अध्यागमनमा ट्रम्पको कडा कदम: १८ महिनामा ९ लाख ८० हजार आप्रवासी देश निकाला


प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार

फोटो: होमल्याण्ड सेक्युरिटी

माइग्रेसन पोलिसी इन्स्टिच्युटको विश्लेषण अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो १८ महिनामा करिब ९ लाख ८० हजार जनालाई अमेरिकाबाट देश निकाला गरिएको छ।

यो सङ्ख्या ट्रम्प प्रशासनले वार्षिक १० लाख आप्रवासीलाई देश निकाला गर्ने राखेको लक्ष्यभन्दा केही कम हो। एमपीआइले आर्थिक वर्ष २०२५ मा करिब ६ लाख २० हजार र आर्थिक वर्ष २०२६ मा करिब ६ लाख ६० हजार आप्रवासीलाई डिपोर्ट गरिने अनुमान गरेको छ। यो सङ्ख्या बाइडेन प्रशासनको वार्षिक औसतको तुलनामा २६ प्रतिशतले बढी हो।

बिहीबार सार्वजनिक गरिएको यो विश्लेषणले जनवरी २०, २०२५ देखि जुलाई ३१, २०२६ सम्मको अवधि समेटेको छ। सङ्घीय सरकारले अध्यागमन सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न कम गरेपछि एमपीआइले अमेरिकी आइस र सीमा सुरक्षा बलको सार्वजनिक डाटाको प्रयोग गरी यो अनुमान तयार पारेको हो।

एमपीआइका अनुसार देश निकाला गरिएका कुल मानिसहरूमध्ये दुई-तिहाइभन्दा बढी मानिसहरू पहिलोपटक अमेरिकी सीमामै नियन्त्रणमा लिइएका व्यक्तिहरू थिए।

ट्रम्प प्रशासनले भने जनवरी २०२५ मा पद सम्हालेयता ३० लाखभन्दा बढी कागजातविहीन आप्रवासीहरूले अमेरिका छाडिसकेको दाबी गरेको छ। जसमा अनुमानित २२ लाख मानिसहरू स्वेच्छिक रूपमा स्वदेश फर्किएका छन्। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले सेप्टेम्बर ७ सम्ममा लगभग ११ लाख मानिसलाई डिपोर्ट गरिएको र ११ लाखभन्दा बढीलाई गिरफ्तार गरिएको जनाएको थियो। सरकारको यो तथ्याङ्क एमपीआइको विश्लेषण अवधि (जुलाई ३१) भन्दा लामो समयको हो।

अमेरिकामा अध्यागमन कानुन कडा पार्न र थप बजेट विनियोजन गरिएसँगै आइसको धरपकड र डिपोर्टेसनको दरमा तीव्र वृद्धि भएको हो। ट्रम्पको ‘वान बिग ब्युटिफुल बिल’ मार्फत अध्यागमन नियन्त्रणका लागि आइसलाई अरबौँ डलर थप बजेट उपलब्ध गराइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com