‘छोरा जीवितै फर्किन्छ’: बाढीपछि सम्पर्कविहीन भएको १३ दिन बितिसक्दा पनि बुवाआमाको आशा बाँकी
प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार
बाढीपछि सम्पर्कविहीन रहेकी नायब सुब्बा अनिता पुरीको खोजी तथा सकुशल उद्धारको कामना गर्दै बुटवलमा आयोजित प्रार्थना सभामा सहभागीहरू।
बुटवल — १३ दिन बितिसकेको छ। फोनको घण्टी बजेको छैन। छोराको कुनै खबर आएको छैन। तर, अर्घाखाँचीको शीतगंगा नगरपालिका–३, ठाडा–अमराईका सुरेन्द्र र सावित्रा बेल्वासेले आशा छाडेका छैनन्। उनीहरू अझै पनि छोरा सुबोध घर फर्किने प्रतीक्षामा छन्।
२६ वर्षीय सुबोध बेल्वासे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका हुन्। उनी त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए।
सुबोध बुवा सुरेन्द्र र आमा सावित्राका दुई सन्तानमध्ये एक्ला छोरा हुन्। भारतबाट सिभिल इन्जिनियरिङ पूरा गरेका उनले दुई वर्षदेखि जलविद्युत् आयोजनामा काम गर्दै आएका थिए। उच्च शिक्षा हासिल गर्न अमेरिका जाने उनको योजना थियो। सुरेन्द्रका लागि छोराको भविष्यको त्यो सपना अहिले एउटै आशामा बदलिएको छ—सुबोध सकुशल फर्किनेछन्।
“धेरै दुःख र मिहिनेत गरेर छोरालाई भारतमा सिभिल इन्जिनियरिङ पढाएका थियौं,” सुरेन्द्रले भने। “काम गरेर केही अनुभव लिएपछि उच्च शिक्षाका लागि अमेरिका जाने उसको योजना थियो।”
सुबोधकी एक दिदी छन्।
अन्तिम फोनपछि हराएको आवाज
भदौ ९ गते रातिसम्म सुबोध काठमाडौंमा थिए। उनले आमासँग फोनमा कुरा गरेका थिए। भोलिपल्ट दिउँसो फेरि फोन गर्ने बताएका थिए। त्यो नै परिवारसँग उनको अन्तिम कुराकानी बन्यो। भदौ १० गते भोटेकोशी क्षेत्रमा बाढी आएपछि सुबोधको मोबाइल सम्पर्कविहीन भयो। त्यसपछि परिवारले उनको खोजी सुरु गर्यो।
छोराको खबर पाउने आशामा बुवा सुरेन्द्र पर्वतबाट र आमा सावित्रा अर्घाखाँचीबाट काठमाडौं हुँदै रसुवा पुगे। परिवारले काठमाडौं र रसुवाका विभिन्न ठाउँमा खोजी गर्यो। बाढीले उनलाई बगाएको हुन सक्ने आशंकामा चितवन र नवलपरासीसम्म पनि पुगेर खोजियो।
तर, अहिलेसम्म कुनै खबर आएको छैन। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार भएको खबर सुनेपछि भने सुबोधका बुवाआमाको आशा फेरि बलियो भएको छ।
“उनीहरू सुरुङबाट जीवितै निस्किए भन्ने खबरले हाम्रो आशा पनि पलाएको छ,” परिवारको भनाइ छ। “छोरा पनि जीवितै भेटिन्छ भन्ने विश्वास छ।”
शीतगंगा नगरपालिकाकी उपप्रमुख गीता भाटका अनुसार सुबोध बेपत्ता भएपछि नगरपालिकाले उनको खोजीकार्य तीव्र बनाउन सरकारसँग निरन्तर आग्रह गरिरहेको छ। स्थानीय सरकारका तर्फबाट गर्न सकिने हरसम्भव सहयोगका लागि नगरपालिका तयार रहेको उनले बताइन्।
सुबोधबाहेक शीतगंगाबाट अरू कोही बेपत्ता भएको सूचना प्राप्त नभए पनि अर्घाखाँची जिल्लाबाट भने कुल आठ जना बेपत्ता रहेको भाटले जानकारी दिइन्सु बोधको परिवारजस्तै अन्य धेरै परिवार पनि अहिले आफ्नो प्रियजनको कुनै खबर आउने आशामा छन्।

१३ दिनदेखि किशोरको प्रतीक्षामा परिवार
बुटवल उपमहानगरपालिका–११, देवसिद्ध चोकस्थित थापापथका ३७ वर्षीय किशोर न्यौपाने क्षेत्रीको परिवारले पनि यस्तै प्रतीक्षा गरिरहेको छ।
