२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
नेपाल

टाइमको विश्वका १०० प्रभावशाली जलवायु नेताको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौं — नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वका १०० प्रभावशाली जलवायु नेताको सूची ‘टाइम १०० क्लाइमेट २०२६’ मा समावेश भएका छन्। अमेरिकी पत्रिका टाइमले सोमबार सार्वजनिक गरेको सूचीमा वाग्ले ‘नेतृत्व’ श्रेणीका १९ व्यक्तिमध्ये एकका रूपमा परेका हुन्। उनी यो सूचीमा समावेश हुने एक मात्र अर्थमन्त्री हुन्।

‘टाइम १०० क्लाइमेट’ पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने जलवायु नेतृत्वसम्बन्धी सूची हो। यसमा जलवायु परिवर्तनको चुनौती सामना गर्न नीति निर्माण, वित्त, विज्ञान, व्यवसाय, सामाजिक अभियान र सार्वजनिक नेतृत्वका क्षेत्रमा उल्लेखनीय प्रभाव पारेका विश्वभरका १०० व्यक्तिलाई समेटिन्छ। जलवायु संकट समाधानका लागि योगदान पुर्‍याउने र विश्वव्यापी जलवायु नीति तथा बहसलाई प्रभावित गर्ने व्यक्तिहरूलाई यसमा विभिन्न विधाअन्तर्गत छनोट गरिन्छ।

यस वर्षको ‘नेतृत्व’ श्रेणीमा वाग्लेसहित १९ जना समावेश छन्। १९ जनाको सूचीमा ग्लोबल इनर्जी एलायन्स फर पिपुल एन्ड प्लानेटका सीइओ उछोङ उम, अफ्रिकन एडाप्टेशन एक्सेलरेशन प्रोग्रामकी प्रमुख संयोजक एडिथ ओफोना अडेरा, युनिभर्सिडाड क्याटोलिका डे चिलेका प्राध्यापक हुआन कार्लोस मुन्योज, न्युयोर्कबाट अमेरिकी प्रतिनिधिसभा सदस्य निडिया भेलाज्क्वेज, युटाका गभर्नर स्पेन्सर कक्स, युरोपेली संसद सदस्य मोहम्मद शाहिम, आरइएन२१ का अध्यक्ष रामन मेन्देज गालेन, क्यालिफोर्नियाका स्टेट सेनेटर बेन एलेन, द नेचर कन्जरभेन्सीका ग्लोबल बोर्ड अध्यक्ष बिल फ्रिस्ट र बर्कले, क्यालिफोर्नियाका दिगोपना कार्यक्रम संयोजक एमोन रेगन समावेश छन्।

वाग्लेलाई सूचीमा समावेश गर्नुको एउटा प्रमुख आधार जलवायु संकटबाट नेपालले भोगिरहेको क्षति र त्यसको क्षतिपूर्तिका लागि उनले अन्तर्राष्ट्रिय समुदायसँग गरेको पहल हो।

टाइममा सोमबार प्रकाशित उनको परिचयमा गत अगस्टमा हिमाली क्षेत्रमा चट्टान र हिउँको हिमपहिरोपछि आएको बाढीले नेपालमा १,५०० भन्दा बढी मानिसको ज्यान लिएको र हजारौँलाई विस्थापित बनाएको घटनालाई उल्लेख गरिएको छ। विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा तुलनात्मक रूपमा न्यून योगदान गर्ने नेपालजस्ता विकासोन्मुख देशले जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार खेप्नुपरेको वास्तविकतालाई उक्त परिचयमा औँल्याइएको छ।

विपद्पछि अर्थमन्त्री वाग्लेले नेपालले सिर्जना नगरेको जलवायु संकटको मूल्य नेपाली जनताले चुकाउनुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवारी लिन आग्रह गर्दै आएका छन्। उनले विश्वका तीन ठूला हरितगृह ग्यास उत्सर्जक राष्ट्र चीन, अमेरिका र भारतसँग जलवायु क्षतिपूर्तिका लागि औपचारिक अनुरोधसमेत गरेका थिए।

बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि करिब ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ। त्यसका लागि वाग्लेले जलवायु परिवर्तनका कारण क्षति बेहोरेका देशलाई सहयोग गर्न स्थापना गरिएको संयुक्त राष्ट्रसंघको ‘हानि तथा क्षति कोष’ बाट नेपाललाई सहायता उपलब्ध गराउन पहल गरेका थिए।

उनको पहलपछि अक्टोबर २२ मा संयुक्त राष्ट्रसंघले उक्त कोषबाट नेपालका लागि २१.६ मिलियन अमेरिकी डलर अस्थायी रूपमा स्वीकृत गरेको थियो। कुनै निश्चित विपद्का लागि उक्त कोषबाट रकम स्वीकृत गरिएको यो पहिलो घटना हो।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

दिगो आर्थिक विकासका क्षेत्रमा करिब २८ वर्षदेखि सक्रिय वाग्लेले अध्येता, नीतिनिर्माता र निर्वाचित जनप्रतिनिधिका रूपमा काम गरेका छन्। उनले विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा समेत उच्च तहमा रहेर जिम्मेवारी सम्हालेका छन्।

लेखक किशोर पन्थी

किशोर पन्थी ‘खसोखास’ र ‘नेपयोर्क’ का संस्थापक तथा प्रधानसम्पादक हुन्। उनी ‘कम्पन’, ‘अनट्रान्सलेटेबल’ र ‘जिरो माइल’ गरी तीन पुस्तकका लेखक हुन्। उनी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिबारे लेख्छन्। पन्थीले न्युयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी-नेपाली डायस्पोरामा पत्रकारिता गरिरहेका छन्।

यस लेखकका थप समाचार →