डिभी भर्दा जन्मस्थानसम्बन्धी गलत विवरणले अमेरिकी नागरिकता खारेज हुन सक्छ?
अमेरिकी नागरिकता सत्यमा आधारित विश्वास हो। नागरिकता प्राप्त गर्दा दिइएको विवरणमा गलत सूचना वा महत्त्वपूर्ण तथ्य लुकाइएको प्रमाणित भएमा अमेरिकी कानूनले नागरिकता खारेजीका लागि स्पष्ट कानूनी प्रक्रिया उपलब्ध गराएको छ।
कानुन व्यवसायी बासु फुलारा । फोटो: राजन काफ्ले
अमेरिकामा नागरिकता प्राप्त गरिसकेका व्यक्तिको नागरिकता ‘डिन्याचुरलाइजेसन’ प्रक्रियामार्फत खारेज गर्न सकिन्छ। यस्तो खारेजीको अन्तिम निर्णय गर्ने अधिकार अदालतसँग हुन्छ।
अमेरिकी सर्वोच्च अदालतले नागरिकतालाई अत्यन्त महत्त्वपूर्ण अधिकार मानेको छ। त्यसैले नागरिकता खारेज गर्न सरकारले ‘स्पष्ट, ठोस र विश्वसनीय’ प्रमाण प्रस्तुत गर्नुपर्ने उच्च कानूनी मापदण्ड छ। तर कानूनले नागरिकता सत्य विवरण र कानूनी योग्यताका आधारमा प्राप्त भएको हुनुपर्ने व्यवस्था पनि गरेको छ।
अमेरिकी न्याय विभागले जुन २०२५ देखि नागरिकता खारेजीसम्बन्धी मुद्दालाई आफ्नो देवानी कारबाहीका पाँच प्रमुख प्राथमिकतामध्ये एक बनाएको छ।
जन्मस्थान किन निर्णायक छ? डिभीको कानूनी योग्यता
अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐनको दफा २०३(ग) [८ यु.एस.सी. § ११५३(सी)] अनुसार डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम विगत पाँच वर्षमा अमेरिकामा तुलनात्मक रूपमा कम आप्रवासी पठाएका देशमा जन्मिएका व्यक्तिका लागि हो।
यसका लागि मुख्य चार सर्त छन्:
१. योग्य देशमा जन्मिएको हुनुपर्छ
डिभीका लागि योग्यता व्यक्तिको नागरिकता वा बसोबासका आधारमा होइन, सामान्यतया जन्मिएको देशका आधारमा निर्धारण हुन्छ।
अमेरिकी विदेश मन्त्रालयका आधिकारिक निर्देशिकाअनुसार डिभी–२०१६ र डिभी–२०१७ दुवैमा नेपाल योग्य देशको सूचीमा थियो भने भारत योग्य देश थिएन। त्यसैले नेपाली नागरिक भए पनि भारतमा जन्मिएको व्यक्ति सामान्यतया नेपालका आधारमा डिभीका लागि योग्य हुँदैन।
२. शिक्षा वा कार्य अनुभवको योग्यता
आवेदकले कम्तीमा अमेरिकी हाई स्कुलबराबरको १२ कक्षासम्मको शिक्षा पूरा गरेको हुनुपर्छ। वैकल्पिक रूपमा, विगत पाँच वर्षभित्र कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्ने पेसामा दुई वर्षको कार्य अनुभव हुनुपर्छ।
३. चिठ्ठामा छनोट र समयमै भिसा प्राप्ति
आवेदक डिभी चिठ्ठामा छनोट भएको हुनुपर्छ र सम्बन्धित आर्थिक वर्षको सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गरिसकेको हुनुपर्छ।
