नेपाली म्युजिक भिडियो निर्देशक विधान कार्कीलाई भारतमा उत्कृष्ट पुरुष निर्देशकको अवार्ड


प्रकाशित मिति : असार ४, २०८० सोमबार

भारतको महाराष्ट्रमा आयोजना भएको चौथो रोशनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा नेपाली म्युजिक भिडियो निर्देशक विधान कार्कीले उत्कृष्ट पुरुष निर्देशकको अवार्ड जितेका छन् । “आमाको ममता” शिर्षकको म्युजिक भिडियोबाट उनले नेपालको प्रतिनिधित्व गर्दै सो अवार्ड प्राप्त गरेका हुन् । यस भिडियोमा निर्देशक कार्कीले उत्कृष्ट निर्देशन गरेकोले अवार्ड हात पारेका हुन् । कार्कीले अहिलेसम्म झण्डै डेढसय म्युजिक भिडियोहरुको निर्देशन गरेका छन् ।

आमा र बच्चा बीचको गहिरो बन्धनलाई उजागर गरिएको यो भिडियोले विश्वभरका १३०० भन्दा बढी म्युजिक भिडियोहरू, चलचित्रहरू र छोटो चलचित्रहरूसँग प्रतिस्पर्धा गरेको थियो । यो महोत्सव भारतको सबैभन्दा प्रख्यात चलचित्र महोत्सव मध्ये एक हो जसमा बिश्वभरीका चलचित्र, म्यूजिक भिडियो र चलचित्रकर्मीले प्रतिस्पर्धा गरेका थिए ।

‘आमाको ममता’मा अर्जुन सुवेदीको शब्द रचना, राम कृष्ण ढकालको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । नक्षत्र प्रोडक्शनले निर्माण गरेको म्यूजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनिहरुसँग पनि विछोड भएपछि गर्नुपरेको संघर्ष देखाईएको छ । विधान कार्कीले निर्देशन गरेको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरब पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ । भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादन विकास दाहाल हुन् । मनिषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दिपेन गौतम ‘माईकल’ले प्रडक्शन डिजाइन गरेका छन् ।

एक दशक भन्दा लामो समय देखि म्युजिक भिडियो, शर्ट फिल्म, वृत्तचित्र निर्देशन गरिरहेका निर्देशक कार्की नेपालका स्थापित निर्देशक हुन् । नेपाली म्युजिक भिडियो निर्देशकहरुको एक मात्रै संस्था नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्की संस्थापक अध्यक्ष समेत हुन् । उनी अहिले आफ्नो दोश्रो कार्यकालमा अध्यक्ष भई काम गरिरहेका छन् । साथै उनी चलचित्र विकास बोर्ड नेपालको सल्लाहकार सदस्य हुन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com