बाढीको १६ दिनपछि पनि जलविद्युत आयोजनामा खोजी जारी, सुरुङभित्रको उद्धार किन जटिल?
प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार
रसुवामा बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा खोज तथा उद्धार अभियानमा खटिएका उद्धारकर्मी। फोटो: नेपाली सेना
काठमाडौँ — नेपालको हिमाली जिल्ला रसुवामा अगस्ट २६ मा आएको विनाशकारी बाढी र पहिरोले नेपालका अर्थतन्त्रका दुई महत्त्वपूर्ण आधारस्तम्भ जलविद्युत् तथा पर्यटन क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। भोटेकोशी–त्रिशूली नदी करिडोरमा नदीको सतह असामान्य रूपमा बढेर जलविद्युत् आयोजनाका मुख्य प्रवेश सुरुङमा पसेपछि सुरुङभित्र कार्यरत श्रमिक, प्राविधिक र इन्जिनियरहरू सम्पर्कविहीन भएका थिए।
प्रारम्भिक सरकारी तथा क्षेत्रगत आकलनअनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमता करिब ७८३ मेगावाट छ। कम्तीमा १३ आयोजना प्रत्यक्ष रूपमा ध्वस्त वा गम्भीर क्षतिग्रस्त भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सेप्टेम्बर १० मा स्थानीय समयअनुसार साँझ ७ बजेसम्म रसुवा बाढी प्रभावित कम्तीमा आठ जलविद्युत् आयोजनामा संयुक्त खोज तथा उद्धार अभियान जारी थियो। सुरुङ, पावरहाउस, ट्रान्सफर्मर कक्ष, नियन्त्रण कक्ष तथा भग्नावशेष प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विदेशी उद्धार विशेषज्ञ र आयोजना प्रतिनिधि परिचालित थिए।
रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङभित्र करिब ५० मिटर प्रवेश गरी खोजी गर्दा एक शव फेला परेको प्राधिकरणले जनाएको छ। अन्य आयोजनामा भने खोजी जारी रहे पनि थप व्यक्ति फेला परेका थिएनन्।
अभूतपूर्व उद्धार चुनौती
जलविद्युत् आयोजनाका सुरुङभित्र ठूलो संख्यामा मानिस फसेको घटना नेपालको जलविद्युत् विकासको इतिहासमै असामान्य भएको अधिकारी र विज्ञहरूले बताएका छन्। घटनापछि सम्पर्कविहीनका आफन्तले काठमाडौँको माइतीघरमा छिटो उद्धारको माग गर्दै प्रदर्शन गरेका थिए।
उद्धार कार्यमा ढिलाइ हुनुमा आयोजनास्थलको दुर्गमता, भत्किएको सडक सञ्जाल, प्रतिकूल मौसम, नदीको अस्थिर बहाव र सुरुङभित्र जमेको लेदो तथा भग्नावशेष मुख्य कारण बनेका छन्।
नेपाली सेनाका प्रवक्ताका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतसाधनलाई एउटै अभियानअन्तर्गत परिचालन गरिएको छ। विभिन्न देशका उद्धार टोलीसँग आफ्नै विशिष्ट अनुभव भए पनि नेपालको सुरुङको डिजाइन र भौगोलिक अवस्थासँग ती अनुभवलाई प्रत्यक्ष रूपमा मिलाउन कठिन भएकाले अलग-अलग काम बाँड्नुको सट्टा संयुक्त रूपमा अभियान सञ्चालन गरिएको सेनाले जनाएको छ।
