२६ कार्तिक २०८३, बिहिबार| Thursday, November 12, 2026
अध्यागमन

शंकास्पद भिसा ठगीबारे जानकारी दिन सर्वसाधारणलाई अमेरिकी दूतावासको आग्रह

अमेरिकी दूतावास काठमाडौं।

अमेरिकी दूतावास नेपालले शंकास्पद भिसा ठगीका घटनाबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। अमेरिकाले नक्कली वा झुटा विवरण पेस गरेर तथा गैरकानुनी उद्देश्यले अमेरिका प्रवेश गर्ने प्रयास रोक्न ठगी पहिचान र नियन्त्रणका गतिविधि तीव्र बनाएको दूतावासले जनाएको छ।

सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक सन्देशमा दूतावासले शंकास्पद भिसा ठगीबारे जानकारी दिन अमेरिकी विदेश मन्त्रालयको वेबसाइट travel.state.gov/reportvisafraud प्रयोग गर्न आग्रह गरेको छ।

“अमेरिकी विदेश मन्त्रालयले नक्कली माध्यम वा गैरकानुनी उद्देश्यले अमेरिका यात्रा गर्ने प्रयासलाई रोक्न ठगी पहिचान र रोकथामका कडा गतिविधि सञ्चालन गरिरहेको छ,” दूतावासले भनेको छ।

सन्देशसँगै सार्वजनिक गरिएको नेपाली भाषाको ग्राफिक्समा अमेरिकी भिसा अधिकार नभई विशेष सुविधा भएको उल्लेख गर्दै शंकास्पद ठगीबारे सम्बन्धित निकायलाई जानकारी दिएर सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा उपलब्ध विवरणअनुसार सर्वसाधारणले सम्भावित भिसा ठगी वा भिसाको दुरुपयोगबारे आफ्नो परिचय नखुलाई पनि उजुरी दिन सक्छन्। नाम र इमेल ठेगाना उपलब्ध गराउने व्यक्तिसँग थप जानकारी आवश्यक परेमा विदेश मन्त्रालयले सम्पर्क गर्न सक्नेछ।

विदेश मन्त्रालयले उजुरी गर्दा उपलब्ध भएसम्म पूर्ण विवरण दिन आग्रह गरेको छ। शंकास्पद व्यक्तिको पहिचान खुल्ने विवरणले अनुसन्धान सफल हुने सम्भावना बढाउन सक्ने विदेश मन्त्रालयको भनाइ छ। उजुरीमार्फत प्राप्त जानकारी कानुन कार्यान्वयनसम्बन्धी अनुसन्धान सुरु गर्न वा त्यसलाई सहयोग गर्न तथा अध्यागमनसम्बन्धी निर्णयको पुनरावलोकन गर्न प्रयोग हुन सक्ने वेबसाइटको गोपनीयता सूचनामा उल्लेख छ।

यसैबीच, नेपाली राहदानीवाहकहरूका लागि अमेरिकी गैरआप्रवासी भिसा आवेदनमा थप आर्थिक सर्त पनि लागू छ। नेपाल अमेरिकी भिसा धरौटी अनिवार्य गरिएका देशमध्ये एक हो। यो व्यवस्था बी–१/बी–२ भिसा अर्थात् अस्थायी व्यावसायिक तथा पर्यटकीय यात्राका लागि दिइने भिसामा लागू हुन्छ। नेपाली नागरिकका हकमा यो व्यवस्था जनवरी २१, २०२६ देखि लागू भएको हो।

यस व्यवस्थाअनुसार बी–१/बी–२ भिसाका लागि योग्य नेपाली राहदानीवाहक आवेदकले १० हजार, १५ हजार वा २० हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने हुन्छ। अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले धरौटीको रकम निर्धारण गर्छन्। आवेदकले जुनसुकै देशबाट भिसाका लागि आवेदन दिए पनि यो व्यवस्था लागू हुन्छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

अमेरिकी विदेश मन्त्रालयका अनुसार कन्सुलर अधिकारीबाट निर्देशन प्राप्त भएपछि मात्र धरौटी रकम भुक्तानी गर्नुपर्छ। भुक्तानीका लागि सरकारले तोकेको आधिकारिक प्रक्रिया नै प्रयोग गर्नुपर्ने विभागले जनाएको छ। धरौटी राख्दैमा भिसा प्राप्त हुने सुनिश्चित भने हुँदैन।

लेखक सुसान श्रेष्ठ

सुसान श्रेष्ठ युरोपमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार हुन्। उनले स्थानीय विषयदेखि संयुक्त राष्ट्रसंघ, युरोप मामिला, अन्तर्राष्ट्रिय मामिलासम्मका विविध विषयमा रिपोर्टिङ गर्दै आएका छन्। यसअघि उनले नेपालमा रहँदा खसोखासका लागि संवाददाताका रूपमा काम गरेका थिए।

यस लेखकका थप समाचार →