अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्दै तराई-मधेशदेखि राजधानीसम्म श्रद्धा र उल्लासका साथ मनाइयो छठ पर्व
फोटो : दिपेन्द्र ढुंगाना/खसोखास
काठमाडौं । लोकआस्था, प्रकृतिप्रतिको सम्मान र कठोर अनुशासनको पर्व छठ तराई-मधेशलगायत देशभर हर्षोल्लासका साथ मनाइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म चल्ने यस महासमारोहमा व्रतालुहरूले श्रद्धा र निष्ठापूर्वक सूर्यदेव र छठी माताको पूजाआराधना गरेका छन्।

चारदिने यस अनुष्ठानअन्तर्गत आइतबार साँझ राजधानीको गुह्येश्वरी, गौरीघाट, कमलपोखरी तथा विराटनगरको सिँगिया र केसलिया खोला किनारलगायत देशभरका विभिन्न जलाशय, पोखरी र नदी किनारमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरिएको छ।

छठको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीका दिन व्रतालुहरूले स्नान गरी घर तथा पूजास्थल शुद्ध पार्दै सात्त्विक भोजन ग्रहण गरी व्रतको संकल्प गरेका थिए।
दोस्रो दिन व्रतालुहरू दिनभर उपवास बसी साँझ स्नान गरी शुद्ध गाईको दूध र सखर प्रयोग गरी पकाइएको खीर र लौकाको तरकारी छठी मातालाई चढाएर प्रसाद ग्रहण गरेका थिए। यससँगै उनीहरूको निर्जल उपवास सुरु भएको थियो।

तेस्रो दिन व्रतालुहरूले पानीसमेत नपिई कठोर निराहार व्रत बसि साँझपख बाँसबाट निर्मित ढकिया तथा नाङ्लोमा ठेकुवा, भुसुवा, केरा, उखु, नरिवललगायतका मौसमी फलफूल र पूजासामग्री सजाइ पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यनारायणलाई पहिलो अर्घ्य अर्पण गरे। यस दिन रातभर नदी तथा तलाउ किनारमा जाग्राम बसी भजनकीर्तन गर्ने परम्परा रहिआएको छ।

चौथो तथा अन्तिम दिन ब्रह्ममुहूर्तमा व्रतालुहरू पुनः जलाशयमा उपस्थित भई उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। त्यसपछि प्रसाद ग्रहण गरी व्रत पूर्ण गरिन्छ।
पौराणिक ग्रन्थ महाभारतअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए। त्यस्तै, सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेर अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्। यस पर्वमा सूर्यको प्रकाशबाट शरीरमा भिटामिन डी प्राप्त हुने र चर्मरोग निको हुने जनविश्वाससमेत रहिआएको छ।

२०४६ सालदेखि नेपाल सरकारले यस पर्वमा राष्ट्रिय बिदा दिँदै आएको छ। कुनै समय तराईको सीमित क्षेत्रमा मात्रै सीमित रहेको छठ पर्व अहिले मधेसी, पहाडीलगायत सम्पूर्ण नेपालीको साझा सांस्कृतिक र राष्ट्रिय पर्वका रूपमा स्थापित भइसकेको छ। यस पर्वले समाजमा उचनीच र धनीगरीबको भेद अन्त्य गर्दै सबैलाई समान व्यवहार गर्नुपर्ने समानताको संदेश दिन्छ।





