बसन्ता र दीपकको अन्तरजातीय जोडी छुटाउन प्युठानबाट कानपुरसम्म


प्रकाशित मिति : मंसिर ३, २०८१ सोमबार

अहिले अमेरिकाको न्युयोर्कमा बस्दै आएका दीपक परियार र बसन्ता खड्काले झण्डै २५ बर्ष अगाडि अन्तरजातीय विवाह गरेका थिए, नेपालमा । तर यो विवाहलाई जोगाउन र वैधानिक बनाउन भने उनीहरुले निकै संघर्ष गर्नुपरेको थियो ।

२०५४ सालमा दिपक परियारले बुटवलमा नयाँ दिशा दैनिकमा काम गर्थे । बसन्ता खड्का सीएमए पढ्नका लागि बुटवलमा आफन्तकोमा बस्थिन् ।

एउटै टोलमा बस्ने भएकाले उनीहरुको बेलाबेलामा भेटघाट हुन्थ्यो । उनी बस्ने आफन्तको घरमा दिपक पत्रिका पुर्याउन जान्थे । त्यतीबेला नै उनीहरुको देखादेख भयो । वैचारिक हिसाबले पनि निकट भएका कारण भेटघाट भइरहन्थ्यो ।

दिपक सम्झिन्छन् – ‘उनलाई देख्ने बित्तिकै मेरो उनीप्रति झुकाव बढ्यो । पछि त्यो प्रेममा परिणत भयो । हाम्रो प्रेम निकै सादगी खालको थियो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पढाई सकेर बसन्ता प्युठान ओखरकोट घरमा फर्किन । प्युठान फर्केपछि भने उनीहरुको लामोसमय भेटघाट हुन पाएन । २०५६ सालमा दिपक एउटा भैलो कार्यक्रमको शिलशिलामा प्युठान पुग्दा उनीहरुको पुन भेटघाट भयो । उनीहरु महिलाहरुको एउटा कार्यक्रममा भाग लिने क्रममा एउटै गाडीमा सँगसँगै आए ।

एकजना स्थानीय नेताले सोही कार्यक्रममा उनीहरुको विवाह हुनसक्ने र त्यहीबाट भागेर जानसक्ने अनुमान गरेपछि विवाह रोक्ने षड्यन्त्र बनाए । त्यसपछि बसन्तालाई बुबा विरामी भएकाले घरमा जानुपर्ने भन्दै त्यहीबाट फर्काइयो । यद्यपी उक्त कार्यक्रमबाट विवाह गर्ने दिपक र बसन्ताको कुनै योजना भने थिएन ।

बुबा विरामी भएको खबरपछि बसन्ता घर फर्किन् । दिपक बुटवल फर्के । तर घरमा पुगेपछि बुबा विरामी नभएको र आफूलाई अलग्याउन गलत खबर दिइएको चालपाइन बसन्ताले । दीपक बुटवलमै थिए । उता वसन्ताको अर्कैसँग विवाह गरिदिने कुरा चल्न थाल्यो । त्यतीबेला मोबाइलको फोनको सुविधा थिएन । उनले दीपकको अफिसमा फोन गरेर यसबारे जानकारी दिइन् सम्झिन्छन् – ‘मेरो विवाहको कुरा चलेपछि मैले नयाँ दिशाको अफिसमा फोन गरेर सबै जानकारी गराएँ । किनभने या त मैले विद्रोह गरेर निस्कनुपर्ने थियो या त मैले परिवारले भनेको व्यक्तिसँग विवाह गर्नुपर्ने थियो । पत्रिकाको कार्यालयमा फोन गर्दा दीपकजीसँग भेट भएन । पत्रिकाका सम्पादक सुमन अधिकारीलाई सबै जानकारी गराएँ । उहाँले मलाई तुरुन्तै बुटवल आउन सुझाव दिनुभयो ।’

भोलिपल्ट उनले भागेर बुटवल जाने योजना बनाइन् । दीपकले बुटवलबाट एकजना व्यक्तिलाई लिन समेत पठाए । बसन्ताले बुटवल जानु अगाडि मावलकी हजुरआमालाई भेटिन् । त्यसपछि बिजुवारमा पढ्ने भाई र त्यही नजिकै सानिमालाई भेट्ने बहाना बनाएर उनी घरबाट निस्किन् । तर उनको योजना बुटवल आउने थियो । घरबाट उनी झण्डै २ घण्टा हिडेर गइन् । बुटवलबाट लिन पठाएका व्यक्ति त्यहाँ पुगिसकेका थिए ।

