फ्लोरिडाको आप्रवासी हिरासत केन्द्र विवाद: सरकारी निकायकै छानबिनमा पुष्टि आप्रवासीमाथि अमानवीय व्यवहार
प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार
फ्लोरिडाको हाल बन्द भइसकेको “एलिगेटर एल्काट्राज” नामक आप्रवासी हिरासत केन्द्रमा राखिएका केही आप्रवासीहरूलाई टेलिफोन बुथभन्दा थोरै मात्र ठूला बाहिरी धातुका खोरहरूमा एक पटकमा एक देखि दुई घण्टासम्म थुन्ने गरिएको खुलासा भएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटिका इन्स्पेक्टर जनरलले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा यो तथ्य बाहिर आएको हो।
अधिकारीहरूका अनुसार उक्त हिरासत केन्द्रमा करिब १६ देखि १८ वर्गफुटका साना धातुका खोरहरू प्रयोग गरिन्थ्यो। अमेरिकाको आइसले तय गरेको न्यूनतम ३७ वर्गफुटको मापदण्डको तुलनामा यी खोरहरू आधाभन्दा पनि साना थिए।
केन्द्रका कर्मचारीहरूले ती साँघुरा ठाउँहरूलाई आप्रवासीहरूलाई “शान्त पार्न” प्रयोग गरिने क्षेत्र भनी दाबी गरे तापनि इन्स्पेक्टर जनरलले यस्तो प्रयोगलाई अस्वाभाविक र अमानवीय व्यवहारको मापदण्ड विपरीत ठहर्याएका छन्। यसअघि एमनेस्टी इन्टरनेसनलले पनि यस्तो कठोर परिस्थिति र नियन्त्रणलाई “यातना” को संज्ञा दिएको थियो।
एभरग्लेड्स क्षेत्रमा सन् २०२५ जुलाईमा स्थापना गरिएको यो केन्द्र सञ्चालन गर्न दैनिक १० लाख डलरभन्दा बढी अर्थात् प्रति व्यक्ति दैनिक ३,००० डलरभन्दा बढी खर्च हुने गरेको अदालतको कागजातले देखाएको छ। अत्यधिक आलोचना, चौतर्फी विरोध र कानुनी मुद्दाहरूपछि यो विवादित केन्द्र गत जुन महिनामा बन्द गरिएको थियो।





