मध्यावधि निर्वाचनमा शानदार जितपछि राष्ट्रपति ट्रम्पसँग सहकार्य गर्ने कि सङ्घर्ष भन्नेमा डेमोक्रेटिक पार्टीभित्र तीव्र बहस
Photo: Simon Gagner/ Unsplash
मध्यावधि निर्वाचनमा ऐतिहासिक जित हासिल गरेलगत्तै अमेरिकाको डेमोक्रेटिक पार्टीका नेताहरू यस साता कोलोराडोको डेनभरमा भेला भएका छन्। महँगी नियन्त्रण गरी मतदातालाई राहत दिने विषयमा एकमत देखिए पनि, त्यसको कार्यान्वयन कसरी गर्ने, चुनावी जितबाट कस्तो पाठ सिक्ने र राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कस्तो नीति अख्तियार गर्ने भन्ने विषयमा पार्टीभित्र स्पष्ट विभाजन देखिएको छ।
नोभेम्बर ३ मा भएको निर्वाचनमा रिपब्लिकन पार्टीलाई पराजित गरेपछि आयोजित पहिलो ठूलो भेलामा पार्टीका मध्यमार्गी र प्रगतिशील धारबीच तनाव सतहमा आएको हो। सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवार र वरिष्ठ नेताहरू सहभागी ‘मेजोरिटी डेमोक्रेट्स’ द्वारा आयोजित उक्त सम्मेलनमा चुनावी सफलतालाई शासन सञ्चालनको एजेन्डामा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा गम्भीर बहस भएको छ।
सम्मेलनमा क्यालिफोर्नियाका सांसद तथा सम्भावित राष्ट्रपतीय उम्मेदवार रो खन्नाले पार्टी अब राजनीतिक मध्यमार्गको पछि लाग्न छोडेर साहसिक प्रगतिशील एजेन्डामा जानुपर्ने बताए। उनले विश्वव्यापी स्वास्थ्य सेवा, सम्पत्ति कर, न्यूनतम ज्याला प्रतिघण्टा २५ डलर, रक्षा बजेटमा भारी कटौती र आइस खारेज गर्नुपर्ने प्रस्ताव अघि सारे।
यसको विपरीत, पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले पार्टी वैचारिक कसीभन्दा माथि उठ्नुपर्ने तर्क गरे। मतदातालाई वैचारिक बहसभन्दा पनि डेमोक्रेटिक पार्टीले कस्तो नतिजा दिन्छ भन्नेमा मात्र चासो रहेको उनको भनाइ थियो। डेमोक्रेटिक रणनीतिकार इलेन कामार्कले भनिन्, यो जित यति व्यापक छ कि यसमा मध्यमार्गी, दक्षिणी डेमोक्रेट र प्रगतिशील सबै अटाएका छन्, त्यसैले पार्टीको भविष्यबारे ठूलो बहस हुनु स्वाभाविक हो।
ह्वाइट हाउसमा अझै दुई वर्ष ट्रम्पकै कार्यकारी अधिकार र भिटो शक्ति कायम रहने भएकाले उनीसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा नेताहरू दुई कित्तामा बाँडिएका छन्।
सन् १९८८ पछि टेक्सासबाट अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो डेमोक्रेट जेम्स टालारिको र आयोवाका नवनिर्वाचित गभर्नर रब स्यान्डले ट्रम्पसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए। टालारिकोले ट्रम्पको कार्यकालको अन्तिम दुई वर्षलाई अमेरिकी इतिहासकै सबैभन्दा फलदायी बनाउनुपर्ने बताए। स्यान्डले पनि दलीय युद्धले नतिजा नदिने भन्दै रिपब्लिकनहरूसँग मिलेर समस्या समाधान गर्नुपर्ने धारणा राखे।
तर, त्यसको केही मिनेटमै मेरिल्याण्डका सांसद जेमी रस्किन र पूर्वमहान्यायाधिवक्ता एरिक होल्डरले ट्रम्पसँगको सम्झौतालाई अस्वीकार गरे। आगामी जनवरीमा हाउस जुडिसियरी कमिटीको अध्यक्ष बन्ने अपेक्षा गरिएका रस्किनले रिपब्लिकन पार्टी व्यक्तिपूजामा आधारित अधिनायकवादी बनेको आरोप लगाउँदै कंग्रेसको अधिकार पुनर्स्थापित गर्ने र ट्रम्पविरुद्ध संविधान लागू गर्ने चेतावनी दिए। होल्डरले पनि संस्थाहरू भत्काउनेहरूसँग सहकार्य खोजे पार्टी असफल हुने बताए।
हाउस स्पिकर बन्ने तयारीमा रहेका न्युयोर्कका सांसद हकिम जेफ्रिज, पूर्वयातायातमन्त्री पिट बुटिजिगलगायतका नेताहरूले कामदार परिवारको जीवनस्तर उकास्नु नै मुख्य प्राथमिकता भएको बताए। यद्यपि, मध्यमार्गी छविका जेफ्रिजलाई सम्मेलनमा प्रदर्शनकारीहरूले अवरोध गर्दै थप प्रगतिशील बन्न दबाब दिएका थिए।
एरिजोनाका सिनेटर रुबेन ग्यालेगोले सन् २०२४ मा ट्रम्पलाई मत दिएका धेरै हिस्पानिक मतदाताले यसपटक डेमोक्रेटलाई साथ दिएको उल्लेख गर्दै यो जित स्थायी नभएको चेतावनी दिए। उनले भने, यो डेमोक्रेटिक पार्टीलाई दिइएको प्रेमपत्र होइन, बरु एउटा अल्पकालीन ऋण हो, जसलाई हामीले काम गरेर तिरिरहनुपर्छ, नत्र हामीले यो गुमाउनेछौँ।
हालसम्मको मतपरिणामअनुसार अमेरिकी तल्लो सदनमा डेमोक्रेटिक पार्टीले कम्तीमा २५५ र रिपब्लिकनले १६९ सिट जित्ने प्रक्षेपण गरिएको छ भने १२ सिटको नतिजा आउन बाँकी छ। त्यस्तै, सिनेटमा डेमोक्रेटको ५५ र रिपब्लिकनको ४४ सिट हुने देखिएको छ।





