७ मंसिर २०८३, सोमबार| Monday, November 23, 2026
अध्यागमन

आप्रवासी भिसा अन्तर्वार्तामा ‘पब्लिक चार्ज’सम्बन्धी विस्तृत प्रश्न, आवासदेखि स्वास्थ्य बीमासम्म विवरण माग

अन्तर्वार्ताअघि दिइने प्रश्नावलीमा बसोबास, रोजगारी, स्वास्थ्य बीमा, सम्पत्ति, ऋण र सरकारी सहायता लिएको इतिहासबारे विवरण मागिएको छ।

यो समाचार सुन्नुहोस्0:00 / --:--

विभिन्न अमेरिकी दूतावास तथा वाणिज्य दूतावासमा आप्रवासी भिसाका आवेदकलाई अन्तर्वार्ताअघि उपलब्ध गराइएका ‘पब्लिक चार्ज’ सम्बन्धी प्रश्नका नमुना अमेरिकी विदेश मन्त्रालयसँग समन्वय गर्ने डीओएस लियाजन कमिटीले प्राप्त गरेको छ। ती नमुनामा अमेरिकामा बस्ने व्यवस्था, रोजगारी, स्वास्थ्य बीमा, सम्पत्ति र सरकारी सहायता लिएको इतिहासबारे विस्तृत प्रश्न समावेश छन्।

जसमा अन्तर्वार्ताअघि तयारीका लागि उपलब्ध गराइएका प्रश्नावली, अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको विवरण र वकिलले सेवाग्राहीलाई तयारी गराउन प्रयोग गर्ने कार्यपत्रसमेत समावेश छन्।

यी सामग्रीमा मुख्यतः आवेदकले अमेरिका पुगेपछि आफ्नो जीवनयापनको खर्च कसरी धान्छन् र सार्वजनिक सहायतामा निर्भर हुनुपर्ने अवस्था कसरी टार्छन् भन्ने विषयमा चासो राखिएको छ। यद्यपि, प्रश्नको दायरा र विवरण पेस गर्ने प्रक्रियामा स्थानअनुसार भिन्नता देखिन्छ।

कहाँ बस्ने, के काम गर्ने र स्वास्थ्य बीमा कसरी लिने?

फ्रान्सस्थित अमेरिकी दूतावासको प्रश्नावलीमा आवेदक अमेरिकामा कहाँ बस्ने, सम्भव भए ठेगाना खुलाउने र त्यहाँ अरू कोको बस्छन् भन्ने प्रश्न छन्। वयस्क आवेदकले गर्न चाहेको काम, त्यसका लागि आवश्यक शिक्षा तथा अनुभव, थप तालिम वा व्यावसायिक अनुमतिपत्र लिनुपर्ने अवस्था र पहिलो वर्षमा अपेक्षित आम्दानीबारे पनि जानकारी तयार राख्न भनिएको छ।

थप तालिम वा अनुमतिपत्र आवश्यक पर्ने भए त्यस अवधिमा आवेदक र सँगै जाने परिवारका सदस्यको खर्च कसले बेहोर्छ भन्ने प्रश्नसमेत राखिएको छ। स्वास्थ्य बीमासम्बन्धी प्रश्नमा हालको बीमाले अमेरिकामा उपचार खर्च समेट्छ कि समेट्दैन, परिवारका अन्य सदस्यको बीमामा थपिन मिल्छ कि मिल्दैन र नयाँ बीमा योजना लिनुपरे मासिक शुल्क कति पर्छ भन्ने विवरण मागिएको छ।

लन्डनसँग सम्बन्धित एउटा सामग्रीमा लगानी, घरको स्वामित्व मूल्य र अन्य आर्थिक स्रोतसँगै घरकर्जा, व्यक्तिगत ऋण, सम्बन्धविच्छेदपछि तिर्नुपर्ने भरणपोषण तथा सन्तानको पालनपोषण खर्चबारे प्रश्न छन्। अर्को विवरणमा अन्तर्वार्ताका क्रममा घरमा बस्ने व्यक्तिको संख्या, सुत्ने कोठाको संख्या, हालको तलबको प्रमाण र बेलायतमा कुनै सरकारी सहायता लिएको इतिहासबारे सोधिएको उल्लेख छ।

प्रायोजक र सहप्रायोजकको आर्थिक अवस्थाबारे पनि प्रश्न

जमैकाको किङ्स्टनस्थित अमेरिकी दूतावाससँग सम्बन्धित प्रश्नावली अमेरिकी नागरिकका सन्तानका लागि जारी गरिने आईआर–२ आप्रवासी भिसा प्रक्रियामा थप विवरण माग्ने प्रकृतिको छ। त्यसमा सन्तानको पढाइ वा रोजगारीको योजना, स्वास्थ्य अवस्था, उपचार खर्च र स्वास्थ्य बीमाको व्यवस्थाबारे प्रश्न छन्।

