‘अमेरिकामा बढ्दो मानसिक स्वास्थ्य समस्या समाधानका लागि ध्यान आवश्यक’ : गिरी बहादुर सुनार


प्रकाशित मिति : बैशाख १२, २०८१ बुधबार

गिरी बहादुर सुनार आत्मरक्षा तालिमको माध्यमबाट महिला सशक्तिकरणमा एउटा चर्चित नाम हो ।उहाँ कार्यालयमा हुने उत्पीडन विरुद्धका अभियन्ता समेत हुनुहुन्छ । उहाँले सुरक्षित कार्यस्थल र सम्मानजनक अन्तरक्रियाको पक्षमा वकालत गर्दै आउनुभएको छ । सुनारले आत्मरक्षामार्फत महिला शशक्तिकरण सम्बन्धि पुस्तक समेत लेख्नुभएको छ । एक ओशो शिष्यका रूपमा सुनारले तनाव व्यवस्थापनका क्षेत्रमा समेत काम गर्दै आउनुभएको छ । हाल दलित र गैरदलितबीचको अन्तरजातीय विवाहको इतिहास, प्रवृत्ति र व्याख्याका सन्दर्भमा पीएचडी गरिरहनुभएका उहाँलाई स्वामी ध्यान एकान्तका नामबाट पनि चिनिन्छ । तेक्वान्दोको पाँचौं डान ब्लाक बेल्ट समेत रहनुभएका उहाँले नेपालमा पुर्नवास विज्ञ, लैगिंक समानता तथा समाजिक समावेशी विज्ञको रुपमा समेत काम गर्दै आउनुभएको छ । हालै अमेरिकाको भ्रमणमा आउनुभएका गिरी बहादुर सुनारलाई खसोखासको न्युयोर्क फल्चा स्तम्भका लागि खसोखास सम्पादक दीपक परियारका दश प्रश्न ।

तपाईं अहिले मानव र मानवसमाज मानसिकरूपमा स्वस्थ बनाउनमा व्यस्त हुनुहुन्छ। समाजको मानसिक अवस्था कस्तो देख्नुहुन्छ?

अहिलेको समाज सारै ब्यस्त भएको छ। व्यक्ति, समाज, परिवारदेखि राज्यस्तर सम्म कथित नयाँपनको नाममा गलत भावनाहरु जागृत हुने तथा निराशा र कुण्ठा ब्यापक रुसृजना भएको छ। विभिन्न बहानामा हत्या , आत्महत्या जस्ता जघन्य अपराधहरु बढिरहेका छन् । यो परिस्थितिमा हामीले निराशाहरु आशामा बदल्न प्रयत्न गरिरहेका छौं।

तपाईं मेडिटेशनलाई विशेष प्राथमिकता दिएर लागिरहनु पनि भएको छ । खासगरी मानसिक स्वास्थ्य समस्या समाजमा व्यापक देखिनुको कारण के हो ?

अहिले आधुनिकीकरण बढ्दै गइरहेको छ । आधुनिकीकरणले गर्दा मानिसहरु हरेक क्षेत्रबाट आफूलाई अब्बल बनाउन खोजिरहेका छन् । दौडधुप बढी छ । कसरी पैसा कमाउने ? कसरी समान जोड्ने ? कसरी अरु भन्दा अब्बल बन्ने दौडधुप छ । त्यसमा जसले परिस्थितिलाई बुझेका छन् तिनीहरु अब्बल भएर अगाडि बढ्छन् । यो क्रममा भएको प्रतिस्पर्धाले पछि पर्नेहरुमा मानसिक स्वास्थ्य समस्या देखियो । मान्छेहरु केही नगरी घरमै बसेर ठूलो महल बनाउछु भनेर सपना देख्न थाले । घरमै बसेर यति पढ्छु भनेर सोंच्न थाले तर एक्सनमा भने गएनन् । दिमागमा सोच्ने तर एक्सनमा नजाने समस्या देखियो । जसले गर्दा दिमागमा भार पर्यो । यसले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको छ । आफ्नो सपनासँगै कामलाई पनि अगाडी बढाउन सकेमा मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । तर अहिले मानिसहरु टिकटकमा कति लाईक आयो भन्दै लाइक गनेर पनि तनाव लिइराखेका छन् । धेरै लाइक आयो भने खुशी हुने लाइक आएन भने लाइक नआएको कारणले मान्छेहरुले तनाव लिन थाले ।

विश्वभर मानसिक समस्या डरलाग्दो देखिएको छ । हत्या, आत्महत्या जस्ता घटनाहरु पनि बढेका छन् । ध्यान मार्फ़त कसरी व्यवस्थापन गर्न सकिन्छ?

