२ मंसिर २०८३, बुधबार| Wednesday, November 18, 2026
नेपालबाहिरको नेपाल

न्युयोर्क सहरको भीडभन्दा टाढा कुखुरा र बाख्रा पाल्दै अमेरिकामा कृषक बनेका एभरेस्ट केसी

खसीबोका र कुखुराका लागि परिचित मुनमिरा फार्म नेपाली समुदायको आकर्षण: सन् २०१८ देखि कृषि व्यवसायमा सक्रिय केसीको फार्म नेपाली समुदायका लागि बिदा मनाउने, क्याम्पिङ गर्ने र प्रकृतिसँग रमाउने गन्तव्य बनेको छ।

न्युयोर्कको साउथ कोर्टराइटस्थित मुनमिरा फार्मका सञ्चालक एभरेस्ट केसी। सन् २०१८ देखि कृषि तथा पशुपालन व्यवसायमा सक्रिय केसी करिब १०० रोपनी क्षेत्रफलमा फैलिएको फार्म सञ्चालन गर्दै आएका छन्।

न्युयोर्क —अमेरिकामा नेपाली समुदायका धेरैजसो मानिस रोजगारी, व्यवसाय र अन्य पेसामा व्यस्त भइरहेका बेला एभरेस्ट केसीले भने फरक बाटो रोजेका छन्। न्युयोर्कको व्यस्त सहरी जीवनबाट टाढा, अपस्टेट न्युयोर्कको ग्रामीण परिवेशमा उनी माटोसँग खेलिरहेका छन्। उनको परिचय अहिले एउटा नेपाली आप्रवासी व्यवसायीको मात्रै छैन, अमेरिकामा कृषि कर्म गरिरहेका नेपाली कृषकको पनि हो।

न्युयोर्क राज्यको साउथ कोर्टराइटमा रहेको ‘मुनमिरा फार्म’ केसीको यही प्रयासको परिणाम हो। करिब १०० रोपनी क्षेत्रफलमा फैलिएको यो फार्म कृषि उत्पादनसँगै खसीबोका र कुखुराका लागि पनि परिचित छ। सन् २०१८ देखि कृषि व्यवसायमा सक्रिय केसीले आफ्नो फार्मलाई नेपाली समुदायका लागि ग्रामीण जीवन र कृषि अनुभवसँग जोडिने गन्तव्यका रूपमा पनि विकास गरेका छन्।

“हामी नेपाललाई कृषि प्रधान देश भन्छौँ। तर अमेरिकाको कृषि क्षेत्रमा नेपालीको उपस्थिति त्यति देखिँदैन,” केसीले खसोखाससँगको कुराकानीमा भने, “नेपाली पनि कृषक हुन् भनेर देखाउन र यहाँका अमेरिकी कृषकहरूसँग सहकार्य गर्न सकिन्छ भन्ने लागेर म यो क्षेत्रमा आएको हुँ। भविष्यमा पनि नेपाल कृषि प्रधान देश हो भनेर चिनाउन चाहन्छु।”


न्युयोर्कको साउथ कोर्टराइटस्थित मुनमिरा फार्ममा पालिएका खसीबोकाहरू। कृषि उत्पादनसँगै पशुपालनका लागि पनि परिचित यो फार्म नेपाली समुदायका लागि आकर्षणको केन्द्र बनेको छ।

माटो, पशुपालन र कृषि व्यवसाय

अमेरिकामा नेपाली आप्रवासीहरूका लागि रोजगारीका अनेक विकल्प छन्। धेरैले रेस्टुरेन्ट, यातायात, सूचना प्रविधि र अन्य व्यवसाय रोजिरहेका छन्। केसीले भने कृषि र पशुपालनमा सम्भावना देखे।