४. अमेरिका प्रवेशका लागि अयोग्य नहुनुपर्ने
अध्यागमन तथा राष्ट्रियता ऐनको दफा २१२(क)(६)(ग)(आई) अनुसार ठगी गरेर वा कुनै महत्त्वपूर्ण तथ्यबारे जानाजानी गलत विवरण दिएर भिसा प्राप्त गर्ने व्यक्ति अमेरिका प्रवेशका लागि अयोग्य ठहरिन सक्छ। ऐनको दफा २०२(ख) [८ यु.एस.सी. § ११५२(बी)] ले जन्मस्थानका आधारमा डिभी योग्यता निर्धारण गर्दा सीमित अपवादहरू पनि व्यवस्था गरेको छ।
पहिलो, श्रीमान् वा श्रीमती योग्य देशमा जन्मिएको अवस्थामा दुवै एउटै डिभी आवेदनमा समावेश भएको र सँगै अमेरिका प्रवेश गरेको हुनुपर्छ। दोस्रो, आवेदकका आमाबुबा दुवै सम्बन्धित अयोग्य देशमा जन्मिएका नभएको र आवेदक जन्मिँदा उनीहरूमध्ये कोही पनि त्यस देशमा बसोबास नगरेको अवस्था हुनुपर्छ।
यस्तो अपवाद लागू भए पनि आवेदनमा वास्तविक जन्मस्थान नै उल्लेख गर्नुपर्छ। अर्को योग्य देशलाई भने डिभी योग्यताको देशका रूपमा दाबी गर्न सकिन्छ।
कुन कानूनी आधारमा नागरिकता खारेज हुन सक्छ?
अमेरिकी कानूनको दफा ८ यु.एस.सी. § १४५१ र सर्वोच्च अदालतका विभिन्न फैसलाका आधारमा नागरिकता प्राप्त गर्दा गलत विवरण दिइएको वा कानूनी योग्यता पूरा नभएको प्रमाणित भएमा सरकारले निम्न आधारमा नागरिकता खारेजीको प्रक्रिया अघि बढाउन सक्छ।
१. कानूनी योग्यताबिना नागरिकता प्राप्ति
अमेरिकी नागरिकता प्राप्त गर्न सबै कानूनी सर्त पूरा भएको हुनुपर्छ। यदि डिभीमार्फत प्राप्त ग्रिनकार्ड नै कानूनअनुसार अयोग्य ठहरिएमा त्यसमा आधारित नागरिकता प्राप्त गर्ने कानूनी योग्यता पनि प्रश्नमा पर्न सक्छ।
२. जानाजानी गलत विवरण दिनु वा महत्त्वपूर्ण तथ्य लुकाउनु
नागरिकता प्राप्त गर्ने निर्णयमा असर पार्न सक्ने जन्मस्थानसम्बन्धी विवरण जानाजानी गलत दिएको ठहरिएमा त्यो नागरिकता खारेजीको आधार बन्न सक्छ।
अमेरिकी सर्वोच्च अदालतले कुन्गिस विरुद्ध संयुक्त राज्य अमेरिका (१९८८) मुद्दामा गलत जन्मस्थान उल्लेख गर्दैमा त्यो स्वतः महत्त्वपूर्ण तथ्य नहुने व्याख्या गरेको छ। तर जन्मस्थान आफैँ नागरिकताको योग्यता निर्धारण गर्ने आधार बनेको अवस्थामा वा सही जन्मस्थानले अन्य महत्त्वपूर्ण तथ्य उजागर गर्ने अवस्थामा त्यसलाई सारभूत तथ्य मान्न सकिन्छ।
३. शपथ लिएर गलत जानकारी दिनु
नागरिकता अन्तर्वार्ताका क्रममा शपथ लिएर गलत विवरण दिएको प्रमाणित भएमा त्यो अर्को कानूनी आधार बन्न सक्छ।
