अमेरिकी राष्ट्रपति ट्रम्पसँग मम्दानीको सहकार्य: थुनामा परेका आप्रवासीको रिहाइका लागि गोप्य पहल
अमेरिकाको २५०औं वर्षगाँठमा जर्ज वासिङ्टनको डेस्कबाट सम्बोधन गर्दै न्यूयोर्कका मेयर जोहरान माम्दानी। तस्बिर: अन्ना कोनर्स/एपी/रासस
न्यूयोर्क शहरका मेयर जोहरान मम्दानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो अनौठो र सुमधुर सम्बन्धलाई प्रयोग गर्दै आइसको हिरासतमा रहेका न्यूयोर्कका आप्रवासीहरूको रिहाइका लागि लगातार गोप्य पहल गरिरहेका छन्।
गत फेब्रुअरीमा ह्वाइट हाउसमा भएको दोस्रो भेटवार्ताका क्रममा मम्दानीले राष्ट्रपति ट्रम्पलाई मनाएर सोही दिन पक्राउ परेकी कोलम्बिया विश्वविद्यालयकी एक छात्रालाई रिहा गराउन सफल भएका थिए। सो घटनापछि मम्दानीले ट्रम्पसँगको संवादले न्यूयोर्कवासीका लागि सकारात्मक परिणाम ल्याउन सक्ने प्रमाणका रूपमा प्रस्तुत गरेका थिए।
राजनीतिक वृत्तमा हालसम्म बाहिर नआएको तथ्य के छ भने, फेब्रुअरीको भेटवार्तापछि पनि मम्दानी र उनको टोलीले ट्रम्प प्रशासनसँग यस्ता अध्यागमनसम्बन्धी सहयोग माग्ने क्रम जारी राखेका छन्। वार्तासम्बन्धी जानकारी भएका दुई स्रोतका अनुसार, मम्दानीका अधिकारीहरूले आइसको नियन्त्रणमा रहेका करिब दुई दर्जन न्यूयोर्कवासी आप्रवासीहरूको नामावली राष्ट्रपति ट्रम्पको टोलीलाई सुम्पिँदै उनीहरूलाई रिहा गर्न आदेश दिन आग्रह गरेका छन्। हालै सेप्टेम्बरमा ग्रेस म्यान्सनमा ट्रम्पसँग भएको भेटका क्रममा पनि मम्दानीले थुनामा रहेका आप्रवासीहरूको नामावली बुझाएका थिए।
स्रोतका अनुसार रिहाइका लागि सिफारिस गरिएका आप्रवासीहरूको कुनै गम्भीर आपराधिक पृष्ठभूमि छैन। सुरक्षा कारणले गर्दा उनीहरूको व्यक्तिगत पहिचान भने सार्वजनिक गरिएको छैन।
मम्दानी र उनका प्रमुख प्रशासकीय अधिकृत एल बिसगार्ड-चर्चले यी प्रयासका लागि मुख्यतया ट्रम्पकी तत्कालीन ह्वाइट हाउस चिफ अफ स्टाफ सुसी वाइल्ससँग संवाद गर्दै आएका थिए। तर, गत साता ट्रम्पले वाइल्सको स्थानमा कडा अध्यागमन नीतिका पक्षधर र सामूहिक निर्वासन अभियानका मुख्य योजनाकार स्टेफन मिलरलाई नियुक्त गरेपछि भने मेयर प्रशासनभित्र चिन्ता बढेको छ। मिलरको आगमनसँगै पहिले जस्तै लचिलो भएर आप्रवासी रिहाइमा सहयोग पाउने सम्भावना निकै न्यून रहेको विश्लेषण गरिएको छ।
यद्यपि, न्यूयोर्क इमिग्रेशन कोअलिशनका अध्यक्ष तथा मम्दानीका सहयोगी मुराद अवावदेहले मिलरको नियुक्ति भए पनि मम्दानी टोलीले ट्रम्प प्रशासनसँगको संवाद रोक्न नहुने तर्क गरेका छन्। उनले भने, स्टेफन मिलर आप्रवासी विरोधी नीतिका कट्टर समर्थक भए पनि उनी राष्ट्रपति होइनन्। न्यूयोर्कवासीहरू राष्ट्रपति ट्रम्पले मेयरसँग मिलेर काम गरून् र शहरमा व्याप्त भयको अन्त्य गरून् भन्ने चाहन्छन्।
गत वर्षको चुनावी अभियानका क्रममा ट्रम्पले मम्दानीलाई साम्यवादी पागल भनेका थिए भने मम्दानीले ट्रम्पलाई फासिस्टको संज्ञा दिएका थिए। तर, राष्ट्रपति र मेयर बीचको पछिल्लो सुमधुर सम्बन्धले धेरैलाई चकित पारेको छ।
गम्भीर नीतिगत मतभिन्नताका बाबजुद पनि मेयर मम्दानीले न्यूयोर्कवासीको हितका लागि ट्रम्प प्रशासनसँगको संवादको ढोका सधैं खुला राख्ने स्पष्ट पारेका छन्। जहाँसम्म यसले हाम्रो शहरका लागि सकारात्मक नतिजा दिन सक्छ, म ट्रम्प प्रशासनसँग सहकार्य जारी राख्नेछु, मम्दानीले भनेका छन्।





