतबार विभिन्न टेलिभिजन कार्यक्रममा देखा परेका डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरूले नयाँ कंग्रेस सुरु भएसँगै ट्रम्प प्रशासन र उनका सहयोगीहरूमाथि कडा निगरानी र छानबिन गरिने स्पष्ट पारेका हुन्।

हाऊस ओभरसाइट कमिटीको नेतृत्व सम्हाल्न लागेका क्यालिफोर्नियाका प्रतिनिधि रोबर्ट गार्सीयाका अनुसार, संसदको अनुसन्धान मुख्यतया दुई विषयमा केन्द्रित हुनेछ।

डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी’ मार्फत गत वर्ष हजारौँ संघीय सरकारी कर्मचारीहरूलाई कामबाट निकालिएको घटनामा मस्कको संलग्नताबारे संसदीय समितिहरूले सोधपुछ गर्नेछन्।

ट्रम्पका मुख्य सल्लाहकार र नवनियुक्त ह्वाइट हाउस मुख्य सचिव मिलरले लागू गरेको कडा अध्यागमन नीतिको छानबिन गरिनेछ। गार्सीयाले मिलरलाई “अन्यायपूर्ण र भयानक” अध्यागमन नीतिको मुख्य सूत्रधारका रूपमा चित्रण गरेका छन्।

इलोन मस्कसँग कुरा गर्न र उहाँको सोधपुछ गर्न हाम्रो समिति मात्र होइन, कंग्रेसका धेरै समितिहरू इच्छुक छन्।

सेनेट बैंकिङ कमिटीको नेतृत्व गर्न लागेकी म्यासाचुसेट्सकी सेनेटर एलिजाबेथ बारेनले उपभोक्ता तथा लगानीकर्ताहरूलाई ठगी गरेर नाफा कमाउने ठूला कम्पनीहरूलाई तयार रहन चेतावनी दिएकी छन्।

बारेनका अनुसार, यदि तपाईंहरूले अमेरिकी परिवारहरूलाई छलेर वा लगानीकर्ताहरूलाई ठगेर नाफा कमाउनुभएको छ भने अब गम्भीर संसदीय छानबिनका लागि तयार भएर बस्नुहोस्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

जनवरीदेखि प्रतिनिधि सभाको सभामुख (स्पीकर) बन्ने तयारीमा रहेका हकिम जेफ्रिजले रक्षा मन्त्री पिट हेगसेथविरुद्ध ल्याइने महाभियोग प्रस्तावमा डेमोक्र्याटहरूको पूर्ण समर्थन रहने घोषणा गरेका छन्।

रक्षा मन्त्री पिट हेगसेथविरुद्धको महाभियोग प्रस्तावको नेतृत्व केन्टकीका रिपब्लिकन सांसद तथा ट्रम्पका आलोचक थोमस म्यासीले गर्दैछन्। ट्रम्प प्रशासनद्वारा फेब्रुअरी महिनामा सुरु गरिएको इरान युद्धको कमजोर व्यवस्थापन र त्यसका कारण इन्धनको मूल्यमा भएको भारी वृद्धिलाई यो महाभियोगको मुख्य कारण बनाइएको छ।

यस विषयमा भावी प्रतिनिधि सभाका सभामुख हकिम जेफ्रिजले पनि कडा प्रतिक्रिया दिँदै पिट हेगसेथ अब आफ्नो पदमा रहन नहुने स्पष्ट पारेका छन्। उनले रक्षा मन्त्रीविरुद्धको यस महाभियोग प्रस्तावलाई आफूहरूको पूर्ण समर्थन रहने र संसद्मा यसको पक्षमा अत्यधिक बहुमत जुट्ने विश्वास व्यक्त गरेका छन्।

अध्यागमन सम्बन्धी हालैका कारबाहीहरूका क्रममा मिनेसोटामा दुई जनाको मृत्यु भएपछि ट्रम्प प्रशासनको आलोचना चुलिएको छ। अक्टोबरमा गरिएको रोयटर्स/इप्सोस पोल अनुसार ट्रम्पको अध्यागमन नीतिको समर्थन जम्मा ३७ प्रतिशतमा झरेको छ।

तथापि, महान्यायाधिवक्ताटोड ब्लान्चले ट्रम्प प्रशासन कंग्रेसको सम्भावित अनुसन्धान र टकरावका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।

उनले भने, यदि नयाँ नेतृत्वले यही बाटो रोज्छ भने हामी सामना गर्न तयार छौँ। यो प्रशासनमा काम गर्ने सबैको कानुनी रक्षा गर्ने जिम्मेवारी मेरो हो।