कुन्गिस फैसलाअनुसार अध्यागमनसम्बन्धी लाभ प्राप्त गर्ने उद्देश्यले शपथ लिएर मौखिक रूपमा गलत जानकारी दिएको प्रमाणित भएमा, त्यसले अन्तिम निर्णयमा असर पारेको थियो वा थिएन भन्ने कुराभन्दा अलग रूपमा पनि कानूनी प्रश्न उठ्न सक्छ।
४. फौजदारी मुद्दा
सरकारले नागरिकता प्राप्तिसम्बन्धी ठगीको आरोपमा १८ यु.एस.सी. § १४५१ अन्तर्गत फौजदारी मुद्दा दायर गर्न सक्छ। दोषी ठहरिएमा अदालतले नागरिकता खारेज गर्नुपर्ने कानूनी व्यवस्था छ।
अमेरिकी सर्वोच्च अदालतको मास्लेन्जाक विरुद्ध संयुक्त राज्य अमेरिका (२०१७) फैसलाअनुसार यस्तो मुद्दामा गलत विवरणले नागरिकता प्राप्त गर्ने प्रक्रियामा भूमिका खेलेको देखाउनुपर्छ।
अमेरिकी कानूनमा नागरिकता खारेजीका अन्य आधार पनि छन्। उदाहरणका लागि, सैनिक सेवामार्फत नागरिकता प्राप्त गरेको व्यक्तिले पाँच वर्षको सम्मानजनक सेवा पूरा गर्नुअघि सम्मानजनक बाहेकका अवस्थामा सेनाबाट अलग भएको अवस्थामा वा नागरिकता प्राप्त गरेको पाँच वर्षभित्र कानूनले तोकेका निश्चित संगठनमा आबद्ध भएको अवस्थामा पनि नागरिकता खारेजीको प्रश्न उठ्न सक्छ।
प्रक्रिया कसरी अघि बढ्छ?
१. छानबिन
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा युएससीआईएस) ले सम्बन्धित व्यक्तिको डिभी आवेदन, भिसासम्बन्धी फाइल, ग्रिनकार्ड, नागरिकताको आवेदन, नागरिकता अन्तर्वार्ताको अभिलेख र सैनिक सेवासम्बन्धी कागजात जाँच गर्न सक्छ।
जन्मदर्ता र अन्य आधिकारिक कागजात पनि छानबिनको दायरामा पर्न सक्छन्। थप कानूनी कारबाही आवश्यक देखिएमा विषय अमेरिकी न्याय विभागमा पठाउन सकिन्छ।
२. देवानी मुद्दा
अमेरिकी सरकारी वकिलले पर्याप्त कानूनी आधार र प्रमाणसहित संघीय अदालतमा मुद्दा दायर गर्न सक्छन्। यस्तो मुद्दा सामान्यतया सम्बन्धित व्यक्ति बसोबास गर्ने जिल्लाको संघीय अदालतमा दायर गरिन्छ।
प्रतिवादीलाई जवाफ दिन ६० दिनको सूचना दिइन्छ। मुद्दाको अन्तिम निर्णय जूरीले होइन, न्यायाधीशले गर्छन्। नागरिकता खारेजीसम्बन्धी देवानी मुद्दा दायर गर्न सामान्यतया निश्चित समयसीमा लागू हुँदैन।
३. फौजदारी मुद्दा
संघीय सरकारी वकिलले नागरिकता प्राप्तिसम्बन्धी ठगीको आरोपमा छुट्टै फौजदारी मुद्दा पनि चलाउन सक्छन्।
यस्तो मुद्दामा शंकारहित प्रमाणको उच्च मापदण्ड पूरा गर्नुपर्छ। १८ यु.एस.सी. § ३२९१ अनुसार नागरिकता प्राप्तिसम्बन्धी अपराधको मुद्दा सामान्यतया नागरिकताको शपथ लिएको १० वर्षभित्र दायर गर्नुपर्छ।
४. नागरिकता खारेज भएपछि के हुन्छ?