मेकानिकल ओभरसियर किशोर रसुवागढी जलविद्युत् आयोजनाबाट बाढीपछि बेपत्ता भएका हुन्। उनी कामको सिलसिलामा बुटवल र रसुवाबीच नियमित आउजाउ गर्थे।
पाल्पाको बगनासकाली गाउँपालिका–५ का स्थायी बासिन्दा किशोरले बुटवलमा घर बनाएर बस्न थालेको एक वर्ष मात्र भएको थियो। उनको परिवारमा श्रीमती अन्जु, १५ वर्षीया छोरी करुणा र ७ वर्षीय छोरा अतीस छन्। छोराछोरी बुटवलमै अध्ययनरत छन्।
किशोरको कामको तालिका १५ दिन ड्युटी र १५ दिन बिदाको थियो। बिदा सकेर उनी भदौ ६ गते मात्र रसुवा फर्किएका थिए। भदौ १० गते बिहान ८ बजे उनले श्रीमती र छोराछोरीसँग फोनमा अन्तिम पटक कुरा गरेका थिए।
त्यसको करिब दुई घण्टापछि अन्जुले भोटेकोशीले रसुवागढी जलविद्युत् आयोजना बगाएको खबर सुनिन्। बुटवलमा रहेकी अन्जुले पाल्पामा रहेका ससुरा बलबहादुरलाई रुँदै खबर गरिन्।
छोरा बेपत्ता भएको खबर पाएपछि अवकाशप्राप्त शिक्षक बलबहादुर र आमा टिकाकुमारी बुटवल आए। उनीहरू अहिले पनि छोराको खबरको प्रतीक्षामा छन्।सुरुङबाट केही व्यक्तिको सकुशल उद्धार भएको खबरले उनीहरूको आशा पनि बढाएको छ।
बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार बलबहादुरले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पुगेर डीएनएको नमुना दिएका छन्। घरमा सान्त्वना दिन पुग्ने छरछिमेकीसँग परिवारका सदस्यहरूले किशोर सकुशल फर्किने आशा व्यक्त गर्ने गरेका छन्।
“पिर र चिन्ताका बीचमा पनि छोरा घर फर्किन्छ भन्ने आशा छ,” बलबहादुरले भने।

अनिता पुरीको पनि अज्ञात अवस्था
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५, टाहटिमकी अनिता पुरीको अवस्था पनि बाढीपछि अज्ञात छ।
रसुवा भन्सार कार्यालयमा नायब सुब्बाका रूपमा कार्यरत पुरी डेरामै आराम गरिरहेकी थिइन्। महिनावारीका कारण अस्वस्थ महसुस गरेपछि उनी कार्यालय नगई डेरामै बसेकी थिइन्। बाढी आएपछि उनी डेराबाटै बेपत्ता भएकी हुन्। रसुवा भन्सारमा हाजिर भएको उनको एक महिना मात्र भएको थियो। त्यसअघि उनी दाङ र बर्दियामा कार्यरत थिइन्।
भदौ ९ गते राति अनिताले परिवारका सदस्यसँग अन्तिम पटक कुराकानी गरेकी थिइन्। अनिता बेपत्ता भएको घटनामा गुल्मीका मात्रै सात जना सम्पर्कविहीन भएका छन्।
बुटवल बहुमुखी क्याम्पसमा समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेकी अनिताको खोजी तीव्र बनाउन क्याम्पसले सरकारसँग आग्रह गरेको विभागीय प्रमुख जीवनारायण अधिकारीले बताए। उनका अनुसार अनिता एक महिनाअघि तेस्रो सेमेस्टरको परीक्षा फारम भर्न क्याम्पस आएकी थिइन्। उनको परीक्षा भदौ १५ गतेदेखि सुरु हुने तय भएको थियो।
परीक्षा दिन भदौ १० गते बेलुका बुटवल आउने तयारीमा रहेकी अनिताले सोही बिहान “घरको सम्झनामा” भन्दै टिकटकमा भिडियोसमेत पोस्ट गरेको अधिकारीले बताए। त्यसपछि उनी पनि परिवार र साथीभाइको सम्पर्कमा आएकी छैनन्।
लुम्बिनीका २४५ परिवारको एउटै प्रश्न
सुबोध, किशोर र अनिता तीन फरक परिवारका सदस्य हुन्। तर, अहिले उनीहरूका परिवारको प्रश्न एउटै छ—उनीहरू कहाँ छन्?
