७ मंसिर २०८३, सोमबार| Monday, November 23, 2026
नेपाल

नेपाल-भारत शिखर वार्ता: २ खर्ब ४० अर्ब आर्थिक प्याकेज घोषणा, आठ समझदारीपत्रमा हस्ताक्षर

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँ दिल्लीले २ खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गर्नुका साथै आठवटा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। सोमबार हैदराबाद हाउसमा आयोजित संयुक्त समारोहमा दुवै देशका प्रधानमन्त्रीले तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास तथा जनकपुर–अयोध्या रेल सेवा र महाकाली मोटरेबल पुलको उद्घाटन गरेका छन्।

यो समाचार सुन्नुहोस्0:00 / --:--

तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौं ।भारतले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भ्रमणका क्रममा २ खर्ब ४० अर्ब रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ। सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय द्विपक्षीय वार्ता तथा संयुक्त पत्रकार सम्मेलनपछि आर्थिक प्याकेज, ऊर्जा तथा सीमापार पूर्वाधार परियोजना र आठवटा समझदारीपत्र सार्वजनिक गरिएका हुन्।

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिँदै नेपाल-भारतबीच विकास साझेदारीको नयाँ अध्याय सुरु भएको बताए। उनले नेपालमा लगानीको वातावरण अनुकूल रहेको उल्लेख गर्दै भारतीय लगानीकर्ताहरूलाई स्वागत गर्न नेपाल सरकार तयार रहेको स्पष्ट पारे। भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री शाहको प्रशंसा गर्दै नेपालको भविष्य र द्विपक्षीय सम्बन्धप्रति स्पष्ट दृष्टिकोण र प्रतिबद्धता देखेको बताए। नेपालको जनादेशले नयाँ पुस्ताको आकांक्षा प्रतिबिम्बित गरेको उल्लेख गर्दै मोदीले समृद्ध नेपालको विकास यात्रामा भारत सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याए।

नेपालले भारतसँग १ खर्ब सहुलियतपूर्ण ऋण र १ खर्ब अनुदान गरी कुल २ खर्ब आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गरेको थियो। भारतले नेपालको प्रस्तावअनुरूप नै २ खर्ब ४० अर्ब सहयोग घोषणा गरे पनि त्यसमध्ये कति हिस्सा ऋण र कति अनुदान रहने भन्ने विस्तृत विवरण खुलाइएको छैन।

नेपालले अनुदानमध्ये ५० अर्ब रसुवा बाढीपछिको पुनर्निर्माण र थप ५० अर्ब बुटवल-पोखरा एक्सप्रेस वे निर्माणमा उपयोग गर्ने प्रस्ताव राखेको थियो। यद्यपि, कुन परियोजनालाई कति रकम विनियोजन गरिनेछ भन्ने विषय भारतीय पक्षले स्पष्ट पारेको छैन।

अर्थ मन्त्रालय स्रोतका अनुसार भारतले हालसम्म नेपालका लागि चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ। सन् २०१४ मा प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा घोषित १ अर्ब अमेरिकी डलर सहयोगलाई सन् २०१५ को भूकम्पपछि पुनर्निर्माणमा रूपान्तरण गरिएको थियो। त्यसमध्ये २५ करोड डलर अनुदान भूकम्पपछिको पुनर्निर्माणमा खर्च भए पनि ७५ करोड डलर ऋणमध्ये ५ करोड डलर मात्र उपयोग हुन सकेको थियो। भारतीय लाइन अफ क्रेडिटअन्तर्गतका आयोजनामा ७५ प्रतिशत सामग्री भारतीय नै प्रयोग गर्नुपर्ने प्रावधानका कारण करिब ८५ अर्ब भारु बराबरको ऋण उपयोग हुन नसकेको बताइएको छ। सन् २०२४मा  खर्च हुन नसकेको ९० करोड डलरको लाइन अफ क्रेडिट रद्द गरिएको थियो र त्यसमा करिब १० करोड डलर थपेर १ खर्बको नयाँ एलओसी घोषणा हुनुपर्ने नेपालको प्रस्ताव थियो।

दुवै प्रधानमन्त्रीले सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट संयुक्त रूपमा शिलान्यास गरेका छन्।