पहिलो कुरा त, ध्यान के हो भन्ने कुरा नै बुझ्नुपर्ने हुन्छ । हाम्रो मानव शरिरमा भ्यागस नर्भ भन्ने एउटा नशा हुन्छ । भ्यागस नर्भले शरीरलाई लड्ने वा भाग्ने मोडबाट बाहिर निस्कन मद्दत गर्छ । हिजोको दिनमा जंगलमा शिकार गर्ने क्रममा मान्छेलाई कसैले आक्रमण गर्दा ऊ भाग्थ्यो । भाग्दा उसको शरीरबाट एउटा स्ट्रेस हर्मन रिलिज हुन्थ्यो । त्यो रिलिज भएको बेलामा सहज अनुभव हुन्थ्यो । अहिलेको समयमा फाइट एण्ड फ्लाइट रेस्पोन्स हामीले गर्न सक्दैनौं । कसैले कसैलाई केही भन्ने बित्तिकै हानिहाल्न मिलेन । त्यसो गर्न कानूनले पनि दिएन । अनि हर्मन रिलिज हुन पनि सकेन । माया प्रेमका पीडाहरु, आफन्त बितेका घटनाहरु जस्ता कारणले मानिसले रक्सी खाने, कुलतमा फस्ने र आफ्नो स्वास्थ्य बिग्राने गरिरहेको देखिन्छ । फाइट एण्ड फ्लाइट रेस्पोन्स अन्तरगत भाग्दा हर्मन रिलिज हुन्थ्यो ।

अहिले हामी भाग्दा पनि दिमागमा ती कुराहरु सँगसँगै जाने भएकोले भागेर जाने उपाय पनि छैन । फाइट गरेर पनि उपाय छैन । त्यसले गर्दा मानसिक स्वास्थ्यमा असर गरिरहेको छ । दुख पदौ मानिसहरुले सानो दुखलाई पनि ठूलो बनाएर दिमागमा कुराहरु खेलाइरहने, सानो दुखहरुलाई पनि दिमागमा सोँचेर, कुरा खेलाएर मानिसले आफूले आफूलाई पीडा दिइरहेको हुन्छ । जब मानिसको मानसिक स्वास्थ्य खराब हुन्छ, त्यसले शरीरलाई पनि असर गर्छ । उदाहरणको लागि हामीले कागतीको नाम लिने बित्तिकै मुखमा रस आउँछ । रस त आफैँ आउनुपर्ने हो नि । दिमागले कागती भन्ने बित्तिकै मुखबाट रस आउँछ भन्नुको अर्थ दिमागमा जे सोचिन्छ, त्यसले शरीरमा पनि असर गर्छ । त्यले साइकोसोमाटिक हुन्छ । मानिसले सानो कुरालाई पनि बढी गहिरो गरी सोच्दा यसले मानसिक स्वास्थ्यमा असर गरिरहेको छ । मानसिक स्वास्थ्यलाई राम्रो बनाउनको लागि के गर्नुपर्ला भन्ने प्रश्नको उत्तर नै ध्यान हो ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्याको समाधान ध्यानमात्र हो त ?

