अमेरिकी नागरिकता त्याग्नेहरूको संख्या २०२० पछिकै उच्च विन्दुमा
प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार
अमेरिकी पासपोर्ट। फोटो: ग्लोबल रेसिडेन्स इन्डेक्स
अमेरिकी सङ्घीय दर्ताको तथ्याङ्क अनुसार विगत १२ महिनामा अमेरिकी नागरिकता र स्थायी आवासीय अधिकार (ग्रीन कार्ड) त्याग्नेहरूको संख्या सन् २०२० पछिकै उच्च विन्दुमा पुगेको छ। ग्रीनब्याक एक्स्प्याट ट्याक्स सर्भिसेजको विश्लेषण अनुसार, पछिल्लो चार त्रैमासिकमा ५,७९० जनाले अमेरिकी नागरिकता वा दीर्घकालीन स्थायी बसोबास त्यागेको विवरण ट्रेजरी डिपार्टमेन्टमा दर्ता भएको छ।
विशेष गरी अप्रिलदेखि जुनसम्मको अवधिमा नागरिकता त्याग्नेको संख्यामा तीव्र वृद्धि देखिएको छ, जहाँ १,७८१ जनाको नाम दर्ता भएको थियो-यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.५ प्रतिशतले बढी हो। यससँगै सन् २०२६ को पहिलो छ महिनामा नागरिकता त्याग्नेको कुल संख्या ३,२४३ पुगेको छ।
नागरिकता त्याग्नुका पछाडि मुख्यतया वित्तीय दायित्व, राजनीतिक असन्तुष्टि र सेवा शुल्कमा आएको परिवर्तन जस्ता कारणहरू रहेका छन्। सन् २०१० मा लागू भएको फरेन एकाउन्ट ट्याक्स कम्प्लायन्स एक्ट पछि विदेशमा बसोबास गर्ने अमेरिकीहरूका लागि वित्तीय प्रक्रिया निकै झन्झटिलो र महँगो बनेको छ।
अमेरिकाले विश्वको जुनसुकै कुनामा बसे पनि आफ्ना नागरिकहरूबाट कर असुल गर्ने नीति लिएकाले विदेशमा रहेका अमेरिकीहरूले दोहोरो कर तिर्नुपर्ने बाध्यता छ, जसले गर्दा धेरैले नागरिकता परित्याग गर्ने बाटो रोजिरहेका छन्।
यसका साथै, राजनीतिक वातावरण र हालै भएको शुल्क कटौतीले पनि यस प्रवृत्तिलाई थप प्रोत्साहन दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमन र देशको वर्तमान राजनीतिक दिशाप्रति असहमत हुँदै कतिपयले नागरिकता छाड्ने निर्णय गरेका छन्।
अर्कोतर्फ, अमेरिकी स्टेट डिपार्टमेन्टले नागरिकता त्याग्दा लाग्ने शुल्क २,३५० अमेरिकी डलरबाट ८० प्रतिशतले घटाएर ४५० डलर कायम गरेपछि नागरिकता त्याग्नेहरूको संख्यामा एक्कासि उछाल आएको हो।
अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया पूरा गर्नका लागि व्यक्ति स्वयं विदेशस्थित अमेरिकी दूतावास वा कूटनीतिक नियोगमा उपस्थित हुनुपर्छ। त्यहाँ आवश्यक फारमहरू भरेर कूटनीतिक अधिकारीसँग अन्तर्वार्ता दिनुपर्ने र औपचारिक रूपमा शपथ लिनुपर्ने कानुनी प्रावधान रहेको छ।





