सेप्टेम्बरमा अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी बढे बृद्धि, नेपाली विद्यार्थी ६.५ %ले बृद्धि
न्युयोर्कस्थित लागार्डिया कम्युनिटी कलेजको क्याम्पसको पूर्वी छेउमा रहेको भवन ‘ई’, जहाँ धेरै नेपाली विद्यार्थी अध्ययनरत छन्। तस्बिर: जिम हेन्डरसन, क्रिएटिभ कमन्स एट्रिब्युसन–सेयरअलाइक ४.०।
न्युयोर्क — अमेरिकामा सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थी अभिलेखको संख्या सेप्टेम्बरमा ८४ हजार ५३६ ले बढेको छ। गर्मीयाममा लगातार घटेको विद्यार्थी संख्यामा नयाँ सेमेस्टर सुरु भएसँगै उल्लेख्य सुधार आएको अमेरिकी होमल्याण्ड सेक्युरिटीअन्तर्गतको सेभिज तथ्यांकले देखाएको छ।
तथ्यांक अनुसार सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थी अगस्टमा ११ लाख १४ हजार १७६ रहेकोमा सेप्टेम्बरमा बढेर ११ लाख ९८ हजार ७१२ पुगेको हो। यो एक महिनामा ७.६ प्रतिशत अर्थात् ८४ हजार ५३६ को वृद्धि हो। तर सेप्टेम्बरको संख्या अघिल्ला दुई वर्षको सोही महिनाको तुलनामा कम छ। सन् २०२५ को सेप्टेम्बरमा अमेरिकामा १३ लाख १ हजार १३५ सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थी थिए भने सन् २०२४ को सेप्टेम्बरमा १२ लाख ९४ हजार ७८६ थिए।
सन् २०२५ को सेप्टेम्बरको तुलनामा सन् २०२६ को सेप्टेम्बरमा सक्रिय विद्यार्थी १ लाख २ हजार ४२३ अर्थात् करिब ७.९ प्रतिशत कम छन्। सन् २०२४ को तुलनामा भने ९६ हजार ७४ अर्थात् करिब ७.४ प्रतिशत कम छन्। सन् २०२५ को सेप्टेम्बरमा पनि सन् २०२४ को तुलनामा ६ हजार ३४९ अर्थात् करिब ०.५ प्रतिशत मात्र वृद्धि भएको थियो।
सेप्टेम्बरमा विद्यार्थी संख्या बढ्नु कलेज तथा विश्वविद्यालयमा नयाँ सेमेस्टर सुरु हुने समयसँग मेल खान्छ। यस समयमा शैक्षिक संस्थाहरूले पुराना विद्यार्थी तथा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीका अभिलेख अद्यावधिक गर्ने गर्छन्। तर एक महिनामा बढेको तथ्यांकलाई सोही अवधिमा नयाँ विद्यार्थी भिसा जारी भएको संख्या वा अमेरिकामा नयाँ विद्यार्थी प्रवेश गरेको संख्यासँग प्रत्यक्ष रूपमा तुलना गर्न नमिल्ने आप्रवासन कानुन व्यवसायीहरूले बताएका छन्।
“यी तथ्यांकले उक्त महिनामा कति विद्यार्थीले भिसा पाए, कति पहिलोपटक अमेरिका प्रवेश गरे वा कति फर्केर आएका विद्यार्थी थिए भन्ने देखाउँदैनन्। त्यस्तै, कुनै निश्चित दिन अमेरिकामा भौतिक रूपमा उपस्थित अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या पनि यसले देखाउँदैन,” सेढाईंले भने।
अगस्टमा सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थी संख्या जुलाईको तुलनामा करिब ४२ हजारले घटेको थियो। जुलाईमा करिब ११ लाख ५० हजार रहेको संख्या अगस्टमा घटेर ११ लाख १४ हजार १७६ पुगेको थियो। यो करिब ३.७ प्रतिशतको गिरावट थियो। सेप्टेम्बरमा भने अगस्टको गिरावट पूर्ण रूपमा उल्टिएको छ र सक्रिय विद्यार्थी अभिलेख ११ लाख ९८ हजार ७१२ पुगेका छन्।
जुलाईदेखि अगस्टसम्म धेरै मुलुकबाट अमेरिकामा सक्रिय विद्यार्थी घटेका थिए। अगस्टमा भारत ३ लाख ३३ हजार ३१४ सक्रिय विद्यार्थी रेकर्डसहित सबैभन्दा ठूलो स्रोत मुलुक थियो। जुलाईको ३ लाख ३८ हजार २३० को तुलनामा भारतबाट ४ हजार ९१६ विद्यार्थी घटेका थिए।
