बाढीपछि पनि नेपाल खुला छ तर पर्यटन क्षेत्रमा भने संकट कायमै
प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार
रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि पनि काठमाडौं, पोखरा, लुम्बिनीलगायत प्रभावित क्षेत्रबाहेकका प्रमुख पर्यटकीय गन्तव्य खुला र सञ्चालनमा रहेको सन्देश नेपाल पर्यटन बोर्ड, कूटनीतिक नियोग तथा निजी पर्यटन व्यवसायीले प्रवाह गरिरहेका छन्। पर्यटन व्यवसायीहरूले भने पर्यटकको विश्वास कायम राख्न सही सूचना, सुरक्षित यात्रा व्यवस्था र क्षतिग्रस्त पूर्वाधारको तीव्र पुनर्निर्माण आवश्यक रहेको बताएका छन्। तस्बिर: माइकल स्टार्की/अनस्प्ल्यास
काठमाडौं — नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुन लागेका बेला रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले पर्यटन क्षेत्रमा गम्भीर असर पारेको छ। बाढीले होटल, रेस्टुरेन्ट, पर्यटकीय सवारीसाधन, पदमार्ग तथा अन्य पर्यटन पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
बाढीको प्रभाव भौतिक क्षतिमा मात्र सीमित छैन। पर्यटकीय सिजन सुरु हुनुअघि नै ट्रेकिङ तथा समूहगत पर्यटकका बुकिङ रद्द हुन थालेका छन्। होटलको अकुपेन्सी घटेको छ भने आन्तरिक पर्यटन र कर्पोरेट कार्यक्रमसमेत प्रभावित भएका छन्।
बाढी प्रभावित क्षेत्र सीमित भए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र विभिन्न देशका यात्रा परामर्शमार्फत नेपाल समग्र रूपमा असुरक्षित रहेको सन्देश गएको भन्दै पर्यटन व्यवसायी चिन्तित छन्। व्यवसायीहरूले प्रभावित क्षेत्रबाहेकका प्रमुख पर्यटकीय गन्तव्य तथा पदमार्ग सुरक्षित र सञ्चालनमा रहेको सन्देश अन्तर्राष्ट्रिय बजारसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताएका छन्।
पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति
रसुवामा आएको बाढीले पर्यटन क्षेत्रका भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। होटल तथा लजलगायतका आतिथ्य सुविधा, रेस्टुरेन्ट, पर्यटकीय सवारीसाधन र सम्पदा स्थलसमेत प्रभावित भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रारम्भिक मूल्यांकनअनुसार पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ। बाढीबाट १४२ होटल, ५७ रेस्टुरेन्ट, १४१ पर्यटकीय सवारीसाधन र २७ सम्पदा स्थलमा क्षति पुगेको छ। लाङटाङ र गोसाइँकुण्ड जाने पदमार्गमा समेत क्षति पुगेको छ।
क्षतिग्रस्त पदमार्ग तथा पूर्वाधार पुनः सञ्चालनका लागि निर्माण र पुनर्निर्माणको प्रक्रिया अघि बढिरहेको छ। तर, पूर्वाधार पुनर्निर्माणमा लाग्ने समयका कारण प्रभावित क्षेत्रमा पर्यटन गतिविधि कहिले सामान्य अवस्थामा फर्किन्छ भन्ने प्रश्न कायमै छ।
