डोनाल्ड ट्रम्प प्रशासनको कडा निगरानीबीच आईबीएम कन्सल्टिङले हटायो भिसा प्रायोजन
Photo: Wolfgang Weiser/ Unsplash
अमेरिकन प्रविधि दिग्ग्ज कम्पनी आईबीएमले मङ्गलबार आफ्नो परामर्श सेवा शाखा ‘आईबीएम कन्सल्टिङ’मा अधिकांश पदहरूका लागि अमेरिकी भिसा र ग्रीन कार्ड प्रायोजन बन्द गर्ने निर्णय गरेको छ। डेढ लाखभन्दा बढी कर्मचारी कार्यरत यस संस्थाको यो कदम डोनाल्ड ट्रम्प प्रशासनद्वारा विदेशी प्राविधिक जनशक्ति भर्ना प्रक्रियामाथि कडा निगरानी बढाइरहेका बेला आएको छ।
यसअघि गत महिना मात्रै अमेरिकी प्रशासनले स्थायी श्रम प्रमाणीकरण प्रक्रिया अन्तर्गत माइक्रोसफ्ट, एडोब र कग्निजेन्ट, इन्फोसिस तथा टाटा कन्सल्टेन्सी सर्भिसेज जस्ता प्रमुख बाह्य सेवा प्रदायक कम्पनीहरूलाई रोक लगाएको थियो। विदेशी कामदारहरूका लागि ग्रीन कार्ड प्राप्त गर्न यो प्रक्रिया एक अनिवार्य खुट्किलो मानिन्छ।
कम्पनीका प्रवक्ताका अनुसार, आईबीएम कन्सल्टिङले प्राविधिक जनशक्तिको अभाव टार्न यसअघि अमेरिकी उच्च-कुशल भिसा कार्यक्रमहरूको प्रयोग गर्दै आएको थियो, तर पछिल्ला केही वर्षयता यसको प्रयोग क्रमशः घट्दै गएको थियो। प्राविधिक सीपको उपलब्धता र ग्राहकहरूको बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश पदहरूमा प्रायोजन सेवा समाप्त गर्ने निर्णय गरिएको प्रवक्ताले स्पष्ट पारेका छन्।
ब्लूमबर्ग न्युजले हालै सार्वजनिक गरेको एक आन्तरिक कागजातको हवाला दिँदै यस निर्णयबाट प्रभावित हुने कर्मचारीहरूले अमेरिका बाहिरका आईबीएम कार्यालयहरूमा काम गर्न सक्ने वा यसै वर्षको अन्त्यसम्ममा कम्पनी छाड्नुपर्ने अवस्था सिर्जना भएको जनाएको छ।
स्मरण रहोस्, गत वर्ष मात्रै ह्वाइट हाउसले नयाँ एच-१बी भिसा आवेदनहरूमा एक पटकका लागि एक लाख अमेरिकी डलर शुल्क लाग्ने घोषणा गरेको थियो।