चीन १ लाख ९७ हजार ८०२ सक्रिय विद्यार्थीसहित दोस्रो स्थानमा थियो। जुलाईको २ लाख ४ हजार ४६८ को तुलनामा चीनबाट ६ हजार ६६६ विद्यार्थी घटेका थिए। दक्षिण कोरिया, ब्राजिल र क्यानडाबाट पनि जुलाईदेखि अगस्टसम्म एक हजारभन्दा बढी विद्यार्थी घटेका थिए। जापानबाट ८८०, नाइजेरियाबाट ८०० र भियतनामबाट ६९८ विद्यार्थी घटेका थिए।
तर सेप्टेम्बरमा प्रमुख स्रोत मुलुकमध्ये चीनबाट सबैभन्दा ठूलो वृद्धि देखियो। चीनका सक्रिय विद्यार्थी अगस्टको १ लाख ९७ हजार ८०२ बाट बढेर सेप्टेम्बरमा २ लाख १९ हजार १६ पुगे। यो २१ हजार २१४ अर्थात् १०.७ प्रतिशतको वृद्धि हो। भारतबाट सक्रिय विद्यार्थी संख्या ३ लाख ३५ हजार ६९८ पुगेको छ। अगस्टको तुलनामा २ हजार ३८४ को वृद्धि हो। क्यानडाबाट ५ हजार २१५ बढेर ३७ हजार ७१३, दक्षिण कोरियाबाट ४ हजार ७३ बढेर ४१ हजार ५८९ र ब्राजिलबाट ३ हजार ७०३ बढेर ४० हजार १९४ पुगे।
भियतनामबाट सक्रिय विद्यार्थी संख्या ३ हजार ६९८ बढेर ३३ हजार ११०, बंगलादेशबाट १ हजार ५१६ बढेर २६ हजार ९५३ र ताइवानबाट २ हजार १०७ बढेर २१ हजार ७७४ पुगे। नाइजेरियाबाट भने अगस्टको २१ हजार ३११ बाट सामान्य वृद्धि हुँदै सेप्टेम्बरमा २१ हजार ६३३ पुगेको छ।
भारत र चीनका विद्यार्थीको संख्या मात्र सेप्टेम्बरमा ५ लाख ५४ हजारभन्दा बढी थियो, जुन अमेरिकाका कुल सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थीको करिब ४६.३ प्रतिशत हो। बेलायत, फ्रान्स, जर्मनी, स्पेन, टर्की, मेक्सिको र जापानबाट पनि सेप्टेम्बरमा उल्लेख्य वृद्धि भएको छ।
बेलायतबाट सक्रिय विद्यार्थी संख्या अगस्टको ११ हजार १७४ बाट बढेर सेप्टेम्बरमा १३ हजार ४५२ पुगेको छ। यो २०.४ प्रतिशतको वृद्धि हो। जापानबाट ११ हजार ९२९ बाट बढेर १३ हजार ६३९ पुगेको छ। फ्रान्सबाट संख्या ७ हजार २९ बाट बढेर ९ हजार ६५, जर्मनीबाट ७ हजार २०२ बाट बढेर ९ हजार २३९, स्पेनबाट ८ हजार ६९६ बाट बढेर १० हजार ६३७ र टर्कीबाट ११ हजार ७ बाट बढेर १२ हजार १४ पुगेको छ।
अमेरिकामा सक्रिय नेपाली विद्यार्थी संख्या पनि सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। वसन्त र गर्मीयाममा लगातार घटेको नेपाली विद्यार्थीको संख्या शरद् सत्र सुरु भएपछि पुनः बढेको हो। अगस्टमा अमेरिकामा ३१ हजार ८८० सक्रिय नेपाली विद्यार्थी रहेकोमा सेप्टेम्बरमा यो संख्या बढेर ३३ हजार ९४८ पुगेको छ। एक महिनामा २ हजार ६८ अर्थात् करिब ६.५ प्रतिशत वृद्धि भएको हो।
तर सेप्टेम्बरको संख्या सन् २०२६ को मार्चमा रहेको स्तरभन्दा अझै कम छ। मार्चमा अमेरिकामा ३४ हजार ८५३ सक्रिय नेपाली विद्यार्थी थिए। सेप्टेम्बरको संख्या मार्चको तुलनामा ९०५ अर्थात् करिब २.६ प्रतिशत कम हो। सन् २०२६ को मार्चदेखि नेपाली विद्यार्थीको सक्रिय संख्या लगातार घट्दै आएको थियो। मार्चमा ३४ हजार ८५३ रहेको संख्या अप्रिलमा ३४ हजार ६८०, मेमा ३४ हजार ३६६, जुनमा ३३ हजार ७५८, जुलाईमा ३२ हजार ८५२ र अगस्टमा ३१ हजार ८८० पुगेको थियो।
जुलाईदेखि अगस्टसम्मको एक महिनामा सबैभन्दा ठूलो गिरावट देखिएको थियो। उक्त अवधिमा सक्रिय नेपाली विद्यार्थी अभिलेख ९७२ ले घटेको थियो।मार्चदेखि अगस्टसम्म पाँच महिनाको अवधिमा सक्रिय नेपाली विद्यार्थी अभिलेख २ हजार ९७३ अर्थात् करिब ८.५ प्रतिशत घटेको थियो। सेप्टेम्बरमा भएको ६.५ प्रतिशतको वृद्धिले उक्त गिरावटको केही हिस्सा उल्टाएको छ। यद्यपि नेपाली विद्यार्थीको सक्रिय संख्या मार्चको उच्चतम स्तरभन्दा अझै ९०५ ले कम छ।