राष्ट्रिय विपद् प्रतिक्रिया संरचनाअन्तर्गत बहुराष्ट्रिय सैनिक समन्वय केन्द्रमार्फत नेपाली सेनाले अन्तर्राष्ट्रिय उद्धार टोलीको समन्वय गरिरहेको छ। आयोजनाअनुसार विशेषज्ञ टोली फरक छन्। चिलिमेमा नेपाली सेना, भारतीय उद्धार टोली र नेपाल विद्युत् प्राधिकरणका विज्ञ खटिएका छन्। माथिल्लो त्रिशूली–१ मा नेपाली सेनासँग कोरियाली विशेषज्ञ टोली परिचालित छ। त्रिशूली–३ ‘बी’ मा चिनियाँ उद्धार टोली र नेपाली सेना तथा त्रिशूली–३ ‘ए’ मा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले काम गरिरहेको छ।

उपकरण पुर्याउनै कठिन
चिलिमे, केसगढी र रसुवागढी क्षेत्रका केही आयोजनास्थल अत्यन्तै साँघुरा छन्। सुरुङ र नदीबीचको दूरी कम भएकाले हेलिकप्टरबाट भारी उपकरण वा सामग्री झार्न जोखिमपूर्ण भएको उद्धार अधिकारीहरूले बताएका छन्।
बाढी र पहिरोले सडक बगाएपछि उद्धार टोलीलाई घटनास्थलसम्म पुग्नै कठिन भएको थियो। सुरुङभित्रको लेदो र भग्नावशेष हटाउन करिब तीन हजार किलोग्राम तौलका बबक्याट डोजर र ठूला पम्प आवश्यक परे पनि सडक नहुँदा ती उपकरण पुर्याउन समय लागेको थियो।
चिलिमेमा ठूलो हेलिकप्टरबाट उपकरण लैजान सम्भव नभएपछि स्याफ्रुबेँसीतर्फबाट वैकल्पिक बाटो खोलिएको थियो। चट्टान फुटाउन विस्फोटक प्रयोग गर्ने, ट्र्याक निर्माण गर्ने र बोरहोल खन्ने काम पनि अघि बढाइएको थियो।
उद्धारका क्रममा नदीको जलसतह फेरि बढेपछि केही समय अभियान रोक्नुपरेको थियो। माथिल्लो त्रिशूली–१ मा टिमुरेमा रेडियो सेटसहितको निगरानी टोली राखेर नदीको जलसतह अनुगमन गरिएको थियो, ताकि पानी बढ्न थालेमा सुरुङभित्र रहेका उद्धार टोलीलाई तत्काल सूचना दिन सकियोस्।
सुरुङभित्र ड्रोनको सहारा
उद्धार अभियानमा प्रत्यक्ष रूपमा मानिसलाई सुरुङभित्र पठाउनुअघि ड्रोन र अन्य प्रविधिको प्रयोग गरिएको थियो।
उद्धारमा खटिएका ड्रोन विशेषज्ञ मनिष महर्जनका अनुसार प्रत्येक सुरुङको डिजाइन, लम्बाइ र भौगर्भिक अवस्था फरक भएकाले एउटै उद्धार विधि सबै आयोजनामा लागू गर्न सम्भव छैन।
माथिल्लो त्रिशूली–१ मा सुरुङभित्र पानी र लेदोको मात्रा धेरै भएकाले टोलीलाई प्रारम्भिक अवस्था बुझ्नै समय लागेको थियो। अक्सिजनको मात्रा कम रहेको सुरुङमा मानिसलाई तत्काल पठाउन नसकिएपछि थर्मल क्यामेरा जडित ड्रोन प्रयोग गरिएको थियो। ड्रोनलाई १५० मिटरभन्दा बढी भित्र पठाएर पानीको सतह, भग्नावशेष र सुरुङको अवस्थाबारे जानकारी संकलन गरिएको थियो।
त्यसपछि उद्धार टोली र्याफ्टिङ बोट, डोरी तथा पर्वतारोहणमा प्रयोग हुने उपकरणको सहायताले सुरुङभित्र प्रवेश गरेको थियो। केही स्थानमा भारी निर्माण उपकरण र भग्नावशेषबीच शव फेला परेको महर्जनले बताएका छन्।
तर यही अभियानमा सशस्त्र प्रहरीको संयुक्त टोलीले बाढी र भग्नावशेषबीचबाट करिब ६० देखि ६५ वर्षकी एक महिलालाई जीवितै उद्धार गरेको उनले बताएका छन्। सुरुङ तथा प्रभावित संरचनाभित्र भेटिएका व्यक्तिगत सामान सुरक्षित रूपमा संकलन गरी मुचुल्का बनाएर नेपाल प्रहरीलाई बुझाइएको पनि उनले बताए।

जीवित उद्धारको सम्भावना
भूमिगत संरचनामा मानिस लामो समयसम्म जीवित रहन सक्ने सम्भावनाका उदाहरण विश्वका विभिन्न उद्धार अभियानले देखाएका छन्।
