पक्राउ परेका सिण्डिकेट पक्षधर व्यवसायीलाई के हुन्छ कारबाही ?


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

सिण्डिकेट पक्षधर यातायात व्यवसायीले आफ्नो गाडीहरु थन्क्याएर राखेपछि सरकारले धमाधम ब्यवसायीहरुलाई पक्राउ गरेको छ ।

शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहालगायतका धेरै व्यवसायीहरु विभिन्न जिल्लामा पक्राउ परेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले प्रमुख जिल्ला अधिकारीहरुलाई यातायात व्यवसायी पक्राउ गर्न निर्देशन दिएपछि धमाधम पक्राउ पर्न थालेका हुन् ।
सरकारले यातायात क्षेत्रलाई आवश्यक सेवामा राखी हड्ताल निषेध गरेकाले यातायात नचलाउने ब्यवसायीहरुलाई पक्राउ गरेको हो ।

आवश्यक सेवा ऐन २०१४ अनुसार नेपालमा यातायात क्षेत्रमा हड्ताल गर्न पाइदैन । उक्त ऐनको दफा ३ को उपदफा १ मा भनिएको छ ‘सार्वजनिक हितको लागि आवश्यक एवं उचित लागेमा सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएको कुनै आवश्यक सेवामा हड्ताल निषेध गर्न सक्नेछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अनुसार सरकारले यातायात क्षेत्रमा हड्ताल निषेध गरी सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ ।

यसरी निषेध गरेको क्षेत्रमा हड्ताल गर्नेलाई ६ महिना कैद वा २ सय रुपैयाँसम्म जरिवाना वा दुबै सजायको व्यवस्था छ ।

शुक्रबार पक्राउ परेका यातायात व्यवसायीलाई सरकारले आवश्यक सेवा ऐन अनुसार कारबाही गर्ने बताएको छ । यदि सरकारले यसै ऐन अनुसार कारबाही गरेमा उनीहरुलाई ६ महिना कैद वा २ सय रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्नेछ । यद्यपी सरकारले आवश्यक सेवा ऐनअनुसार मुद्दा चलाउने वा नचलाउने हेर्न बाँकी नै छ ।

हड्ताल गर्न कसैलाई उक्साएमा १ वर्ष कैद र १००० हजार रुपैयासम्म जरिवाना हुनसक्नेछ । हड्तालका लागि चन्दा वा नगद सहायता दिनेलाई पनि १ वर्ष कैद र १ हजार रुपैयाँ जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com