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट भोटेकोशी नदीमा आएको बाढीपछि २४५ जना सम्पर्कविहीन भएको प्रदेशको आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ। प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि रसुवा र नुवाकोट पुगेका उनीहरू अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्।
महाशाखाका अनुसार सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म आठ जना मात्र सम्पर्कमा आएका छन्। सबैभन्दा धेरै बर्दियाका ७३ र दाङका ५४ जना सम्पर्कविहीन छन्।
रोल्पाका २५, बाँकेका २३, रुपन्देहीका १८, नवलपरासी पश्चिमका नौ, पाल्पाका नौ, प्युठानका नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ र रुकुम पूर्वका चार जना सम्पर्कविहीन रहेको आफन्तहरूले जानकारी गराएको मन्त्रालयको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।
यी संख्या केवल सरकारी विवरण होइनन्। प्रत्येक संख्याको पछाडि कसैको छोरा, छोरी, श्रीमान्, श्रीमती, बुवा वा आमा छन्—र उनीहरू अहिले एउटा खबरको प्रतीक्षामा छन्।
भौगोलिक विकटता, प्रतिकूल मौसम र पर्याप्त आधुनिक उपकरणको अभावका कारण बाढीपछिका सुरुआती दिनमा उद्धारकार्य प्रभावकारी हुन सकेको थिएन।आयोजना क्षेत्रका सुरुङ र भग्नावशेषभित्र मानिसहरू जीवितै हुन सक्ने सम्भावना रहे पनि उद्धारमा भएको ढिलाइले पीडित परिवारको आक्रोश र पीडा बढाएको छ।
अहिले खोजीकार्यमा नेपाली सेना र आयोजनाका आफ्नै टोली खटिएका छन्। तर, बेपत्ता व्यक्तिका आफन्तका लागि समय बित्दै जानु झन् कठिन हुँदै गएको छ। उनीहरू जस्तोसुकै अवस्थामा भए पनि आफ्ना मानिसको अवस्था स्पष्ट पारिदिन सरकारसँग आग्रह गरिरहेका छन्। कुन अवस्थामा छन् भन्ने थाहा नहुँदा परिवारहरू दिनप्रतिदिन गहिरो पीडा र मानसिक तनावमा पर्दै गएका छन्।

भोटेकोशी बाढीमा १,३५५ शव फेला
नेपाल प्रहरीले दिएको जानकारीअनुसार सोमबारसम्म विभिन्न जिल्लाबाट कुल १,३५५ जनाको शव फेला परेको छ।
सबैभन्दा बढी चितवनमा ३६३ वटा शव भेटिएका छन्। नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९६ र रसुवामा १६९ वटा शव संकलन गरिएको छ। यस्तै, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचानका लागि प्रहरी तथा फरेन्सिक टोलीले डीएनए नमुना संकलनलगायत कानुनी तथा प्राविधिक प्रक्रिया तीव्र बनाएका छन्। मृतकका १,२८० र आफन्तका १,२९० गरी कुल २,५७० वटा डीएनए नमुना संकलन गरिएको छ।
आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १,११४ वटा शवलाई पहिचान र सुरक्षित व्यवस्थापनका लागि माटोमुनि राखिएको छ। पहिचान हुन नसकेका १,३११ वटा शवको विवरण तथा हुलिया सर्वसाधारण र आफन्तको जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा अपलोड गरिएको छ।
विनाशकारी बाढीपछि झण्डै ५ हजार सम्पर्कविहीन तथा बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। बेपत्ताको खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा हालसम्म ७,९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
तर, तथ्यांक बढ्दै जाँदा पनि सुबोधका बुवाआमाजस्ता परिवारका लागि एउटा संख्या पर्याप्त हुँदैन। उनीहरूलाई आफ्नो मानिसको खबर चाहिएको छ। १३ दिनदेखि प्रतीक्षामा रहेका सुरेन्द्र र सावित्राका लागि त्यो खबर अझै आएको छैन। तर, उनीहरूले आशा भने छाडेका छैनन्। उनीहरूको एउटै विश्वास छ—हराएकाहरु जीवितै फर्किनेछन्।
यो सामग्री विविधतापूर्ण स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने गैरनाफामूलक संस्था यूआरएल कलेक्टिभ को अनुदानबाट सम्भव भएको हो।