दम्तीमा गाउँकै दिदीको होटल थियो । उनी त्यहाँ केहीबेर बसेर चिया पिइन् । ती दिदीले कता जान लागेको भनेर सोध्दा बसन्ताले विजुवारमा भाईलाई भेट्न जान लागेको बताइन् । त्यसपछि बुटवलबाट लिन पठाएका व्यक्तिका साथमा वसन्ता विजुवार आइन् ।

विजुवारबाट भालुवाङसम्म आउने कुनै बस पाइएन । त्यसपछि दुईजनाले १५ सय रुपैया तिरेर एउटा बस रिजर्भ गरे । अनि उक्त बसमा भालुवाङ आए । तर बस रिजर्भ गरेर आउँदै गर्दा एकजनाले देखेछन् । त्यसपछि वसन्तालाई लिन गएका व्यक्तिले नै बसन्ताले भगाएको हल्ला चल्यो गाउँतिर ।

भालुवाङ आइसकेपछि त्यहाँबाट वुटवल आउनका लागि सेटिङ मिलाइयो । बसन्ताका प्राय आफन्तहरु पार्टीको राष्ट्रिय सम्मेलनमा व्यस्त भएकाले कसैले पनि चाल पाएनन् । दीपक केही साथीहरु लिएर भालुवाङ पुगे । र भोलिपल्ट बसन्तालाई लिएर सार्वजनिक बसमा बुटवल आए । त्यसपछि ठूटे पिपलमा एकजना साथीकोमा आएर बसे ।

भोलिपल्ट सिमा काटेर भारत जाने योजना बन्यो । किनभने नेपालमा बसेको खण्डमा बसन्ताका आफन्तहरुले थाहापाएपछि विवाह विथोल्ने सम्भावना थियो । त्यसैले भोलिपल्ट विहान सुनौली नाकाबाट रिक्सा चढेर उनीहरु भारत पुगे । दीपकका बुबा भारतीय सेनामा भएका कारण र राजनीतिक शिलशिलामा पनि दीपक भारतमा गइरहने भएकाले उनलाई त्यतातिरको सबै आइडिया थियो ।

गोरखपुरमा दीपकका मामाको घर भएकाले पनि उनीहरुलाई सहज थियो । उनीहरु सिमा काटेर सुनौलीबाट गाडी चढेर गोरखपुरमा माइलामा मामाको घरमा पुगे । अनिमात्र उनीहरुलाई सुरक्षित भएको महसुस भयो ।

दिपक सम्झिन्छन् – ‘त्यसपछि हामीले विवाहलाई बैधानिकता दिन विवाहको कार्यक्रम गर्ने योजना बनायौं । कानपुरबाट बुबा र नेपालबाट दिदीहरु पनि गोरखपुर आउनुभयो । बुटवलका केही पत्रकार पनि जानुभयो । त्यसपछि हामीले त्यहाँ सामान्य रुपमा विवाह गर्यौं । फोटो प्रिन्ट गरेर पत्रिकामा पठाइयो ।’

पत्रिकामा अन्तरजातीय विवाहको समाचार आएपछि सबैतिर हंगामा भयो । दीपक र बसन्ताको विवाह भएको खबर बुटवलहुँदै प्युठानसम्मै फैलियो ।

सबैजना मोहनबिक्रम सिंहकै पार्टीका कार्यकर्ता भएपनि बसन्ताका माइतीपक्षका केही व्यक्ति विवाहको विरुद्धमा उत्रिए । त्यसपछि बसन्ताका माइतीपक्षका केही व्यक्ति दीपकको कपिलबस्तुको घरदेखि बुटवलसम्म खोज्दै आए । दीपकको सम्पर्क भएका प्राय सबै स्थानमा उनीहरु सोधीखोजी गर्दै आए । वसन्ताले परियारसँग विवाह गरेकाले जसरी पनि फर्काउनुपर्ने योजनामा उनीहरु थिए ।

