बाइडेनको आप्रवासन नीतिका आलोचक डेमोक्र्याटलाई दिए ट्रम्पले माफी


प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार

बाइडेन प्रशासनले कारबाही गरेका टेक्ससका डेमोक्र्याट प्रतिनिधिलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएका छन्।

राष्ट्रपति ट्रम्पले टेक्ससका डेमोक्र्याट प्रतिनिधि हेन्री कुएलार र उनकी पत्नीलाई माफी दिने घोषणा गरेका हुन्।

उनीहरूलाई संघीय घुसखोरी तथा षड्यन्त्रको मुद्दा बाइडेन प्रशासनले चलाएको थियो। बाइडेन प्रशासनको आप्रवासन नीतिको विरोध गरेका कारण उनीहरूमाथि घुसखोरी र षड्यन्त्रको अभियोग लगाइएको बताइएको छ। ट्रम्पले हेनरीले ओपन बोर्डरका विरुद्ध साहसका साथ बोलेको भन्दै हेनरीको प्रशंसा गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा कुएलार र उनकी पत्नी इमेल्डा कुएलारलाई तत्कालीन राष्ट्रपति जो बाइडेनको आप्रवासन नीतिको आलोचना गरेको कारण अभियोग लगाइएको भनेर लेखेका छन्। उनले आफूले हेनरीलाई नचिन्ने समेत बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीय अधिकारीहरूले कुएलार दम्पतीलाई अजरबैजान–नियन्त्रित ऊर्जा कम्पनी र मेक्सिकोको बैंकका पक्षमा काम गर्ने सर्तमा हजारौँ डलर घुस लिएको आरोप लगाएका थिए।

उनीमाथि अजरबैजानलाई फाइदा हुने विधेयकमा प्रभाव पार्ने र अमेरिकी संसदमा अजरबैजानको पक्षमा भाषण दिने सहमति गरेको आरोप लगाइएको थियो।

कुएलारले आफू र पत्नी निर्दोष रहेको बताएका छन्। उनीहरूको मुद्दाको सुनुवाइ आगामी अप्रिलमा हुने तय गरिएको थियो।

कङ्ग्रेस कार्यालयबाहिर पत्रकारहरूसँग कुरा गर्दै कुएलारले तथ्यहरू सधैँ स्पष्ट थिए, तर यस्तो कठिन समयमा परिवारसँग भगवान् खडा भएकोमा ट्रम्पलाई धन्यवाद दिन चाहन्छु भनेका छन्। तर उनले रिपब्लिकन पार्टी रोज्ने सम्भावना भने तत्कालका लागि नरहेको बताएका छन्।

ट्रम्पले यस वर्ष गरेका माफीहरूमा धेरै राजनीतिक रूपमा नजिकका व्यक्तिहरू छन्।

उनले २०२० को चुनाव उल्ट्याउन प्रयास गरेको आरोप लागेका धेरै रिपब्लिकनहरूलाई माफी दिए। उनले ६ जनवरी, २०२१ क्यापिटल हल्लाबोलमा संलग्न १,५०० भन्दा बढी व्यक्तिलाई पनि क्षमा दिएका छन्।

कुएलार अझै पनि प्रतिनिधिसभाको एथिक्स कमिटीको अनुसन्धान अन्तर्गत छन्। यो अनुसन्धान २०२४ को मेमा सुरु भएको थियो।

२ दशकभन्दा बढी कङ्ग्रेसमा रहेका कुएलार टेक्सस–मेक्सिको सिमानाको क्षेत्र प्रतिनिधित्व गर्ने मध्यमार्गी डेमोक्र्याट हुन्। आप्रवासन र बन्दुकसम्बन्धी मुद्दामा उनी प्रायः आफ्नै पार्टीसँग भिन्न धारणा राख्दै आएका छन्।

बाइडेन प्रशासनको आप्रवासी व्यवस्थापनप्रति उनी कडा आलोचक थिए। उनी गर्भपतन अधिकारको विरोध गर्ने कङ्ग्रेसमा रहेका अन्तिम केही डेमोक्र्याटमध्ये पनि एक हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com