बेपत्ता पर्यटक र गाइडको चिन्ता
बाढीपछि पर्यटन क्षेत्रले सामना गरिरहेको अर्को महत्वपूर्ण चुनौती पर्यटक तथा पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा हो।
पर्यटन विभागले दिएको पछिल्लो विवरणअनुसार बाढीपछि झण्डै ६ सय विदेशी नागरिक अझै बेपत्ता छन्। देशगत रूपमा सबैभन्दा धेरै भारतीय नागरिक बेपत्ता छन्। त्यसपछि अमेरिकी, मलेसियाली, युक्रेनी, अस्ट्रेलियाली, लाट्भियाली, बेलायती र क्यानडाली नागरिक बेपत्ता छन्। त्यस्तै चीनका, सिंगापुरका, जर्मनी र रुसका, दक्षिण अफ्रिकाका, न्युजिल्यान्ड र जापानका तथा फ्रान्सका नागरिक बेपत्ता रहेको विभागले जनाएको छ।
यसैबीच, रसुवा रुट हुँदै ट्रेकिङ तथा कैलाश मानसरोवर यात्रामा निस्किएका कम्तीमा ४९५ जना हालसम्म बेपत्ता रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ। तीमध्ये ११८ जना प्रत्यक्ष रूपमा कार्यरत ट्रेकिङ गाइड तथा पथप्रदर्शक कर्मचारी रहेका छन्।
टानका अनुसार यो प्रारम्भिक विवरण मात्र हो। दुर्गम क्षेत्रबाट सबै विवरण आउन बाँकी रहेकाले बेपत्ता हुनेको संख्या थपिन वा तथ्यांक अद्यावधिक भएपछि परिवर्तन हुन सक्ने सम्भावना रहेको छ। विभागले सार्वजनिक गरेको समग्र विवरण र टानको रुट-आधारित प्रारम्भिक तथ्यांक फरक स्रोत तथा दायराका भएकाले दुवैलाई एउटै संख्या मान्न मिल्दैन।
टानका अध्यक्ष सागर पाण्डेका अनुसार प्राकृतिक विपत्तिले नेपालको पर्यटन क्षेत्रमा तत्काल ठूलो धक्का पुर्याउनुका साथै दीर्घकालीन पुनरुत्थानका लागि पनि गम्भीर चुनौती खडा गरेको छ।
“दशकौंको अनुभव हासिल गरेका दक्ष ट्रेकिङ गाइडको क्षति पर्यटन क्षेत्रका लागि अपूरणीय हुन्छ,” उनले भने। “एक जना पोख्त र दक्ष गाइड तयार हुन १५ देखि २० वर्षसम्मको अनुभव र मेहनत लाग्छ। यस्तो जनशक्तिको कमीले आगामी दिनमा पर्यटन क्षेत्रमा दक्ष गाइड तथा पथप्रदर्शकको अभाव सिर्जना हुन सक्छ।”
मुख्य सिजनमै बुकिङ प्रभावित
नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुन लागेका बेला बाढी आएकाले ट्रेकिङ व्यवसायमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्।
टानका अध्यक्ष पाण्डेका अनुसार सेप्टेम्बरका लागि भएका बुकिङ प्रभावित भएका छन्। कैलाश मानसरोवर र रसुवा रुट हुँदै यात्रा गर्ने पर्यटकहरूले पनि धमाधम भ्रमण रद्द गर्न थालेका छन्। यसले भदौ तथा दसैं सिजनको सुरुआतमै पर्यटन क्षेत्रमा आर्थिक असर पारेको व्यवसायीहरू बताउँछन्।
“अहिले तत्काल प्रभाव परेको छ। जस्तै, सेप्टेम्बरमा आउने बुकिङमा असर परेको छ,” पाण्डेले भने, “जति सकिन्छ छिटो नाका र बाटोहरू सुचारु गर्न सक्यौं भने त्यसले राम्रो सन्देश दिन्छ। अरू ट्रेकिङ ट्रेलहरू भने सुचारु नै छन्।”