दीपक र बसन्ताले गोरखपुरमा मसिंर ४ गते विवाह गरेपछि कानपुरतिर लागिसकेका थिए । कानपुरमा दीपकका बुबा बस्ने भएकाले उनीहरुलाई त्यहाँ खास गाह्रो भएन । उनीहरुले विवाहलाई वैधानिकता दिनका लागि त्यहाँ कानुनी कागजातसमेत बनाए । बुबाले कानपुरमा आर्मी कलोनीमा विवाह सहितको भोज आयोजना गरियो ।

‘आर्मी कलोनीमा मैले बसन्ताले अझ सामाजिकरूपमा बलियो बनाउँन तेश्रोपटक विवाह गरें । किनभने हामी जसरी भएपनि विवाहलाई स्थापित गर्ने र बैधानिकता दिने योजनामा थियौं ।’ –   दीपकले बताए ।

यता बसन्ताका माइतीपक्षका आफन्तहरु कानपुरमै गएर भएपनि दीपक र बसन्तालाई भेट्ने तथा जोडी छुटाउने योजनामा लागे । विचित्र त के छ भने अन्तरजातीय जोडी छुटाउन लागिपरेकाहरु प्राय सबै आफूलाई कम्युनिष्ट बताउनेहरु थिए । राजनीतिक दल एउटै भएकाले उनीहरुले राजनीतिक दलको च्यानल प्रयोग गरेरमात्र कानपुर आउनुपर्ने थियो । उनीहरुले पार्टीको केन्द्रीय कार्यालयमा दवाव सृजना गरे । पार्टी केन्द्रीय कार्यालयले कानपुरको स्थानीय पार्टी च्यानल एकता समाजको कानपुर नगर समितिलाई पत्र लेख्यो – ‘दीपक परियार र उनकी श्रीमति वसन्ता खड्कासँग भेटघाटको व्यवस्था मिलाउनु ।’

त्यसपछि पत्र लिएर चारजना व्यक्ति वसन्तालाई फर्काउन एकता समाजको कानपुर नगर समितिको सम्पर्कमा पुगे । एकता समाजले बैठक बसाल्यो । बसन्ताका माइतीपक्षका व्यक्तिले दीपकलाई आक्रमक रुपमा भने – ‘तैंले सर्किनीलाई लगेर जानुपर्ने थियो । हाम्री चेलीलाई तैले बिगार्ने ?’

दीपकले शान्त तरिकाले भने – ‘हामी दुबैजना उमेर पुगेका हौं । त्यसैले राजीखुशीले विवाह गरेका हौं । यदि तपाईलाई मैले उनलाई ललाईफकाई ल्याएको जस्तो लाग्छ भने उनीसँग एकान्तमा कुरा गर्नुहोस् । यदि उनी जान चाहन्छिन् भने लैजान सक्नुहुन्छ ।’

दुबैपक्षबीच केहीबेर चर्काचर्की समेत भयो । वसन्तालाई उनका आफन्तले एकान्तमा लगेर कुरा पनि गरे । बसन्ताले अहिले आफू नफर्कने, पछि दुईचारमहिनापछि भेट्न आउने बताएर उनीहरुलाई फर्कन अनुरोध गरिन् । केही सिप नलागेपछि उनीहरु त्यहाँबाट फर्के ।बसन्ता, दीपक र एकता समाजका व्यक्तिले उनीहरुलाई रिक्सामा चढाएर विदाई गरे ।

झण्डै एकबर्ष बसन्ता र दीपक पुस्तक पसल खोलेर दिल्लीमा बसे । जुन पुस्तक पसलका लागि सबै सहयोग पार्टीले गरेको थियो । यो उनीहरु त्यहाँ विभिन्न राजनीतिक कार्यक्रममा पनि सहभागी भए ।

झण्डै एकबर्षपछि भने दीपक र बसन्ता बुटवल फर्के । दीपक एकमहिना बसेर दिल्ली फर्के, बसन्ता कपिलबस्तुमा रहेको दीपकको घरमा तीनमहिनाजति बसिन् । पछि दीपक पनि दिल्लीबाट सधैका लागि फर्केपछि दुबैजना बुटवलमा बस्न थाले । पहिले आफूले बेच्ने पत्रिका नयाँ दिशाको प्रबन्ध व्यस्थापक भएर दीपकले काम गर्न थाले ।

