यातायात व्यवसायीको सम्पत्ति छानबिन गरिने


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र पदाधिकारीको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललगायतका सरकारी पदाधिकारीको बैठकले यातायात समिति र तिनका पदाधिकारीको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट यातायात व्यवस्था विभागले विवरण लिइ त्यो विवरण सम्पत्ति शुद्धीकरण विभागमा उपलब्ध गराउने र विभागले सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको छ ।

यस्तै बैठकले सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात महासंघ, समितिको बैंक खाता रोक्का गर्न अर्थमन्त्रालय मार्फत नेपाल राष्ट्रबैंकमा यातायात व्यवस्था विभागले लेखी पठाउने निर्णय गरेको छ ।

बैठकले सम्पूर्ण यातायात व्यवसायीलाई यातायात सञ्चालन गर्न अनुरोध गर्नेसमेत निर्णय गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एउटा सवारी पनि कम्पनीका रुपमा दर्ता हुने
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघवीर महाशेठले यातायात कम्पनीका रुपमा दर्ता हुन एउटा सवारी साधन मात्रै भए पनि पुग्ने जानकारी गराउनुभएको थियो ।

कम्पनीमा दर्ता हुन कम्तीमा पाँच वटा सवारी साधन हुनुपर्ने प्रावधान रहेको भनी चर्चामा आए पनि सरकारले एउटा सवारीलाई पनि कम्पनीका रुपमा दर्ता गर्ने निर्णय भइसकेकोे उहाँले बताउनुभयो ।

बैठकमा गृहमन्त्री थापा र यातायातमन्त्री महाशेठले व्यवसायीको बीमालगायतका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै सिण्डिकेट हटाउने निर्णयबाट भने पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com