अदालतले नागरिकता खारेज गरेमा नागरिकता प्राप्त भएको मितिदेखि नै त्यसलाई अमान्य मानिन्छ र नागरिकताको प्रमाणपत्र फिर्ता लिइन्छ।
सामान्यतया सम्बन्धित व्यक्ति नागरिकता प्राप्त गर्नुअघिको अध्यागमन हैसियतमा फर्कन्छन्। यदि ग्रिनकार्ड पनि कानूनअनुसार प्राप्त नभएको ठहरिएमा त्यो पनि कायम रहँदैन।
त्यसपछि अध्यागमन अदालतमा देश निकाला गर्नेसम्बन्धी छुट्टै प्रक्रिया अघि बढ्न सक्छ।
अमेरिकी अध्यागमन कानूनअनुसार हत्यासम्बन्धी दोषसिद्धि ‘गम्भीर अपराध’ को दायरामा पर्न सक्छ। यस्तो दोषसिद्धिले गैरनागरिकलाई देश निकाला गर्न मिल्ने कानूनी आधार सिर्जना गर्न सक्छ।
यद्यपि, जेल सजाय भोगिरहेको व्यक्तिको देश निकाला सामान्यतया सजाय पूरा भएपछि मात्र अघि बढाइन्छ। सजाय पूरा हुनुअघि देश निकाला गर्ने कानूनी अपवादहरू सीमित छन्।
निष्कर्ष: सत्य विवरण नागरिकताको आधार
डिभी आवेदनदेखि नागरिकताको अन्तर्वार्तासम्म पेस गरिएका विवरण सत्य र आधिकारिक अभिलेखसँग मेल खानु महत्त्वपूर्ण छ।
जन्मस्थानसम्बन्धी गलत विवरणले डिभीको योग्यता प्रभावित गरेको प्रमाणित भएमा सरकारले नागरिकता खारेजीको प्रक्रिया अघि बढाउन सक्छ। जानाजानी गलत विवरण दिएको, महत्त्वपूर्ण तथ्य लुकाएको वा शपथ लिएर गलत जानकारी दिएको प्रमाणित भएमा थप कानूनी आधार पनि सिर्जना हुन सक्छ।
तर कुनै विवरणमा विरोधाभास देखिँदैमा नागरिकता स्वतः खारेज हुँदैन। सरकारले सम्बन्धित अभिलेख र प्रमाणका आधारमा कानूनी प्रक्रिया पूरा गर्नुपर्छ। अन्तिम निर्णय अदालतले गर्छ।
यस्तो प्रक्रिया पूरा हुन महिनौँ वा वर्षौँ लाग्न सक्छ। अमेरिकी कानूनले नागरिकता प्राप्त गर्दा गलत विवरण दिइएको हो कि होइन भन्ने प्रश्नको छानबिन र आवश्यक कारबाहीका लागि स्पष्ट कानूनी बाटो दिएको छ।
अमेरिकामा इमानदारीपूर्वक मेहनत गरेर जीवन बिताइरहेका हजारौँ नेपालीलाई मेरो सन्देश छ—अमेरिकी कानूनले तपाईंका अधिकारको रक्षा गर्छ। सत्य विवरण दिएर नियम पालना गर्नेहरूको अधिकार र सम्मान सुरक्षित रहनुपर्छ।
अध्यागमनसम्बन्धी कुनै पनि आवेदन भर्दा सही विवरण दिनुहोस्। आफ्नो जन्मस्थान, शैक्षिक योग्यता, वैवाहिक अवस्था र अन्य महत्त्वपूर्ण व्यक्तिगत विवरण आधिकारिक कागजातसँग मेल खाने गरी प्रस्तुत गर्नुहोस्। कुनै विवरणबारे अन्योल भएमा योग्य अध्यागमन वकिलसँग परामर्श लिनुहोस्।
यो कानूनी सल्लाह होइन। कुनै विशेष अध्यागमन समस्याका लागि योग्य अमेरिकी अध्यागमन वकिलसँग परामर्श लिनुहोस्।