मेरो गुरुले भनेको शब्द सापटी लिएर भन्दा अहिलेको युगमा त्यसको समाधान भनेको मेडिकेशन वा मेडिटेशन नै हो । कि मेडिकेशन गर्नुपर्यो, कि मेडिटेशन गर्नुपर्यो । म आफैँ ओशो सन्यासीको नाताले मेडिकेशन भन्दा मेडिटेशन गर्नु राम्रो मान्छु । हामीले झ्यालमा बसेर आकाशमा हेर्दा धेरै बादलहरु देखिन्छ । बादल बगिरहेको छ । त्यस्तै गरेर मानिसको मानसपलटमा बादलरुपी विचारहरु त्यसरी नै चलिरहेको हुन्छ । झ्यालबाट बाहिर हेर्दा जति बादलहरु छन्, एक घण्टा, दुई घण्टा, तीन घण्टा यस्तै कुरेर हेरिरह्यो भने हामीले केही समयपछि खुल्ला आकाश देख्न सक्छौं । बादलरुपी दिमागमा जुन कुराहरु खेलिरहेका छन्, ध्यानले ती मनमा खेल्ने विचारहरुलाई शान्त बनाउँछ । मान्छेलाई विचारलै नै खुशी बनाउने हो, विचारले नै रोगी बनाउने हो । विचार बलियो भयो भने मानसिक स्वास्थ्य आफैँ बलियो हुन्छ । सारा रोगको कारण विचार हो । विचार शुद्ध भयो र विचारलाई सही ठाउँमा राख्न सकियो भने मानिस स्वस्थ्य राम्रो हुन्छ । त्यसको लागि मेडिटेशन गर्नुपर्छ । मेडिटेशन धेरै तरिकाका हुन्छन् । अस्ति घुम्दै जाँदा अमेरिकामा पनि मेडिटेशन स्कुल देखे । उहाँहरुले मन्त्र मेडिटेशन गराउनुहुने रहेछ । मन्त्र मेडिटेशन भनेको दिमागमा विचार चलिरहँदा राम, राम, कृष्ण, कृष्ण, ओम, ओम, जस्ता मन्त्र जप गरेर बस्दा विचार चल्न पाउँदैन । माला गन्छन् नि, त्यसको कारण पनि त्यही हो । दिमागमा विचार नचलोस भनेर नै हो । मन्त्र मेडिटेशन पनि त्यही हो । मन्त्र उच्चारण गर्दै जाँदा दिमागमा विचारहरु नचलोस् भन्ने नै हो ।

भगवान् गौतमबुद्धले दिनुभएको विपासना ध्यानमा मन्त्रहरु केही प्रयोग गरिदैन । ध्यानको एउटा मुद्रा हुन्छ, त्यो मुद्रामा बसेर भित्र गएको स्वास र बाहिर आएको स्वास हेर्ने । त्यति मात्रै हेर्दा पनि दिमागमा चलेको विचार रोकिन्छ । ध्यानको लागि आजको आजै हुने चिज होइन । नियमति रुपमा स्वास भित्र गएको र बाहिर गएको स्वासलाई हेर्ने प्रक्रिया बसाल्ने हो भने यसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । त्यस्तै व्यायामका लागि विहान हिड्नुपर्छ । मर्निक वाक गर्ने, चिसो पानीले नुहाउने, सकेसम्म शाकाहारी खाना खाने गर्ने हो भने यसले मानसिक स्वास्थ्यलाई राम्रो फाइदा हुन्छ ।

अहिले अमेरिकामा पनि मानसिक स्वास्थको अवस्था जटिल छ। तपाईले अमेरिकामा यो समस्यालाई कसरी बूझ्नु भयो ?

डिप्रेसन, चिन्ता, आघात, आत्महत्या सबै मानसिक स्वास्थ्य समस्यासँग सम्बन्धित छन्। मानसिक स्वास्थ्य समस्यामा आर्थिक कठिनाइ, सामाजिक एक्लोपन, सम्बन्ध विच्छेद, मानसिक स्वास्थ्य हेरचाहमा सीमित पहुँच, मानसिक रोगबारे भन्न डरउने, लागूपदार्थको दुरुपयोग, सांस्कृतिक प्रभावहरू, मोबाइल फोन जस्ता आधुनिक ग्याजेटहरू र उच्च महत्वाकांक्षाहरू लगायतका विभिन्न कारकहरूलाई जिम्मेवार ठहराउन सकिन्छ। अमेरिकाको २०२३ को मानसिक स्वास्थ्य तथ्याङ्कको अनुसार विशेष गरी ३५ देखि ४४ वर्ष उमेरका वयस्कहरूमा मानसिक स्वास्थ्य समस्या २०१९ मा ३१ प्रतिशत थियो भने २०२३ मा ४५ प्रतिशतमा पुगेको छ।

जब व्यक्तिहरू तनाव, चिन्ता, वा अन्य मानसिक स्वास्थ्य समस्याहरूद्वारा ग्रसित हुन्छन्, त्यस्तो अवस्थाम माइन्डफुलनेस ध्यानको अभ्यासहरू गर्नु पर्छ । माइन्डफुलनेसको माध्यमबाट व्यक्तिहरूले मनमा चल्ने लोभ, भय, अवेग, चिन्ता जस्ता बिचारहरुको बारेमा बुझ्न सक्छ र ध्यानको बाटोबाट निदान गर्न सक्छ । आफु र अरुप्रति करुणा देखाउन सक्छ । मासिनमा मेन्टल क्लेयारिटी आउछ भने तनावबाट मुक्त हुन्छ । विचारहरू, भावनाहरू, र प्रतिक्रियाहरूको ठूलो बुझाइ विकास गर्न सक्छन् ।

