क्यालिफोर्नियामा मतदाता तर्साएको भन्दै सङ्घीय अदालतद्वारा होमल्यान्ड सेक्युरिटीको अनुसन्धानमा अंकुश
प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार
आउँदो नोभेम्बर ३ को निर्वाचनअघि गैर-नागरिकहरूले गर्ने सम्भावित मतदाता धाँधली रोक्ने नाममा घर-घर पुगेर सोधपुछ गर्ने र बाटोमा मानिसहरूलाई रोक्ने सङ्घीय अध्यागमन एजेन्टहरूको अभियानलाई तत्काल नियन्त्रण गर्न अमेरिकी सङ्घीय अदालतले आदेश दिएको छ।
उत्तरी क्यालिफोर्नियाकी सङ्घीय न्यायाधीश अरासेली मार्टिनेज-ओल्गिनले यो अभियानले अमेरिकी नागरिकहरूलाई तर्साएको र मतदाता अधिकार समूहहरूको काममा बाधा पुर्याएको ठहर गर्दै यसलाई रोक्नुपर्ने निर्णय सुनाएकी हुन्।
न्यायाधीश मार्टिनेज-ओल्गिनका अनुसार डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको यो कारबाहीले वैध अमेरिकी नागरिकहरूलाई समेत अनुसन्धानको घेरामा तानेको छ। यद्यपि, यो सीमाले प्रशासनलाई कानुनी माध्यमबाट हुने मतदाता धाँधलीको अनुसन्धान गर्न भने नरोक्ने उनले स्पष्ट पारीन्।
यता, होमल्यान्ड सेक्युरिटीका प्रवक्ताले भने एजेन्सीको मुख्य ध्यान मतदान गर्ने गै-नागरिकहरूलाई पहिचान गरी हटाउनु रहेको र अमेरिकी नागरिकहरूलाई सोधपुछ गर्ने कुनै योजना नरहेको दाबी गरेका छन्।
यो कानुनी विवाद ट्रम्प प्रशासन र क्यालिफोर्निया राज्यबीच चलिरहेको गम्भीर द्वन्द्वको पछिल्लो उदाहरण हो। गत हप्ता मात्र जस्टिस डिपार्टमेन्टले क्यालिफोर्नियाका निर्वाचन अधिकारीहरूविरुद्ध मुद्दा दायर गर्दै २० हजार भन्दा बढी “संभावित गैर-नागरिक” को मतपत्र अलग राख्न माग गरेको थियो।
यसबाहेक, वासिङ्टन डी.सी. को अदालतमा पनि नागरिक अधिकारवादी समूहहरू र डेमोक्रेटिक नेताहरूले ट्रम्प प्रशासनको यो कदमविरुद्ध मुद्दा हालेका छन्। उनीहरूका अनुसार, यस प्रकारको अचानक अनुसन्धान र छापा मार्ने कार्यले प्राकृतिक रूपमा अमेरिकाको नागरिकता पाएका व्यक्तिहरूमाझ त्रास फैलाएको छ।
निर्वाचन विशेषज्ञहरू र डेमोक्रेटिक नेताहरूले भने प्रशासनको दाबी आधारहीन रहेको र चुनावी परिणामलाई विवादित बनाउन त्रासको वातावरण सिर्जना गरिएको बताएका छन्। विशेषज्ञहरूले नागरिकहरूलाई नडराई आफ्नो मतदानको अधिकार प्रयोग गर्न र ढुक्क भएर चुनावमा सहभागी हुन आग्रह गरेका छन्।