मुनमिरा फार्ममा कृषि उत्पादनका अतिरिक्त खसीबोका र कुखुरापालन पनि प्रमुख गतिविधिका रूपमा रहेका छन्। विशेषगरी नेपाली समुदायका ग्राहकका लागि फार्ममा उपलब्ध खसीबोका र कुखुराले यसलाई अलग पहिचान दिएको छ। नेपाली खानपान र चाडपर्वसँग जोडिएको खसीको मासुको मागलाई ध्यानमा राख्दै फार्ममा ग्राहकले खसीबोका तथा कुखुराबारे जानकारी लिन र आवश्यकताअनुसार सेवा लिन सक्ने केसी बताउँछन्।

उनका लागि खेतीपाती र पशुपालन केवल आम्दानीको माध्यम होइन। प्रकृतिसँग नजिक रहने, माटोसँग काम गर्ने र स्वास्थ्यका दृष्टिले पनि उपयोगी जीवनशैली अपनाउने अवसर हो।

मुनमिरा फार्ममा पालिएका कुखुराहरू।

अमेरिकी कृषकहरूले आधुनिक उपकरण र प्रविधिको प्रयोग गरेर खेती गरेको देख्दा आफूलाई यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनी बताउँछन्। अमेरिकामा आवश्यक कृषि उपकरण, ट्र्याक्टर र अन्य मेसिनरी सहज रूपमा उपलब्ध हुने भएकाले खेतीलाई व्यवस्थित ढंगले अघि बढाउन सकिने उनको अनुभव छ।

“यहाँका मानिसहरूसँग सबै सुविधा हुँदाहुँदै पनि उनीहरू कृषि क्षेत्रमा मेहनत गरिरहेका छन्। हामी त झन् कृषि प्रधान देशबाट आएका मानिस हौँ। हामीले किन नगर्ने भन्ने लाग्यो,” उनले भने।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

कृषि व्यवसायमा मेहनत र समय दुवै चाहिने उनी स्वीकार गर्छन्। यसबाट जीवनयापन गर्न सकिने भए पनि आफ्नो आम्दानीको विस्तृत हिसाब भने आफूले नराखेको उनले बताए। बजार व्यवस्थापनलाई ठूलो समस्या नभएको उनको अनुभव छ।

न्युयोर्कको साउथ कोर्टराइटस्थित मुनमिरा फार्ममा रहेको पोखरी।

नेपाली परिवारका लागि ग्रामीण बिदाको गन्तव्य

मुनमिरा फार्म अहिले कृषि उत्पादन र पशुपालनमा मात्रै सीमित छैन। न्युयोर्क र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारका लागि यो प्रकृतिसँग रमाउने र केही समय सहरको व्यस्तताबाट बाहिर बिताउने ठाउँका रूपमा पनि विकसित भएको छ।

फार्ममा बस्न मिल्ने व्यवस्था छ। क्याम्पिङ, क्याम्प फायर, पोखरीमा रमाउने र खुला वातावरणमा समय बिताउने सुविधा रहेको केसी बताउँछन्। बालबालिकाका लागि खेल्ने ठाउँ पनि छ। नजिकै खोलाहरू र हिँडडुल गर्न मिल्ने प्राकृतिक बाटाहरू छन्।

फार्ममा रहेका खसीबोका, कुखुरा तथा अन्य जनावरलाई नजिकबाट हेर्न र तिनको गतिविधि अनुभव गर्न पाउनु बालबालिकाका लागि अर्को आकर्षण हो। यसले सहरी वातावरणमा हुर्किरहेका बालबालिकालाई कृषि र पशुपालनबारे प्रत्यक्ष अनुभव गर्ने अवसर पनि दिन्छ।

मुनमिरा फार्मको साइनबोर्ड।

नेपाली समुदायका लागि खसीबोका र कुखुरा उपलब्ध हुने फार्मका रूपमा यसको छुट्टै महत्त्व छ। विशेषगरी नेपाली खानपान र पारिवारिक जमघटसँग जोडिएका आवश्यकताका लागि ग्राहकहरू यहाँ पुग्ने गरेका छन्।

यसरी मुनमिरा फार्मले कृषि उत्पादन, पशुपालन, मनोरञ्जन र पारिवारिक जमघटलाई एउटै ठाउँमा जोड्ने प्रयास गरेको छ। नेपाली समुदायका सदस्यहरूका लागि गाउँघरको वातावरण र प्रकृतिसँग जोडिने अवसर पनि यसले प्रदान गरेको छ।

