गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण, पसलबाट थुतेर लैजान्छन् सामान


प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार

तम्घास/ गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिँड्छन् । आफ्नो वास्तविक ठेगाना र उमेर पनि थाहा नभएका उनी अन्दाजी आठ वर्षका देखिन्छन् । घरमा बुवा, आमा, दिदी र दाई छन् । तीमध्ये दाई हिमाल र उनीसँगै बजारमा पैसा माग्न हिँड्छन् भने बुवा पल्लेदारका रूपमा काम गर्दछन् ।

“दिनभर पैसा माग्छौँ, एक जनाले  पाँचदेखि ४० सम्म दिन्छन्”, उनीले भने – “मागेको पैसा घरबेटीलाई भाडा बुझाउन आमालाई दिन्छौँ ।” उनी खानीगाउँस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत छन् । तिहारपछि विद्यालय सञ्चालन भइरहेको छ तर दिदीले विद्यालयमा नभई पैसा माग्न पठाएर आफू बजारमा हिँडेको उनले बताए ।

हिमालले विद्यालय सञ्चालन हुने/नहुनेबारे आफूहरूलाई केही थाहा नहुने र रातिमा बाहेक अन्य समयमा आफूहरु कहिले समूहमा त कहिले एक्लै पैसा माग्न जाने गरेको बताए ।

सागर र हिमाल त बजारमा माग्दै हिँड्ने सडक बालबालिकाका प्रतिनिधिमूलक पात्र मात्रै हुन । उनीहरुजस्ता कतिपय बालबालिका अझै पनि जीवन गुजाराकै लागि बजारमा कसैले फालेका फलफूल एवं खानेकुरा खान्छन् । होटलबाट फालिएको खाना, खाएर फालेको फलफूल, ढलमा फ्याँकिएका वस्तुलगायतका खाद्यान्न एवं नगद आउने सामग्री बालबालिकाका जीवन गुजार्ने माध्यम बनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सदरमुकाम तम्घासको उदिनढुङ्गा, मिलनचोक, भीमचोक, लाकुरीमञ्च, खानिगाउँ, बसपार्कलगायतका ठाउँ बालबालिकाका लागि पैसा माग्ने मुख्य ठाउँ हुन् । बसपार्क र उदिनढुङ्गामा मानिसहरु सवारी चढ्ने/ओर्लने भएकाले बालबालिकाको बढी भीड हुन्छ । तम्घासमा पैसा माग्दै हिँड्नेमध्ये अधिकांशका बाबुआमा छन् । उनीहरुले राम्रो हेरचाह नगर्दा अहिले सडकमा बालबालिका मगन्ते जीवन बिताइरहेका छन् । सडक बालबालिकाले पैसा माग्दा कतिपयले कुटपिटसमेत गर्दछन् । जसका कारण सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

पसलबाट सामान लैजान्छन् : व्यापारी

बालबालिकाले बाटोमा हिँड्ने मानिस र व्यापारीसँग पैसा माग्ने मात्रै होइन्, पसलबाट खानेकुरासमेत लैजान्छन् । व्यापारीका आँखा छलेर चाउचाउ, दालमोठ, बिस्कुटलगायतका खानेकुरा आफैँले झिक्ने गरेका छन् । “म नभएका बेला आफैँ झिकेर कैयौँपटक लगे, बालबालिका भएकाले कुटपिट गर्न मानवताले दिएन”, बसपार्कमा किराना पसल सञ्चालन गर्दै आएका हरि पाण्डेले भने, “सडक बालबालिकाको उचित व्यवस्थापन जरुरी छ ।” तत्काल नै यस्ता बालबालिकाको व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो समस्या झेल्नुपर्ने बताए ।

राज्यले सहयोग गर्नुप-र्यो  : अभिभावक

धुर्कोट गाउँपालिका–७ वाग्लाका ३२ वर्षीया रमेश विश्वकर्माले घर छोडेको १३ वर्ष भयो । रोजगारीका लागि बीचमा केही समय भारतमा गएका  उनी पछिल्लो केही वर्षयता तम्घासमै बस्दै आएका छन् । बसपार्कमा उनी र श्रीमतीसहित दुई छोरा र दुई छोरी बस्दछन् । तीमध्ये सात वर्षीय छोरा र एक छोरी बिहानदेखि बेलुकीसम्म बजारमा पैैसा माग्न हिँड्न गरेको उनले बताए। “मैले दिनभर काम गरेको पैसाले बिहान–बेलुका खान पनि मुस्किलले पुग्छ”, उनले भने, “केटाकेटीलाई पढाउन खर्चले पुग्दैन ।” छोराछोरीलाई माग्न पठाउने आफ्नो रहर नभई बाध्यता भएको सुनाए ।

विद्यालय पठाउने तयारीः प्रहरी

बजारमा बालबालिका छोड्नेका अभिभावक तम्घासमै पल्लेदारका रुपमा काम गर्छन् । उनीहरुले ज्यालादारी गरेर दैनिक ७०० देखि एक हजारसम्म आम्दानी गर्छन् । अधिकांश अभिभावकले दिनभर कमाएको पैसाले मादक पदार्थ सेवन गर्छन् । जसले गर्दा बालबालिकाको व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले बालबालिकाले पसलमा चोरी गरेको निवेदन कार्यालयमा आउने गरेको बताए । त्यसका साथै मोटरसाइकलमा क्षति गरेको, जबर्जस्त पैसा लगेको जस्ता उजुरी कार्यालयमा आउने गरेको उनको भनाइ छ ।

तम्घासमा माग्दै हिँड्ने १३ जना बालबालिका रहेको र उनीहरुलाई रेसुङ्गा नगरपालिका–८ को वडा कार्यालयको समन्वयमा सिद्धबाबा माध्यमिक विद्यालयमा पढाउने तयारी भइरहेको सूचना अधिकारी पाण्डेले बताए । “तेह्र जनामध्ये दुई जनाका मात्र अभिभावक छैनन्, बाँकी ११ जनाका अभिभावक भएर पनि स्याहार नगरेका हुन्”, उनले भने, “अहिलेलाई विद्यालय पठाउने तयारी भइरहेको छ ।” त्यसका साथै उनले राज्यले नै एउटा नीति बनाएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेलले स्थानीय तहले बालबालिकाको जिम्मेवारी लिनुपर्ने र नभए परिवार स्वयंले लिनुपर्नेमा जोड दिए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com