तपाई लामोसमय देखि जातीय विभेद्विरुद्ध, छुवाछुत बिरूद्द र सामाजिक न्यायको क्षेत्रमा पनि काम गर्नुभएको छ । तपाइँले आफ्नो पीएचडी पनि त्रिभुवन विश्वविद्यालयमार्फत अन्तरजातिय विवाहसम्बन्धित विषयमा गर्दै हुनुहुन्छ । तपाईंको अध्ययन अनुसन्धानबारे पनि बताईदिनुस न ।

मैले पीएचडी गर्नुभन्दा पहिले एमफिल गरेको थिए। एमफिल पनि मलाई सेल्फ डिभेन्समा गरौं कि जस्तो पनि लाग्यो । तर सरहरुले अन्तरजातीय विवाहमै पीएचडी गर्न सुझाब दिनुभयो । मेरो छोरोले पनि अन्तरजातीय विवाह गर्यो । यसैमा पीएचडी गरौं कि भन्ने दिमागमा आयो । किनभने अन्तरजातीय विवाहको धेरै घटनाहरु कुटपिट देखि सही कुरालाई पनि बंग्याएर दलित केटालाई नै जेलमा हाल्ने, दलीत महिलाले उपल्लो जातकोसँग विवाह गरेमा त्यो विवाह पनि नटिक्ने र दलितहरुले धेरै दुख पाएको हुनाले के चाँही रहेछ त ? भनेर मेरो प्रोफेसर चैतन्य मिश्रसरसँग छलफल गरें । उहाँले राम्रो विषय रहेको बताउदै सुझाब दिएपछि इतिहास र प्रवृत्ति हेर्दा मैले तीनवटा भागमा यसलाई विभाजन गरेको छु । २०५६ साल पहिला विवाह गरेका जोडीहरु, २०५६ सालपछि २०७१ सालसम्म विवाह गरेका जोडीहरु र २०७२ सालपछि पछि र अहिलेका जोडीहरु । यी तीनवटा कालखण्डका मैले अन्तरजातीय विवाह गरेका जोडीहरुको अन्तवार्ता लिएँ । २०५६ साल भन्दा पहिले र पञ्चायत कालमा मान्छेहरु जातै खसालेर बिटुला बनाइदिने गरेको देखियो । तर, २०५६ सालपछि तराईतिर केटाले उपल्लो जातको केटी विवाह गरेमा केटालाई बलात्कार र अपहरणको आरोप लगाएर केटा लगायत उसको परिवार बुबाआमाहरुलाई जेलमा पठाएको देखिएको छ । २०७२ पछि नेपालमा नयाँ संविधान बनेपछिको अवस्था हेर्दा पनि त्यसमा खासै परिवर्तन आएको देखिदैन ।

जातीय छुवाछुत हटाउन के उपाय होला त ? के यसको सम्बन्ध ध्यानसँग हुन्छ ?

जातीय छुवाछुतबारे अहिलेसम्मको अध्ययनले के देखायो भने जातीय छुवाछुत हट्नको लागि शिक्षाले खासै प्रभाव नपार्दो रहेछ । मैले अन्तरवार्ता लिने क्रममा डाक्टरको छोरीलाई दलितले विवाह गरेको हुनाले डाक्टरले नै मानसिक यातना दिएको समेत पाइयो । पढाएको सर्टिफिकेट फिर्ता मागेको समेत देखियो । मानिसले घण्टी बजाएर, मन्दिरमा कुखुरा चढाएर, प्रसाद, फूल चढाएर केही हुने वाला छैन । ध्यानले मात्र मानिसको चेतनाको स्तर बढाएर लैजान्छ । जब मानिसले ध्यान गर्छ, तब उसको दिमागबाट निच, छुवाछुत भन्ने कुरा हट्छ । ध्यानले चाँही यो समाजमा जुन विभेद छ, यसलाई हटाउन पनि मद्धत गर्छ । किनभने ध्यान भनेको चेतनाको अर्को आयाम हो । गौतमबुद्धले चेतनाको अर्को आयामा नै पुग्नुभएको हो । उहाँ त जातीय छुवाछुतविरुद्धको पहिलो क्रान्तिकारी हो । चेतनाको आयाम नै अर्कै हुन्छ । तसर्थ, ध्यान आवश्यक छ । त्यसैले हरेकले ध्यान गर्नुपर्छ भन्ने मेरो मान्यता हो । ध्यानले मानसिक स्वास्थ्य, खानपिन, अनुशासनलाई पनि सुधार्छ । सभ्य समाज निर्माणको लागि पनि सहयोग गर्छ । म आफैँ दलीत समुदायमा जन्मेको मान्छे हो, छुवाछुत भोगेको छु । अहिले पनि गाउँमा गयो भने भाडा माझ्नुपर्छ विष्टको घरमा । चिया खानको लागि बोलाउछन् । बोलाइसकेपछि जानुपर्यो । तर पनि बाहिर बसाल्छन् । यस्तो अवस्था छ हाम्रो देशमा । त्यो समाजदेखि पीएचडीसम्मको मेरो यात्राको पछाडीको कारण नै ध्यान हो ।

