मतदाता नामावली शुद्ध पार्ने अमेरिकी अभियान:कानुनी मतदाताहरूमा त्रास
प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार
फोटो: होमल्याण्ड सेक्युरिटी
मध्यवधि चुनाव नजिकिँदै गर्दा अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका हतियारधारी र पोसाकधारी फेडरल एजेन्टहरू विभिन्न राज्यमा मानिसहरूका घर-दैलोमा पुग्न थालेका छन्। एजेन्टहरूले बासिन्दाहरूलाई उनीहरूको अध्यागमन स्थिति तथा विगतका निर्वाचनमा मतदान वा दर्ता गरे/नगरेको विषयमा सोधपुछ गरिरहेका छन् ।
यो अभियान गैर-नागरिकहरूलाई गैरकानुनी रूपमा मतदान गर्नबाट रोक्ने प्रयासको एक हिस्सा भएको बताइएको छ। डिएचएसले लगभग २५०,००० गैर-नागरिकहरू मतदाता सूचीमा दर्ता भएको हुनसक्ने दाबी गरे पनि निर्वाचन विज्ञहरूले यस तथ्याङ्कमाथि प्रश्न उठाएका छन्। जस्टीस डिपार्टमेन्टका अनुसार ट्रम्प प्रशासन सुरु भएयता जम्मा १५६ जनामाथि मात्रै भोटिङ ठगीसम्बन्धी आरोप लागेको छ। अमेरिकामा हाल २२ करोड ७० लाख दर्ता भएका मतदाता छन्।
नागरिक अधिकारवादी र कानुन व्यवसायीहरूले हतियारधारी एजेन्टहरूलाई घर-दैलोमा पठाउँदा कानुनी रूपमा योग्य मतदाताहरू डराउन सक्ने र यसले उनीहरूको सहभागितामा नकारात्मक असर पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
सेप्टेम्बर महिनादेखि तीव्र पारिएको यो अभियानअन्तर्गत क्यालिफोर्नियामा २० भन्दा बढी ग्रिन कार्ड धारकहरूलाई गैरकानुनी रूपमा भोट दर्ता वा मतदान गरेको आरोपमा गिरफ्तार गरिएको छ। त्यस्तै, क्यालिफोर्निया, जोर्जिया, मिजौरी, पेन्सिल्भेनिया, वासिङ्टन र विस्कन्सिन गरी कम्तीमा ६ वटा राज्यहरूमा एजेन्टहरूलाई खटाइएको छ।
डिएचएसका प्रवक्ताले भने वैध रूपमा अमेरिकामा बसोबास गरिरहेका र कानुन पालना गर्ने नागरिकहरू डराउनुपर्ने कुनै कारण नरहेको र गैरकानुनी भोटिङ रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।