करिब ९२ अर्ब ६७ करोड रुपैयाँ अनुमानित लागत रहेको यो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगमको सहायक कम्पनीमार्फत अघि बढाइएको यस आयोजनाको सम्झौता सन् २०२३ जुन १ मा लगानी बोर्ड र विकास कम्पनीबीच भएको थियो।

आयोजना विकास सम्झौताअनुसार उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क पाउनेछ भने २५ वर्षको व्यावसायिक सञ्चालनपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिनेछ। यो आयोजना अरुण-३ जलविद्युत् आयोजनासँग जोडिएको प्रणालीमा सञ्चालन हुने र करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत अरुण-३ बाट निस्कने पानी तल्लो अरुणको विद्युत् गृहमा लगिनेछ। जग्गा अधिग्रहणतर्फ प्रत्यक्ष प्रभावित २६८ परिवारमध्ये २५३ परिवारलाई करिब ९९ करोड ९८ लाख रुपैयाँ मुआब्जा वितरण भइसकेको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सोमबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले भर्चुअल उद्घाटन गरेसँगै अयोध्याबाट जनकपुरका लागि रेल प्रस्थान गरेको छ। अयोध्या रेलवे स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेल अधिकारीहरूले रेलको बिदाइ गरेका थिए।

करिब ६०४ किलोमिटर लामो यो साप्ताहिक दुईतर्फी रेलमार्गले रामायण सर्किट पर्यटनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। तालिकाअनुसार रेल प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटी आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ भने प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट छुटी जनकपुरधाम आउनेछ। यो रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनमा रोकिनेछ। सीमापार रेल सञ्चालनमा सुरक्षा व्यवस्थाबारे दुवै देशबीच लामो समयदेखि छलफल चल्दै आएको थियो।

यसैगरी, दार्चुलाको महाकाली नगरपालिका-८ असिगडा र भारतको उत्तराखण्डस्थित धारचुला तहसिलको छारछुम जोड्ने ११० मिटर लामो मोटरेबल पुलको पनि दुवै प्रधानमन्त्रीले संयुक्त उद्घाटन गरेका छन्। भारत सरकारको पूर्ण लगानीमा भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले ३२ करोड ९८ लाखमा निर्माण गरेको यो पुलको ३ असोज २०८० मा शिलान्यास गरिएको थियो। पुलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय स्थापना गरी सञ्चालन गर्ने तयारी छ।

भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ:

  • फरेन्सिक विज्ञान: नेसनल फरेन्सिक साइन्स युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धान सहकार्य।
  • प्रहरी तालिम: नेसनल डिफेन्स युनिभर्सिटी (भारत) र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच तालिम सहकार्य।
  • प्रशासनिक क्षमता विकास: भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजमार्फत नेपाली सरकारी अधिकारीलाई प्रशिक्षण।
  • अन्तरिक्ष तथा सञ्चार: भारतीय अन्तरिक्ष अनुसन्धान संस्था र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोग गरी सञ्चार सञ्जाल निर्माण।
  • अन्य क्षेत्र: आयुर्वेद तथा परम्परागत चिकित्सा, दिगो शहरी विकासमा प्राविधिक सहयोग, स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्र, र पशुपालन तथा मत्स्यपालन क्षेत्रमा सहकार्य।

संयुक्त पत्रकार सम्मेलन सुरु हुनुअघि मोतीहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनदेखि नेपालको जलविद्युत् क्षेत्रमा भइरहेका भारतीय सहकार्य झल्काउने विशेष भिडियो सामग्री प्रस्तुत गरिएको थियो। यसअघि प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै समकक्षी मोदीसँग एकल तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए।

द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए। भारतीय पक्षबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्रीका प्रधान सचिवद्वय पीके मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायतको उपस्थिति रहेको थियो।

सह-लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →
सह-लेखक दिपेन्द्र ढुंगाना

दिपेन्द्र ढुंगाना मल्टिमिडिया पत्रकार हुन्। नेपालका राष्ट्रिय मिडियामा १० वर्षभन्दा बढी काम गरेका ढुंगानाले विशेषगरी नेपाली अध्यागमन, पर्यटन, सामाजिक मुद्दा, ग्रामीण जनजीवन र राजनीतिक आन्दोलनबारे रिपोर्टिङ गर्दै आएका छन्। सन् २०२५ मा काठमाडौँमा प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा गोली लागेर उनी गम्भीर घाइते भएका थिए।

यस लेखकका थप समाचार →