ध्यानको अतिरिक्त राज्य, सामाजिक संघसंस्था, सामाजिक अभियन्ताहरुले के गर्नुपर्छ ?

अहिले सबैले देशविदेश घुमेका छन्, देश देखेका छन्, बुझेका छन् । देश घुमेर मात्रै नहुँदो रहेछ । त्यसको लागि चेतना नै आवश्यक छ । मेरो चाहाना के छ भने समतामूलक समाज निर्माण गर्नको लागि एउटा त मान्छेको चेतनाको स्तर बढ्नै पर्छ । चेतनाको स्तर बढेपछि महिला हिंसा पनि हुदैन, जातीय छुवाछुत पनि हुदैन । अर्को कुरा, महिलालाई ३३ प्रतिशत दिने, पूरुषलाई यति उती दिने भन्ने पनि हुनुहुन्न । महिला र पूरुष दुबैलाई समान प्रतिशत अधिकार दिनुपर्छ । चेतनाको स्तर बढ्ने बित्तिकै समतामूलक समाजको निर्माण हुन्छ । अन्यथा, जहिले पनि छुवाछुत, भेदभाव, तँ ठूलो – म सानो, तँ ठूलो जातको – म सानो जातको, तँ यो देशको – म यो देशको भन्ने कुरा मानिसहरुमा चलि नै रहन्छ । जब मानिसको चेतनाको स्तर बढ्छ, त्यो भनेको ध्यान हो । त्यो बढ्ने बित्तिकै मान्छेमा करुणा, प्रेम आउँछ । जब मान्छे दयालु हुन्छ, जीवन त्यसै सुन्दर हुन्छ । ध्यानले व्यक्तिगत तनाव व्यवस्थापनमात्र होइन, समाज पनि सुन्दर बनाउँछ ।

महिलाहरुको आत्मरक्षाको विषयमा लामो समयदेखि काम गर्दै आउनुभएको छ । नेपालको समस्या अन्तराष्ट्रीयकरण गर्न मद्दत पुगेको छ ?

म सिएसडब्लू एनजीओ फोरममा अमेरिका आएको थिएँ । त्यसमा साउथ एसियन फोरमको एउटा कार्यक्रम थियो, त्यसमा म सहभागी भएँ । त्यसमा चाँही विभिन्न देशका व्यक्ति सहभागी थिए । विशेष गरी महिला बढी थिए, पुरुषहरु थोरै थिए । राष्ट्रसंघमा एनजीओ, आइएनजीओहरुले नीतिगत स्तरका काम गरिरहेका छन् । महिला सशक्तीकरणको विषयमा नेपालमा पनि धेरै कामहरु भएका छन् । नेपालमा बलात्कार पीडितले न्याय नपाउने, शक्तिमा बसेकाहरुले आफ्नो मान्छेलाई जोगाउने, महिलामाथि घरेलु हिंसा हुने घटना व्यापक भएकाले मानसिकरुपमा कसरी सबल बनाउने भन्ने विषयमा तालिमहरु पनि दिन्छु । राष्ट्रसंघमा आएको बेलामा एनजीओ फोरममा यसबारे कुराहरु पनि राखें । विशेषत दक्षिण एसियाका देशहरु नेपाल, भुटान, बंगलादेश, पाकिस्तानमा आत्मरक्षा कमसेकम स्कुलबाटै सिकाउन आवश्यक छ । कार्यक्रममा धेरैले मेरो कुरालाई समर्थन गरे ।

नेपालमा सीमान्तकृत समुदायलाई यस प्रकारका कार्यक्रमले के फाईदा पुगेको छ ?

नेपालमा पछाडि पारिएका समुदायका लागि यो स्तरका कार्यक्रमले राज्यमाथि दबाब सृजना गरिरहेको हुन्छ । र अधिकार स्थापित गर्न समुदायलाई बल पुगिरहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com