वासिङ्टन डीसीस्थित गल्फ कोर्स पुनर्निर्माण गर्ने ट्रम्पको योजनामा संघीय न्यायाधीशको रोक
Photo: Nick Beard/ Unsplash
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीस्थित एक सार्वजनिक गल्फ कोर्स पुनर्निर्माण गर्ने योजनामाथि संघीय न्यायाधीशले शनिबार राति रोक लगाएकी छन् । आइतबारदेखि मर्मतसम्भारका लागि भन्दै कोर्स बन्द गर्ने ट्रम्पको घोषणापछि अमेरिकी जिल्ला न्यायाधीश आना सी. रेयेसले अस्थायी आदेश जारी गर्दै प्रशासनलाई उक्त गल्फ कोर्स खुला राख्न निर्देशन दिएकी हुन् ।
न्यायाधीश रेयेसले ‘इस्ट पोटोम्याक गल्फ लिङ्क्स’ लाई च्याम्पियनसिप कोर्सका रूपमा स्तरोन्नति गर्ने प्रशासनको कदमले वातावरणीय कानुनको उल्लंघन गरेको र कार्यकारी शाखाको कार्यविधिगत मापदण्ड नाघेको ठहर गरेकी छन् । वासिङ्टनलाई आफ्नो रुचिअनुसार पुनर्संरचना गरी विरासत छोड्ने ट्रम्पका विभिन्न निर्माण परियोजनामध्ये यो पनि एक हो ।
मुद्दाको सुनुवाइका क्रममा जस्टिस डिपार्टमेन्टले नोभेम्बर १५ देखि सुरक्षाका कारण कोर्स बन्द गर्न लागिएको भनी दिएको तर्कलाई न्यायाधीश रेयेसले ‘बहाना मात्र’ भएको बताएकी छन् । उनले आदेशमा लेखेकी छन्, सरकारले सबै वर्गका वासिङ्टनवासीले दैनिक उपभोग गरिरहेको ऐतिहासिक पार्कलाई अनिश्चितकालका लागि बन्द गर्ने प्रस्ताव गरेको छ ।यसले मुद्दाका वादी अर्थात् व्यक्तिगत गल्फ खेलाडी र संरक्षणकर्मीहरूलाई ‘अपूरणीय क्षति’ पुग्ने उनको निष्कर्ष छ ।
न्यायाधीश रेयेस र ट्रम्प प्रशासनबीच महिनौँदेखि चलिरहेको कानुनी लडाइँको यो पछिल्लो कडी हो । यस प्रकरणमा ट्रम्पले सामाजिक सञ्जालमा न्यायाधीशको आलोचना गरेका छन् भने रेयेसले सरकारी वकिलहरूले आफूलाई गुमराहमा पारेको हुन सक्ने संकेत गरेकी छन् ।
कोर्सको स्वरूप परिवर्तन गर्दा संघीय वातावरणीय नियम उल्लंघन हुने र सर्वसाधारणको पहुँच घट्ने भन्दै संरक्षणकर्मी र गल्फ खेलाडीहरूले मुद्दा दायर गरेका थिए ।जस्टिस डिपार्टमेन्टले न्यायाधीश रेयेसलाई यस मुद्दाबाट हटाउन गरेको प्रयाससमेत असफल भएको थियो ।
गल्फका सौखिन ट्रम्पले गत मे महिनामा पहिलोपटक उक्त सार्वजनिक गल्फ कोर्सलाई विस्तार गर्ने प्रस्ताव सार्वजनिक गरेका थिए । लगत्तै उनी इन्टेरियर सेक्रेटरी डग बर्गम र ट्रम्पका निजी गल्फ कोर्स डिजाइन गरिसकेका चर्चित डिजाइनर टम फाजियोका साथ उक्त क्षेत्रको भ्रमणमा देखिएका थिए । राष्ट्रपतिले सेप्टेम्बर १ बाट काम सुरु हुने बताएपछि कानुनी चुनौती थप तीव्र बनेको थियो ।
शनिबार पनि ट्रम्पले उक्त परियोजनाको बचाउ गर्दै आफूले फोहोरको टापु भन्ने गरेको सो क्षेत्रका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले लेखेका छन्, “दुर्भाग्यवश, न्यायाधीश आना रेयेस हामीले छिटो र कम खर्चमा यो कोर्स मर्मत गरेको देख्न चाहँदिनन्, जुन निकै खतरनाक पनि छ-यहाँका फेयरवेहरू एकअर्कासँग निकै नजिक छन् ।”
पछिल्ला महिनाहरूमा न्यायाधीश रेयेसले प्रशासनप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आएकी छन् । गत अक्टोबरमा पनि न्यूनतम सूचनाका भरमा ४ सयभन्दा बढी रूख काटिएपछि उनले रूख कटान रोक्न कडा आदेश जारी गर्दै पूर्वसूचनाको नयाँ मापदण्ड तोकेकी थिइन् । त्यतिबेलाको सुनुवाइमा उनले सरकारी वकिलहरूसँग प्रश्न गरेकी थिइन्, मलाई योजना वा समयतालिकाबारे झुटो बोलिएको हो कि होइन भन्ने प्रश्न यहाँ उठेको छ ।
शनिबार रातिको आदेशमा न्यायाधीश रेयेसले नेसनल पार्क सर्भिसले पुनर्निर्माणअघि कानुनबमोजिम सर्वसाधारणलाई पूर्वसूचना दिने र उनीहरूको राय संकलन गर्ने प्रक्रिया पूरा नगरेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, एनपीएसले राष्ट्रपति ट्रम्पलाई खुसी पार्न र नोभेम्बर १५ सम्ममा पार्क बन्द गर्न चाहँदैमा सार्वजनिक सूचना र राय संकलन गर्ने नियम अव्यावहारिक हुँदैन ।
ट्रम्प प्रशासनले सामना गरिरहेका अन्य ठूला कानुनी लडाइँको तुलनामा यो विषय सानो देखिए पनि अदालतको आदेश पालना गर्न प्रशासनले आनाकानी गरेको यो अर्को उदाहरण बनेको छ । ट्रम्पका अन्य योजनाहरू-जस्तै केनेडी सेन्टरको नाम परिवर्तन गर्ने, पोटोम्याक नदी किनारमा विजय द्वार बनाउने र बालरुम निर्माण गर्ने कार्यले पनि कानुनी चुनौती खेपिरहेका छन् ।