अस्ट्रेलियाका सुरुङ इन्जिनियर प्रोफेसर अर्नोल्ड डिक्सले सुरुङभित्र निश्चित अवस्थामा अक्सिजन र तुलनात्मक रूपमा सुरक्षित वातावरण कायम रहन सक्ने क्षेत्रलाई ‘गोल्डिलक्स जोन’ का रूपमा व्याख्या गरेका छन्। उनका अनुसार सम्भावित सबै स्थानमा खोजी नगरेसम्म उद्धारको सम्भावना समाप्त भएको मान्न हुँदैन।
भारतको उत्तराखण्डस्थित सिलक्यारा सुरुङमा नोभेम्बर २०२३ मा ४१ श्रमिक पहिरोपछि १७ दिनसम्म थुनिएका थिए। भारी उपकरणबाट उद्धारमा कठिनाइ भएपछि अन्तिम चरणमा साँघुरो मार्ग खनेर उद्धारकर्मीले हातैले बाटो बनाएका थिए र सबै श्रमिकलाई जीवित बाहिर निकालिएको थियो।
थाइल्यान्डको थाम लुआङ गुफामा २०१८ मा बाढीपछि १२ किशोर फुटबल खेलाडी र उनीहरूका प्रशिक्षक फसेका थिए। १८ दिनको अन्तर्राष्ट्रिय उद्धार अभियानपछि सबैलाई जीवित उद्धार गरिएको थियो।
चिलीको सान होसे खानी दुर्घटनामा २०१० मा ३३ श्रमिक करिब ७०० मिटर भूमिगत फसेका थिए। उनीहरू जीवित रहेको पत्ता लागेपछि सानो प्वालमार्फत खाना पठाइएको थियो र ६९ दिनपछि विशेष क्याप्सुल प्रयोग गरेर सबैलाई बाहिर निकालिएको थियो।
अमेरिकाको पेन्सिलभेनियामा २००२ मा क्युफिल्ड कोइला खानीमा पानी पसेपछि नौ श्रमिक भूमिगत फसेका थिए। करिब ७७ घण्टाको ड्रिलिङपछि उनीहरूलाई जीवित उद्धार गरिएको थियो। अस्ट्रेलियाको बीकन्सफिल्ड सुनखानीमा २००६ मा सुरुङ भत्किँदा दुई श्रमिकलाई १४ दिनपछि जीवित उद्धार गरिएको थियो।
यी घटनाहरूले भूमिगत उद्धारमा समयसँगै प्राविधिक उपाय परिवर्तन गर्नुपर्ने र सम्भावित जीवित व्यक्तिको खोजी लामो समयसम्म जारी राख्नुपर्ने देखाएका छन्। तर रसुवाका सुरुङमा बाढीको तीव्रता, लेदो र संरचनागत क्षतिको अवस्था फरक भएकाले यहाँको उद्धार अझै जटिल छ।
पर्यटनमा दोहोरो असर
रसुवा नेपालको प्रमुख हिमाली पर्यटन क्षेत्रमध्ये एक हो। लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड, तामाङ सम्पदा पदमार्ग, रसुवागढी नाका, भोटेकोशी र्याफ्टिङ क्षेत्र तथा कैलाश मानसरोवर यात्रा मार्ग यस जिल्लासँग जोडिएका छन्।
बाढीले सडक, पुल, पदमार्ग, होटल, पर्यटन सेवा र सीमा आवागमनमा क्षति पुर्याएपछि स्थानीय पर्यटन व्यवसाय प्रभावित भएका छन्। भोटेकोशी करिडोर र्याफ्टिङ, हिमाली पदयात्रा र तिब्बततर्फको धार्मिक यात्राका लागि महत्त्वपूर्ण मार्ग हो।
कैलाश मानसरोवर जाने तीर्थयात्रीको आवागमनमा परेको अवरोधले पनि यस क्षेत्रमा असर पुर्याएको छ। विदेशी पर्यटक र पर्यटनसम्बन्धी कामदारको हताहत वा सम्पर्कविहीनताका विवरणले नेपालको हिमाली पर्यटन सुरक्षाबारे थप चिन्ता बढाएको छ।
बाढीका कारण पर्यटकको यात्रा योजना र व्यवसायीको आम्दानीमा तत्काल असर परे पनि क्षतिको पूर्ण आर्थिक मूल्यांकन अझै भइसकेको छैन।
सुरक्षा मापदण्डमाथि प्रश्न
विपद्ले नेपालका जलविद्युत् सुरुङको सुरक्षा र आपत्कालीन पूर्वतयारीमाथि पनि प्रश्न उठाएको छ।