बुकिङ रद्द भएको यकिन संख्या वा प्रतिशत तत्काल उपलब्ध नभए पनि ट्रेकिङ तथा समूहगत पर्यटकका बुकिङ रद्द हुन थालेको व्यवसायीहरू बताउँछन्।
पाण्डेका अनुसार बाढीपछि सडक तथा राजमार्गमा देखिएको समस्याले पर्यटन व्यवसायका लागि आवश्यक सामग्रीको आपूर्तिमा पनि असर पारेको छ। होटल तथा रेस्टुरेन्टमा ग्यासलगायत आवश्यक सामग्रीको आपूर्ति प्रभावित भएको समाचारले पर्यटकमा नकारात्मक सन्देश जाने उनको भनाइ छ।
“अहिले राजमार्गको समस्याले नेपालमा सप्लाई चेन नै रोकिएको छ,” उनले भने। “मिडियामा नकारात्मक कुरा आउँदा होटल र रेस्टुरेन्टमा ग्यास छैन, हामीले खाना पाउँदैनौं कि भन्ने त्रास फैलिन सक्छ। आपूर्ति टुट्यो भने कष्टकर हुन्छ नै।”
उनले सडक बिग्रिएको सन्देश बाहिर जाँदा त्यसको असर ट्रेकिङमा मात्र नभई सामान्य भ्रमणमा आउने पर्यटकमाथि पनि परेको बताए।
“त्यसैले सेप्टेम्बरको मुख्य सिजनमै प्रभाव पर्न गयो,” उनले भने।
लाङटाङ रुटका बेत्रावती तथा स्याफ्रुबेँसी क्षेत्रका सडक र पुलमा क्षति पुगेको छ। ती पूर्वाधारको मर्मत तथा पुनःसञ्चालन भएपछि लाङटाङ पदयात्रा मार्ग खुल्ने अपेक्षा गरिएको छ।
अन्नपूर्ण र सगरमाथा क्षेत्रलगायत अन्य प्रमुख पदयात्रा मार्ग सुरक्षित र सञ्चालनयोग्य रहेको टानले जनाएको छ। तर, बाढी प्रभावित क्षेत्रको समाचार बाहिर जाँदा पर्यटक तथा व्यवसायीबीच त्रास कायम रहेको व्यवसायीहरूको भनाइ छ।
पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन सरकारले सडक तथा प्रभावित पूर्वाधारको पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने पाण्डेको भनाइ छ।
“सरकारले छिटोभन्दा छिटो पुनर्निर्माण सुरु गर्नुपर्छ। त्यो हुनेबित्तिकै अन्तर्राष्ट्रिय जगत्मा राम्रो सन्देश जान्छ,” उनले भने। “अहिले पनि स्थिति सुधारतर्फ गइरहेको छ। विस्थापितहरू पुनःस्थापित हुँदै गएपछि सन्देश पनि सकारात्मक बन्दै जानेछ।”

आन्तरिक पर्यटन पनि प्रभावित
रसुवा बाढीले प्रभावित क्षेत्रका साना होटल तथा पर्यटन व्यवसायमा प्रत्यक्ष असर पारेको भए पनि यसको अप्रत्यक्ष प्रभाव देशका अन्य पर्यटकीय क्षेत्रमा समेत परेको होटल व्यवसायीहरू बताउँछन्।
होटल एसोसिएसन नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतका अनुसार बाढीपछि बाह्य बजारमा नेपाल नै असुरक्षित रहेको सन्देश पुगेको छ।
“विश्वले नेपालमा सबैभन्दा बढी दुई जिल्लामा असर परेको र अन्य क्षेत्रमा आंशिक प्रभाव परेको सन्देश पायो,” महतले भने। “तर, बाहिरबाट हेर्दा समग्र नेपाल नै सुरक्षित नभएको हो कि भन्ने भ्रम गएको छ।”
बाढीको प्रभाव निश्चित क्षेत्र र करिडोरमा सीमित रहेको भन्दै काठमाडौं, पोखरा र लुम्बिनीलगायत प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित तथा खुला रहेको सन्देश प्रवाह गर्नुपर्ने उनले बताए।