प्रश्नावलीमा आवेदकका लागि निवेदन दिने व्यक्तिको कर कटाएपछिको वार्षिक आम्दानी, परिवारका अन्य कमाउने सदस्य, सम्पत्ति, ऋण र आर्थिक रूपमा आश्रित व्यक्तिको विवरणसमेत मागिएको छ। आवेदक वा निवेदकले हाल वा विगतमा सरकारी सहायता लिएको भए त्यसको प्रकार, अवधि र त्यसयता परिस्थितिमा आएको परिवर्तन खुलाउन भनिएको छ। उदाहरणका रूपमा डब्लूआईसी, स्न्याप र खाद्य बैंकसमेत उल्लेख गरिएका छन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

सहप्रायोजकको आम्दानीलाई आर्थिक आधारका रूपमा प्रस्तुत गरिएको अवस्थामा उनीसँगको सम्बन्ध, चिनजानको अवधि, बसोबास गर्ने राज्य, विगतमा अन्य आप्रवासीलाई प्रायोजन गरेको इतिहास र सार्वजनिक सहायता लिएको विवरणबारे पनि प्रश्न राखिएका छन्। अपूर्ण विवरणले भिसा प्रक्रियामा उल्लेख्य बाधा पुर्‍याउन सक्ने चेतावनीसमेत प्रश्नावलीमा दिइएको छ।

अवकाश तथा दीर्घकालीन हेरचाहमा चासो

दोहास्थित अमेरिकी दूतावासको पुनः अन्तर्वार्ताको तयारीसम्बन्धी सामग्रीमा उमेर, बाँकी कामकाजी वर्ष, बचत गर्न सक्ने अवस्था र अवकाशपछि उपलब्ध हुने आर्थिक स्रोतबारे प्रश्न छन्। आवेदकले आफ्नो देशबाट पेन्सन पाउने भए त्यसको रकम, योग्यता र अमेरिकामा बसेर कसरी प्राप्त गर्ने भन्ने विवरण मागिएको छ।

त्यहाँको सामग्रीमा स्वास्थ्य परीक्षणका क्रममा देखिएका रोग, अमेरिकामा उपचार गराउने योजना, उपचार खर्च बेहोर्ने स्रोत र आश्रित परिवारका सदस्यको विशेष स्वास्थ्य आवश्यकताबारे पनि सोधिएको छ। सहप्रायोजकको आर्थिक विवरण विश्वसनीय छ कि छैन, आवश्यक परेको अवस्थामा आर्थिक सहयोग उपलब्ध गराउन सक्छन् कि सक्दैनन् र यसअघि कतिजनालाई प्रायोजन गरेका छन् भन्ने विषयसमेत समेटिएको छ।

म्याड्रिडको प्रश्नावलीमा काम गर्ने उमेरका आवेदकका लागि रोजगारी र योग्यतासम्बन्धी प्रश्न छन् भने अवकाश उमेरका आवेदकसँग विदेशबाट प्राप्त हुने पेन्सनको विवरण मागिएको छ। दीर्घरोगको उपचार, स्वास्थ्य बीमाका विकल्प र वृद्धावस्थामा हेरचाह गर्ने परिवारका सदस्य नभए वैकल्पिक व्यवस्था के हुने भन्नेसमेत सोधिएको छ।

सामग्रीको प्रकृति र प्रयोग फरक–फरक

संकलनमा समावेश सामग्रीको प्रकृति र प्रयोग फरक–फरक छ। लन्डन र म्याड्रिडका अन्तर्वार्तापूर्वका निर्देशनमा ‘पब्लिक चार्ज’ सम्बन्धी चासो सम्बोधन गर्ने लिखित विवरण स्वेच्छाले बुझाउन सकिने उल्लेख छ। किङ्स्टनको सामग्रीमा भने पूरा गरिएको प्रश्नावली कन्सुलर इलेक्ट्रोनिक एप्लिकेसन सेन्टरमा अपलोड गर्न निर्देशन दिइएको छ।

डकारसँग सम्बन्धित सामग्री वकिलले सेवाग्राहीका उत्तर समीक्षा गरी दूतावासका लागि विवरण तयार गर्न प्रयोग गर्ने कार्यपत्र हो। त्यसमा केही प्रश्न दूतावासले सूचीबद्ध गरेका विषयभन्दा अतिरिक्त रहेको स्पष्ट पारिएको छ। बोगोटाको सामग्री भने अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको विवरण हो। त्यसमा बैंक खाताको मौज्दात, घरजग्गा, ऋण र स्वास्थ्य बीमासम्बन्धी विस्तृत विवरण मागिएको उल्लेख छ।

लेखक किशोर पन्थी

किशोर पन्थी ‘खसोखास’ र ‘नेपयोर्क’ का संस्थापक तथा प्रधानसम्पादक हुन्। उनी ‘कम्पन’, ‘अनट्रान्सलेटेबल’ र ‘जिरो माइल’ गरी तीन पुस्तकका लेखक हुन्। उनी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिबारे लेख्छन्। पन्थीले न्युयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी-नेपाली डायस्पोरामा पत्रकारिता गरिरहेका छन्।

यस लेखकका थप समाचार →