इन्जिनियर पदम भट्टका अनुसार नेपालमा जलविद्युत् सुरुङ निर्माण तथा सुरक्षाका लागि सरकारले तोकेको छुट्टै ठोस नियामक सुरक्षा मापदण्डको अभाव छ। उनका अनुसार स्पष्ट मापदण्ड नहुँदा आयोजना प्रवर्द्धकहरू लागत घटाउनेतर्फ बढी केन्द्रित हुन सक्छन्।
नेपालका धेरै जलविद्युत् आयोजनामा मुख्य प्रवेश वा एप्रोच सुरुङ नै आपत्कालीन अवस्थामा बाहिर निस्किने प्रमुख मार्गका रूपमा प्रयोग हुन्छ। त्यही प्रवेशद्वार बाढी वा भग्नावशेषले थुनिएमा वैकल्पिक निकास सीमित हुने अवस्था देखिएको छ।
भट्टका अनुसार पहिले सुरुङको मुख खोलाको सतहभन्दा करिब ५० मिटर माथि भए सुरक्षित मान्ने अभ्यास थियो। तर नदीको सतह यसपटक असामान्य रूपमा माथि उठेपछि त्यस्तो पूर्वानुमान पर्याप्त नभएको देखिएको छ।
आपत्कालीन अलार्म, स्पष्ट सुरक्षा प्रोटोकल र सुरुङभित्र सुरक्षित स्थानको व्यवस्था भएको भए जोखिममा परेका श्रमिकलाई बाहिर भाग्ने प्रयास गर्नुको सट्टा सुरक्षित क्षेत्रमा बस्न सहयोग पुग्न सक्ने उनको भनाइ छ।
यस घटनाले नेपालले यस स्तरको जलविद्युत् तथा भूमिगत पूर्वाधार विपद्का लागि पर्याप्त रूपमा तयारी नगरेको प्रश्न पनि उठाएको छ। आवश्यक विशेषज्ञता र भारी उपकरण तत्काल परिचालन गर्न नसक्नु त्यसको एउटा उदाहरण बनेको छ।

अबको चुनौती
भविष्यमा जलविद्युत् सुरुङमा छुट्टै आपत्कालीन निकास र त्यसको स्पष्ट नक्साङ्कन, बाढीको जोखिमअनुसार प्रवेशमुखलाई तत्काल बन्द गर्न सकिने गेट वा भल्भ, तथा आपत्कालीन अवस्थामा हावा, पानी र खाना पठाउन सकिने भर्टिकल साफ्ट वा बोरहोलको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन्।
त्यसैगरी वास्तविक समयको जलसतह र वर्षा मापन, सुरुङभित्र आपत्कालीन सञ्चार तथा प्रकाश, अक्सिजन, प्राथमिक उपचार र सुरक्षित आश्रयस्थल, साथै श्रमिक र सुरक्षा निकायका लागि नियमित उद्धार अभ्यासलाई पूर्वाधार सुरक्षाको हिस्सा बनाउनुपर्ने देखिएको छ।
दुर्गम आयोजनास्थलमा भारी उपकरण पुर्याउने वैकल्पिक सडक, हेलिप्याड वा अन्य लजिस्टिक योजना पनि आवश्यक देखिएको छ।
रसुवाको बाढीले जलविद्युत् आयोजना र पर्यटन पूर्वाधारमा तत्काल क्षति मात्र पुर्याएको छैन। यसले नेपालको हिमाली क्षेत्रमा पूर्वाधार निर्माण, विपद् पूर्वतयारी र सुरक्षाका मापदण्डबारे लामो समयदेखि उठ्दै आएका प्रश्नलाई अझ टडकारो बनाएको छ।
अहिलेको प्राथमिकता भने सुरुङभित्र सम्भावित जीवित व्यक्तिको खोजी, प्रभावित परिवारलाई भरपर्दो सूचना, उद्धार टोलीको सुरक्षा र क्षतिग्रस्त संरचनाको सुरक्षित पुनर्निर्माण हो। त्यसपछि मात्र यो विपदबाट जलविद्युत्, पर्यटन र हिमाली पूर्वाधार सुरक्षाका लागि दीर्घकालीन पाठ निकाल्ने काम अघि बढ्नेछ।
यो सामग्री विविधतापूर्ण स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने गैरनाफामूलक संस्था यूआरएल कलेक्टिभ को अनुदानबाट सम्भव भएको हो।