“एउटा निश्चित नदी करिडोर अथवा क्षेत्रमा संकट आएको हो,” उनले भने। “तर काठमाडौं खुला छ, पोखरा जान सकिन्छ र लुम्बिनीतिर यात्रा गर्न सकिन्छ भन्ने हिसाबले हामीले सन्देश दिइरहेका छौं।”
बाढीपछि विभिन्न देशका दूतावासले जारी गरेका यात्रा परामर्श र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचारले पनि पर्यटकको यात्रा निर्णय प्रभावित गरेको व्यवसायीहरूको भनाइ छ। नेपाल भ्रमणको पूर्वतयारी गरेका कतिपय विदेशी पर्यटकले यात्रा सार्ने वा रद्द गर्नेबारे सोच्न थालेको महतले बताए।
“भ्रमण, ट्रेकिङ र अन्य गतिविधिका लागि आउने व्यक्तिहरूले ‘अहिले नजाऔं न त’ भनेर दोस्रोपटक सोच्न थालेका छन्,” उनले भने।
होटल अकुपेन्सीमा गिरावट
रसुवा बाढीको असर विदेशी पर्यटकको बुकिङमा मात्र सीमित छैन। आन्तरिक पर्यटकको चहलपहल घट्दा होटल व्यवसाय पनि प्रभावित भएको महतले बताए।
बाढीपछि राहत तथा उद्धारमा विभिन्न संस्था र कर्पोरेट क्षेत्र केन्द्रित हुँदा नियमित रूपमा हुने सेमिनार, गोष्ठी तथा आवासीय कार्यक्रमसमेत स्थगित वा रद्द भएका छन्।
काठमाडौं आसपासका गोदावरी, धुलिखेललगायत क्षेत्रमा हुने दुईदेखि तीन दिनका आवासीय कार्यक्रम होटल अकुपेन्सीको महत्वपूर्ण आधार हुन्। त्यस्ता कार्यक्रम प्रभावित हुँदा होटल व्यवसायमा थप असर परेको छ।
महतका अनुसार सामान्य अवस्थामा ७० प्रतिशतसम्म अकुपेन्सी हुने कतिपय होटलमा अहिले यो घटेर ३० प्रतिशतसम्म पुगेको छ। सामान्यतया ३० देखि ३५ प्रतिशत अकुपेन्सी हुने केही होटलमा भने यो दर एकल अंकमा झरेको छ। कतिपय होटलले एक दिनमा कुनै पनि पाहुना नआएको अवस्थासमेत भोग्नुपरेको उनको भनाइ छ।
“सबै तथ्यांक अहिल्यै उपलब्ध नभए पनि ७० प्रतिशत अकुपेन्सी हुने ठाउँ घटेर ३० प्रतिशतमा आएको छ,” महतले भने। “३० देखि ३५ प्रतिशत अकुपेन्सी हुने ठाउँमा भने यो ५ देखि ८ प्रतिशतमा सीमित भएको छ।”

तस्वीर : प्रदीपराज वन्त/रासस
समूहगत बुकिङ रद्द हुन थाले
ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलका अनुसार बाढीपछि विशेष गरी समूहगत पर्यटकका बुकिङ रद्द हुन थालेका छन्।
“बाढीपछि पर्यटन व्यवसायमा धेरै समूहगत बुकिङ रद्द भइरहेका छन्, जसले समग्र पर्यटनलाई प्रत्यक्ष असर पारेको छ,” उनले भने।
उनका अनुसार सडक तथा पुलमा परेको क्षति र सडकमार्गबाट पोखरा, चितवनलगायत पर्यटकीय गन्तव्य जाने अवस्थाबारे बाहिर गएको सूचनाले नेपाल भ्रमणबारे नकारात्मक धारणा बनाउन पुगेको हो।
“हाम्रो देशमा हवाईमार्गभन्दा सडकमार्गबाट धेरै पर्यटक पोखरा र चितवन जान्छन्,” उनले भने। “तर, बाटो बन्द, पुलमा क्षति र रुट नै बगेको सन्देश बाहिर जाँदा असर परेको छ।”
कँडेलका अनुसार अघिल्लो वर्ष नेपाल आउन तयारी गरेका कतिपय पर्यटकले भ्रमण यस वर्षका लागि सारेका थिए। यस वर्षका लागि राम्रो बुकिङ रहे पनि बाढीपछि तीमध्ये केही बुकिङसमेत रद्द हुन थालेका छन्।
“गत वर्ष आउन तयार भएका पाहुनाले भ्रमण सारेर यसपालिलाई राखेका थिए। यसपालि राम्रै बुकिङ थियो,” उनले भने। “तर, बाढीपछि ती बुकिङ पनि रद्द हुन थाले। विशेष गरी लाङटाङ क्षेत्रमा जाने ट्रेकिङ समूह बढी प्रभावित भएका छन्।”
‘नेपाल खुला छ’ भन्ने सन्देशको प्रयास
पर्यटन व्यवसायीहरूका अनुसार अहिले पर्यटन क्षेत्रसामु रहेको सबैभन्दा ठूलो चुनौती अन्तर्राष्ट्रिय बजारमा नेपाल सुरक्षित र भ्रमणका लागि खुला रहेको विश्वास कायम गर्नु हो।
बाढीको प्रभाव निश्चित क्षेत्र र नदी करिडोरमा सीमित भए पनि त्यसलाई समग्र नेपालसँग जोडेर बुझ्दा काठमाडौं, पोखरा, लुम्बिनी र चितवनलगायतका गन्तव्यमा पर्यटकको यात्रा निर्णय प्रभावित हुन सक्छ। त्यसैले प्रभावित तथा सुरक्षित गन्तव्यको अवस्थाबारे सरकारले स्पष्ट र नियमित सूचना प्रवाह गर्नुपर्ने व्यवसायीहरूको सुझाव छ।
नेपालस्थित केही कूटनीतिक नियोग, विदेशस्थित नेपाली कूटनीतिक प्रतिनिधि तथा निजी पर्यटन व्यवसायीले पनि नेपाल भ्रमणका लागि खुला रहेको र प्रभावित क्षेत्रबाहेकका गन्तव्य सञ्चालनमा रहेको सन्देश फैलाउन पहल गरेका छन्।
नेपालका लागि इजरायली राजदूत श्मुलिक बासले नेपाल भ्रमणका लागि खुला, स्वागतशील र आगन्तुकलाई स्वागत गर्न तयार रहेको बताएका छन्। एक क्षेत्रमा भएको विपत्तिको अर्थ पूरै देश असुरक्षित छ भन्ने नरहेको उनको भनाइ छ।
“नेपाल खुला, स्वागतशील र आगन्तुकलाई स्वागत गर्न तयार छ,” राजदूत बासले भने। “एक क्षेत्रमा भएको त्रासदीले पूरै देश असुरक्षित छ भन्ने अर्थ लाग्दैन। नेपाललाई सूचित र सन्तुलित दृष्टिकोणबाट हेरौं। आउनुहोस्, नेपाल घुम्नुहोस् र अनुभव गर्नुहोस्।”
नेपाल पर्यटन बोर्डले पनि अन्तर्राष्ट्रिय पर्यटक, पर्यटन व्यवसायी र सरोकारवालालाई लक्षित गर्दै नेपाल पर्यटनका लागि बन्द नभएको सन्देश सार्वजनिक गरेको छ। बोर्डले प्राकृतिक विपत्तिबाट नेपाल प्रभावित भए पनि देश पर्यटकका लागि खुला रहेको जनाएको छ।
“नेपाल बन्द छैन,” बोर्डले सामाजिक सञ्जालमार्फत भनेको छ। “यो नेपालसँग ऐक्यबद्ध हुने समय हो। यो नेपाल भ्रमण गर्ने समय हो। नेपालले आह्वान गरिरहेको छ।”
बोर्डले पर्यटन प्रहरी, सरकारी निकाय र पर्यटनसम्बन्धी संघसंस्थासँग समन्वय गरी पर्यटकलाई सूचना तथा सहजीकरण प्रदान गर्न विशेष सहायता डेस्क स्थापना गरेको जनाएको छ। बोर्डका अनुसार भृकुटीमण्डपस्थित कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुवै टर्मिनलमा सहायता डेस्क स्थापना गरिएको छ।
बोर्डले सार्वजनिक गरेको स्थिति अद्यावधिकमा होटल, पर्यटन सेवा र प्रमुख सडक सञ्जाल सञ्चालनमा रहेको जनाएको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेका तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका पर्यटक सूचना डेस्कमार्फत द्रुत प्रतिक्रिया टोली परिचालित रहेको बोर्डले जनाएको छ।
न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले पनि बाढी प्रभावित क्षेत्रबाहेक नेपालका अधिकांश भूभाग पर्यटन, व्यवसाय र लगानीका लागि खुला तथा सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन पहल गरेको छ।
न्युयोर्कमा आयोजित नेपाली अमेरिकी समुदायसँगको अन्तरक्रियामा महावाणिज्यदूत दधिराम भण्डारीले भोटेकोशी र त्रिशूली नदी करिडोरका प्रभावित खण्डबाहेक देशका अन्य क्षेत्र सामान्य रूपमा सञ्चालनमा रहेको बताए। उनले नेपाललाई केवल विपत्तिग्रस्त वा सहायता माग्ने मुलुकका रूपमा मात्र नहेर्न आग्रह गर्दै पर्यटन, व्यापार र लगानीका लागि खुला गन्तव्यका रूपमा सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए।
“नेपाल व्यवसाय, लगानी र पर्यटनका लागि खुला छ,” भण्डारीले भने।
उनले अपूर्ण वा भ्रामक सूचनाले नेपालको पर्यटन उद्योग, व्यवसाय र अर्थतन्त्रमा थप क्षति पुर्याउन सक्ने भएकाले सही सूचना प्रसारमा प्रवासी नेपाली समुदायको भूमिका महत्वपूर्ण हुने बताए।
भण्डारीले अमेरिकामा रहेका नेपालीलाई आफ्ना राजनीतिक, व्यावसायिक तथा सामाजिक सञ्जालमार्फत नेपालका आवश्यकता तथा देशको वास्तविक अवस्थाबारे सही सूचना परोपकारी संस्था, ठूला दाता, व्यवसायी र प्रभावशाली व्यक्तिसम्म पुर्याउन आग्रह गरे।

निजी क्षेत्रका ट्रेकिङ तथा साहसिक पर्यटन व्यवसायीले पनि रसुवा बाढीबाट प्रत्यक्ष प्रभावित नभएका गन्तव्य सुरक्षित र सञ्चालनमा रहेको सन्देश प्रचार गर्न थालेका छन्।
ट्रेकिङ कम्पनी यति हाइक्सले सामाजिक सञ्जालमार्फत नेपाल खुला, स्वागतशील र साहसिक यात्राका लागि तयार रहेको जनाएको छ। कम्पनीले पर्यटकलाई सुरक्षित रूपमा यात्रा गर्न, हिमालय क्षेत्र अन्वेषण गर्न र नेपालमा अविस्मरणीय यात्रा अनुभव लिन आग्रह गरेको छ।
कम्पनीले आफ्नो सूचनात्मक पोस्टमार्फत अन्नपूर्ण आधार शिविर, सगरमाथा आधार शिविर, अन्नपूर्ण सर्किट, माथिल्लो मुस्ताङ र पुनहिल पदयात्रा मार्ग रसुवा बाढीबाट प्रत्यक्ष प्रभावित नभएको जनाएको छ। अन्नपूर्ण आधार शिविर, सगरमाथा आधार शिविर, माथिल्लो मुस्ताङ र पुनहिल क्षेत्र सञ्चालनमा रहेको तथा अन्नपूर्ण सर्किट पनि सञ्चालनमा रहेकाले पर्यटकलाई स्थानीय सडक र यातायात अवस्थाबारे अद्यावधिक जानकारी लिएर यात्रा गर्न कम्पनीले सुझाएको छ।