विवाह पछि पहिलोपटक आमासँग भएको भेटबारे बसन्ता सम्झिन्छन् – ‘बुटवल आएको झण्डै ६ महिनापछि बुबाआमा मलाई भेट्न प्युठानबाट हिड्नुभयो । तर कपिलबस्तुको शिवपुरमा रहेको फुपुको घरमा पुगेपछि बुबाले बुटवल आउन मान्नुभएन । फुपु र आमामात्र बुटवल आउनुभयो । म त्यतीबेला दाङमा लोकसेवा आयोगको परीक्षा दिन गएपनि आमा बुटवल आएको थाहा पाएपछि म बुटवल आएँ ।’

त्यसको तीनचारमहिना पछि बुबा भेट्न आएको प्रसंग सम्झिदा बसन्ता अहिलेपनि भावुक हुन्छिन् । त्यतीबेला विवाह भएको दुईबर्ष भइसकेको थियो । बसन्ता भन्छिन् – ‘बुबा मलाई भेट्न बुटवल आउनुभयो । म बुबालाई भेट्न तल झरें । तर मेरो मुखमा हेर्ने बित्तिकै रुन थाल्नुभयो । र केही नबोली फर्कनुभयो । म पछि पछि गएँ । तर बुबाले पर्खनुभएन ।’

विवाह भएको झण्डै ४ बर्षपछि तिहारमा वसन्ता आफ्नो माइती प्युठान गइन् । उनलाई कसैले पनि किन विवाह गरेको भनेर सोधेनन् । यद्यपी विवाह स्वीकार्न भने सबैलाई गाह्रो भइरहेको थियो । झण्डै एकमहिना माइतीमा बसेर बसन्ताले क्रमश वातावरण सुधार्दै लगिन् ।

एकमहिनापछिको कुलपूजामा दीपकलाई पनि निम्ता दिइयो । विवाह गरेको ४ बर्षपछि पहिलोपटक ससुरालीमा जाँदा दीपक उत्साहित नै थिए । तर एक्लै जाने हिम्मत आएन । त्यसपछि उनी एकजना स्थानीय नेतालाई लिएर मोटरसाइकलमा ससुराली गाउँमा पुगे, राती ८ बजेतिर । तर सिधै घरमा नपुगी राती घर जोडीएको बसन्ताको साईलो बुबाको घरमा बसे ।

भोलिपल्ट विहान दीपकलाई कसरी ससुरालीको घरभित्र भित्राउने भन्नेबारे योजना बनाइयो । दीपक सम्झिन्छन् – ‘त्यतीबेला मलाई ससुरालीमा भित्राउँदा दुलही भित्राएजस्तो भयो । सुरुमा वसन्ताको भिनाजुले दीपकलाई सिधै कुलदेवता हुने तलामा लग्नुभयो । उहाँ अलिक प्रगतिशिल हुनुहुन्थ्यो । त्यसपछि बुबाआमाले टिकोटालो गरेर औपचारिक रुपमा ज्वाई स्वीकार्नुभयो ।’

त्यसपछि ससुरालीसँग सम्बन्ध सुमधुर हुदै गयो । बसन्ताका माइतीपक्षका दाजुभाईले पनि दीपकलाई ज्वाईं स्वीकारे । दीपक बुटवलको नयाँ दिशा दैनिकका प्रबन्ध व्यस्थापक हुँदै रेडियो जागरणको निर्देशक र जागरण मिडिया सेन्टरमा कोषाध्यक्ष भएर काम गरे । बसन्ताले बुटवलमा दलित महिला संघमा काम गरिन् भने बुटवल अस्पतालमा पनि ४ बर्ष काम गरिन् । यो क्रममा उनीहरु धेरैपटक बसन्ताको माईती आवतजावत गरे । यो बीचमा बसन्ताका माइतीपक्षले दीपकलाई भावनात्मक रुपमा समेत स्वीकार्दै गए ।

जागरण मिडिया सेन्टरमा महासचिव एवं प्रथम उपाध्यक्ष भएर काम गरेका दीपक भन्छन् – ‘त्यसपछि म जाँदा त्यहाँ कुनै विभेद गरेको अनुभव हुँदैन । उहाँहरुले त्यस्तो कुनै विभेदको भावना व्यक्त गर्नुहुन्न ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com