नेपालका कृषकलाई अमेरिकी अनुभवबाट सिक्न सकिने पाठ

अमेरिकामा कृषि व्यवसाय सञ्चालन गर्दाको आफ्नो अनुभव नेपालका कृषकका लागि पनि उपयोगी हुन सक्ने केसीको विश्वास छ। विशेषगरी कृषि क्षेत्रमा प्रविधि र यान्त्रिकीकरणको प्रयोगलाई उनी महत्त्वपूर्ण मान्छन्।

उनका अनुसार अमेरिकामा ट्र्याक्टर, कृषि उपकरण र अन्य मेसिनरीको प्रयोगले कामलाई सहज बनाएको छ। नेपालमा भने अझै पनि धेरै कृषि कार्यका लागि मानवीय श्रममा निर्भर रहनुपर्ने अवस्था छ।

“यहाँ कृषकहरूले धेरै टुल्स र ट्र्याक्टर प्रयोग गर्छन्। सबै कुरा सजिलै उपलब्ध हुन्छ। नेपालमा भने अझै धेरै काम मानिसले नै गर्नुपर्ने अवस्था छ,” उनले भने, “त्यसलाई विस्तारै परिवर्तन गर्न सकियो भने नेपालको कृषि क्षेत्र अझ राम्रो हुन सक्छ।”

नेपालमा अमेरिकी कृषि प्रणाली हुबहु लागू गर्नुभन्दा स्थानीय आवश्यकता र उपलब्ध स्रोतअनुसार प्रविधिको प्रयोग बढाउनुपर्ने उनको अनुभवले संकेत गर्छ।

केसीका लागि अमेरिकामा फार्म सञ्चालन गर्नु व्यक्तिगत व्यवसाय विस्तारको प्रयास मात्रै होइन। विदेशमा बसेर पनि नेपालको कृषि पहिचानसँग जोडिइरहने एउटा माध्यम हो।


मुनमिरा फार्ममा फर्सीको पातमा पस्किएको मासुको परिकार।

सबैलाई खुला निमन्त्रणा

न्युयोर्क र आसपासका नेपाली समुदायका सदस्यलाई मुनमिरा फार्म भ्रमण गर्न केसीले निमन्त्रणा दिएका छन्। परिवारसहित समय बिताउन, क्याम्पिङ गर्न, खसीबोका र कुखुराबारे जानकारी लिन वा ग्रामीण वातावरणको अनुभव गर्न चाहने सबैलाई स्वागत रहेको उनी बताउँछन्।

“यहाँ सबैलाई सधैँ स्वागत छ। आउन चाहनेले फोन गरेर मलाई सम्पर्क गर्न सक्नुहुन्छ,” उनले भने।

साउथ कोर्टराइटको ५६५०८ स्टेट हाइवे १० मा रहेको मुनमिरा फार्म न्युयोर्कको सहरी जीवनबाट केही समय टाढा प्रकृतिसँग रमाउन चाहने नेपाली परिवारका लागि एउटा विकल्प बनेको छ।

आप्रवासी जीवनमा सफलता खोज्ने बाटो सधैँ एउटै हुँदैन। कसैले सहरका व्यस्त सडकमा आफ्नो भविष्य खोज्छन्, कसैले प्रविधि र व्यापारमा। केसीले भने खेतबारी, खसीबोका र कुखुरापालनबीच आफ्नो सम्भावना खोजिरहेका छन्।

लेखक दीपक परियार

दीपक परियार ‘खसोखास’का सम्पादक हुन्। विभेदविरुद्धका एक सशक्त अभियन्ताका रूपमा चिनिने उनले विभिन्न पत्रकार संघसंस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। न्युयोर्कबाट पत्रकारिता गर्ने उनी अमेरिकाको नेपाली समुदायका विषयहरूमा लेख्छन्। पत्रकारितामा उनको २५ वर्षभन्दा लामो अनुभव रहेको छ।

यस लेखकका थप समाचार →