२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

अटोमेडेड क्यामेराबाट ३१ करोड लाइसेन्स प्लेट संकलन भएपछि नर्थ क्यारोलिनामा गोपनीयताको बहस तीव्र

Photo: Cool Photos / Unsplash

अटोमेडेड लाइसेन्स प्लेट रिडरको प्रयोगका कारण नर्थ क्यारोलिनामा नागरिकको गोपनीयता सम्बन्धी बहस तीव्र बनेको छ। राज्यको स्टेट ब्युरो अफ इन्भेस्टिगेसनले सञ्चालन गरेको पाइलट प्रोग्राम अन्तर्गत हालसम्म ३१ करोड ९६ लाख ४१ हजार ६५३ भन्दा बढी लाइसेन्स प्लेटका दृश्य तथा तथ्याङ्कहरू संकलन गरिएका छन्।

सेप्टेम्बर २४, २०२६ मा राज्य व्यवस्थापिकालाई बुझाइएको प्रतिवेदन अनुसार, वर्षको सुरुदेखि नयाँ क्यामेराहरू थपिएसँगै संकलित डाटाको परिमाण द्रुत गतिमा बढेको हो। प्रहरी तथा अनुसन्धान अधिकारीहरूले यस प्रविधिलाई अपराध नियन्त्रण र अनुसन्धानको महत्त्वपूर्ण माध्यम मानेका छन्। तर, स्थानीय बासिन्दाहरूले भने यसलाई नागरिकमाथि कडा निगरानी राख्ने राज्य तर्फको खतरनाक कदम भन्दै विरोध जनाएका छन्।

नर्थ क्यारोलिनाको कानून अनुसार एएलपीआर प्रयोग गर्ने निकायहरूले तालिम, स्वीकृत उद्देश्य, पर्यवेक्षकको निगरानी र वार्षिक लेखापरीक्षण समावेश गरी स्पष्ट आन्तरिक नीति बनाउनुपर्छ। वेक काउन्टीका नौ वटा निकायहरू जसमा राले, एपेक्स, वेक फरेस्ट, केरी, नाइटडेल, गार्नर, फुक्वे-भरिना, जेबुलन, र होली स्प्रिङ्ले एएलपीआर क्यामेरा प्रयोग गर्दै आएका छन्, जसमा धेरैजसोले ‘फ्लक सेफ्टी’का क्यामेरा जडान गरेका छन्।

तथापि, प्रणाली पहुँचको लागि आवश्यक मानिने खोजीको कारण र लेखापरीक्षणको बारम्बारता सम्बन्धी नियमहरू विभिन्न निकायमा फरक-फरक पाइएका छन्। नाइटडेल जस्ता केही निकायहरूले केवल आधिकारिक अनुसन्धान केस नम्बर प्रयोग गरेर मात्र डाटा खोजी गर्न पाइने कडा नियम बनाएका छन् भने केही निकायले आकस्मिक कल  नम्बरका आधारमा पनि डाटा पहुँच दिने गरेका छन्।

यस विषयमा स्टेट ब्युरो अफ इन्भेस्टिगेसले कानुन प्रवर्द्धन निकायहरूलाई कडा मार्गदर्शन पठाउँदै हरेक खोजीको स्पष्ट औचित्य, केस नम्बर, र नियमित अडिट सुनिश्चित गर्न निर्देशन दिएको छ। साथै, आगामी जनवरीदेखि फ्लक सेफ्टी प्रविधि प्रयोग गर्ने निकायहरूले शंकास्पद गतिविधि स्वतः पहिचान गर्ने अटोमेटिक अडिट टूल अनिवार्य रूपमा लागू गर्नुपर्नेछ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →