आइसले स्थानीय प्रहरीसँग सम्झौता विस्तार गरेपछि कागजातविहीन आप्रवासी पक्राउमा तीव्र वृद्धि


प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार

तस्बिर:आइस

अमेरिकामा स्थानीय तथा राज्य प्रहरी अधिकारीहरूलाई अध्यागमन नियन्त्रण आइसको अधिकार दिने कार्य तीव्र रूपमा बढेको छ। एफडब्लूडी डट युएस नामक अध्यागमन सुधार हिमायती संस्थाको नयाँ प्रतिवेदनअनुसार पछिल्लो आठ महिनामा अध्यागमन अधिकारीका रूपमा काम गर्ने राज्य तथा स्थानीय प्रहरीको संख्या दोब्बर पुगेको छ।

संघीय अध्यागमन कार्यक्रम २८७ (जी)अन्तर्गत जनवरी २०२५ देखि अक्टोबर २०२६ को बीचमा २९,००० भन्दा बढी स्थानीय प्रहरी अधिकारीहरूलाई अध्यागमन नियन्त्रणको अधिकार दिइएको छ। यो संख्या आइससँग प्रत्यक्ष रूपमा कार्यरत ११,६०० देशनिकाला अधिकारीहरू भन्दा धेरै बढी हो।

अमेरिकाको जस्टिस डिपार्टमेन्टले यो कार्यक्रममा सहभागी हुने राज्य तथा स्थानीय निकायहरूलाई ३ अरब डलरको आर्थिक सहायता प्रस्ताव गरेको छ। यसै आर्थिक प्रोत्साहनका कारण स्थानीय प्रहरी निकायहरू यो कार्यक्रमतर्फ आकर्षित भइरहेका छन्।

जनवरी २०२५ देखि अगस्ट २०२६ को बीचमा देशभर २८७ (जी) मार्फत भएका कुल ४७,००० भन्दा बढी आप्रवासी पक्राउहरूमध्ये आधाभन्दा बढी फ्लोरिडा र टेक्सास राज्यका प्रहरीले मात्र गरेका छन्।

यसबाहेक, वायोमिङ, न्यू ह्याम्पशायर, र ओक्लाहोमा जस्ता राज्यहरूमा पनि स्थानीय प्रहरीले गर्ने आप्रवासी पक्राउको संख्यामा भारी वृद्धि भएको छ। ओक्लाहोमामा राजमार्ग गस्ती प्रहरीले आफ्ना सबै जवानहरूलाई यो कार्यक्रममा सहभागी गराएपछि त्यहाँका आप्रवासी समुदायमा ठूलो त्रास फैलिएको छ। मानिसहरू राजमार्गमा गाडी चलाउन र दैनिक गतिविधि गर्न डराउन थालेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com