यति हाइक्सको पोस्टमा अन्नपूर्ण तथा सगरमाथा क्षेत्र भौगोलिक रूपमा रसुवाबाट अलग रहेकाले बाढीको प्रत्यक्ष प्रभाव नपरेको उल्लेख छ। कम्पनीले अन्नपूर्ण सर्किट प्रभावित क्षेत्रभन्दा फरक पदयात्रा मार्गमा पर्ने र माथिल्लो मुस्ताङ तथा पुनहिलका पदमार्गसमेत सञ्चालनमा रहेको जनाएको छ।
ठमेल पर्यटन विकास परिषद्का महासचिव कँडेलका अनुसार निजी क्षेत्रले मात्रै नेपाल सुरक्षित रहेको सन्देश दिन पर्याप्त हुँदैन। सरकारले संस्थागत रूपमा अन्तर्राष्ट्रिय बजारमा अपिल गर्नुपर्छ।
“निजी क्षेत्रले मात्रै यहाँ बसेर इमेल लेखेर ‘हामी सुरक्षित छौं’ भन्नु व्यावसायिक कुरा मात्रै हुन्छ,” उनले भने। “राज्यले दायित्व बहन गरेर ‘नेपाल सुरक्षित छ, एउटा सीमित क्षेत्र मात्र प्रभावित हो’ भनेर अन्तर्राष्ट्रिय सन्देश दिनुपर्छ।”
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा सडक तथा अन्य पूर्वाधारको पुनर्निर्माणलाई तीव्रता दिएर रुटहरू छिटो पुनः सञ्चालनमा ल्याउन सके त्यसले पर्यटन बजारमा सकारात्मक सन्देश दिनेछ।
टान र सम्बन्धित निकायहरूले बाढीबाट भएको मानवीय, भौतिक तथा आर्थिक क्षतिको विस्तृत मूल्यांकन गरिरहेका छन्। संघले तयार पारिरहेको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाउने तयारी भइरहेको जनाएको छ।
व्यवसायीहरूका अनुसार सरकारको पुनर्निर्माण गति, प्रभावित पदमार्ग तथा सडक खुलाउने योजना, पर्यटक सुरक्षाबारे विश्वसनीय सूचना प्रवाह र अन्तर्राष्ट्रिय बजारमा गरिने समन्वित प्रचारले नेपालको ट्रेकिङ क्षेत्रको पुनरुत्थान निर्धारण गर्नेछ।
अगस्टमा ८५ हजारभन्दा बढी पर्यटक
सन् २०२६ को अगस्टमा विभिन्न मुलुकबाट ८५ हजार ४४४ विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक आएका थिए। अर्थात्, गत वर्षको अगस्टको तुलनामा यस वर्ष ३ हजार २३६ जना कम पर्यटक आएका छन्।
अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट २६ हजार ३७३ पर्यटक आएका छन्, जुन कुल आगमनको ३०.८७ प्रतिशत हो।
भारतपछि चीनबाट १० हजार ३०४, श्रीलंकाबाट ८ हजार ७१०, अमेरिकाबाट ६ हजार २९३, बंगलादेशबाट ४ हजार ४८७ र बेलायतबाट ३ हजार ४७६ पर्यटक नेपाल आएका छन्।
क्षेत्रगत रूपमा दक्षिण एसियाबाट सबैभन्दा धेरै ४१ हजार ४२२ पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट १८ हजार २७५, युरोपबाट १० हजार ८७५, ओसियानाबाट २ हजार ५२९, अमेरिकाबाट ७ हजार ४७३, मध्यपूर्वबाट १ हजार १० र अफ्रिकाबाट ३३८ पर्यटक नेपाल आएका छन्।
यो सामग्री विविधतापूर्ण स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने गैरनाफामूलक संस्था यूआरएल कलेक्टिभ को अनुदानबाट सम्भव भएको हो।





