‘जिरो टु ८८४८’ लाई कान्सको वर्ल्ड फिल्म फेस्टिभलमा ‘बेस्ट एसियन फिल्म’ अवार्ड
प्रकाशित मिति : पुस १३, २०८२ सोमबार
नेपाली डकुमेन्ट्री फिल्म ‘जिरो टु ८८४८’ शून्यदेखि सगरमाथाले फ्रान्सको प्रतिष्ठित वर्ल्ड फिल्म फेस्टिभल इन कान्समा ‘बेस्ट एसियन फिल्म अवार्ड’ प्राप्त गरेको छ ।
फेस्टिभलको निर्णायक समितिले फिल्मको सशक्त कथावस्तु, उच्चस्तरीय सिनेमाटिक प्रस्तुति, संघर्ष, साहस र आकांक्षालाई गहिराइमा प्रस्तुत गरेको पक्षलाई मूल्याङ्कन गर्दै विश्वभरबाट सहभागी भएका चलचित्रहरूमध्ये ‘जिरो टु ८८४८’को मौलिकता, गहिरो अनुसन्धान, विश्वव्यापी सन्देश र प्रकृति तथा संस्कृतिको उच्चतम प्रस्तुतिलाई आधार मानेर यो अवार्ड प्रदान गरेको हो ।
‘जिरो टु ८८४८’ ले नेपालको सबैभन्दा होचो भूभाग झापा जिल्लाको कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा, (८८४८ मिटर) सम्मको यात्रालाई जीवन्त र गहिरो वास्तविकताका साथ प्रस्तुत गरेको छ । यो डकुमेन्ट्री फिल्म संघर्ष, धैर्यता, उद्देश्य र साहसको कथा समेत रहेको निर्माण पक्षको भनाई छ । जलवायु परिवर्तन, भौगोलिक विविधता तथा जीवनलाई एउटा आरोहणको रूपमा बुझाउने दार्शनिक सन्देश पनि यस डकुमेन्ट्री फिल्ममा समेटिएको छ ।
फिल्मका टिम लिडर प्रेम बानियाँले भने, “बेस्ट एसियन फिल्म’ अवार्ड प्राप्त गर्नु हाम्रो लागि अत्यन्त गर्वको विषय हो। यसले केवल यो डकुमेन्ट्री फिल्मलाई मात्र होइन, नेपाल र एसियाका विषयवस्तु, पात्र र सोचहरुलाई पनि अन्तर्राष्ट्रिय सम्मान दिएको छ। यो सम्मानले हामीलाई अझ अर्थपूर्ण र प्रेरणादायी कथाहरू सिर्जना गर्न उत्साहित बनाएको छ ।”
यस अवार्डसँगै ‘जिरो टु ८८४८’ स्वतः वल्र्ड फिल्म फेस्टिभल इन कान्सको वार्षिक प्रतिस्पर्धामा प्रवेश गरेको छ, जसअन्तर्गत जुन २०२६ मा आयोजना हुने वार्षिक समारोहमा जिरो टु ८८४८ को सहभागिता रहनेछ । साथै, यो फिल्म फेस्टिभलको ‘बेस्ट अफ फ्युचर’ छनोट तथा दर्शक पुरस्कारका लागि पनि योग्य बनेको छ । यस उपलब्धिले ‘जिरो टु ८८४८’ लाई एसियाबाट विश्व मञ्चमा उदाएको एक महत्वपूर्ण सिनेमाटिक आवाजका रूपमा स्थापित गरेको बानियाँले बताएका छन् ।
एक मिलियन अमेरिकी डलरमा निर्मित डकुमेन्ट्रीको परिकल्पना तथा नेतृत्व पत्रकार तथा लेखक प्रेम बानियाँले गरेका हुन् । डकुमेन्ट्रीमा चर्चित हलिउड डकुमेन्ट्री क्यारेक्टर तथा नर्थ फेसका ब्राण्ड एम्बेस्डर कोनराड एन्कर, १८ पटक सम्म सफल सगरमाथा आरोहण गरेका टेण्डी शेर्पा, विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुश्कर शाह, माउन्टेनियर आङ पासाङ शेर्पा आदिको फिचरिङ रहेको छ ।
डकुमेन्ट्रीको निर्देशन, इडिटिङ निरन्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन् भने कार्यकारी निर्माता श्रीराम वाग्ले हुन् । डकुमेन्ट्रीका निर्माताहरु कपिलशरण वाग्ले, एलेक्स पराजुली, राजेन्द्र पाण्डे र जय नारायण शाह हुन् । विश्वका प्रमुख शहरहरुमा डकुमेन्ट्रीको प्रदर्शन हुने निर्माण कम्पनीले जनाएको छ । यसअघि अमेरिकाको जर्जिया र नर्थ क्यारोलाइनाको एएमसी थियटरहरुमा डकुमेन्ट्रीको विशेष शोहरु सम्पन्न भइसकेका छन् र जनवरी महिनादेखि अमेरिकाका मुख्य–मुख्य शहरहरुमा विशेष शोहरु गरिने र त्यसपछि विश्व यात्रामा निस्किने बानियाँले जानकारी गराएका छन् ।






