लस एन्जलसको विनाशकारी प्यालिसेड्स डढेलो काण्डमा ३० वर्षीय युवक दोषी ठहर
गत वर्षको जनवरीमा लस एन्जलसको प्यालिसेड्स क्षेत्रमा भएको घातक डढेलो लगाएको अभियोगमा जोनाथन रिन्डरनेक्ट पुनः सुनुवाइबाट दोषी ठहर भएका छन् । यसअघि पहिलो सुनुवाइमा जुरीहरूबीच सहमति जुट्न नसक्दा मुद्दा अनिर्णीत बनेको थियो
Photo: Nikolay Maslov/ Unsplash
लस एन्जलसको प्यालिसेड्स क्षेत्रमा भएको घातक डढेलो लगाएको अभियोग लागेका ३० वर्षीय युवकलाई संघीय अदालतको जुरीले शुक्रबार आगजनीसम्बन्धी दुईवटा अभियोगमा दोषी ठहर गरेको छ । यसअघिको पहिलो सुनुवाइमा जुरीहरूबीच मतैक्य हुन नसकेपछि महिनौंपछि पुनः गरिएको सुनुवाइबाट यो फैसला आएको हो ।
नयाँ जुरीहरूको टोलीले दुई हप्तासम्म अभियोजनकर्ताहरूले जोनाथन रिन्डरनेक्टविरुद्ध प्रस्तुत गरेका प्रमाण र तर्कहरू सुनेका थिए । पूर्व उबर चालकसमेत रहेका रिन्डरनेक्ट सन् २०२५ जनवरीमा लागेको उक्त विनाशकारी डढेलोका लागि जिम्मेवार रहेको अभियोजनकर्ताहरूको दाबी थियो । क्यालिफोर्नियाको तटीय क्षेत्रमा अवस्थित सम्पन्न बस्ती प्यासिफिक प्यालिसेड्सलाई तहसनहस पारेको उक्त डढेलोमा परी १२ जनाको ज्यान गएको थियो ।
अभियोजन पक्षका अनुसार रिन्डरनेक्टले पहाडी क्षेत्रको झाडीमा लाइटर प्रयोग गरी आगो लगाएका थिए । असफल प्रेम सम्बन्धजस्ता व्यक्तिगत कुण्ठा र सम्पत्ति असमानताजस्ता सामाजिक अन्यायको अनुभूतिबाट असन्तुष्ट बनेर उनले संसारसँग बदला लिन खोजेको सरकारी पक्षको तर्क थियो ।
गत वर्षको जनवरीमा दमकलकर्मीहरूले सुरुमा लागेको ‘ल्याचम्यान’ नामक झाडीको आगो नियन्त्रणमा लिएका थिए । तर, जमिनमुनि दबिएर रहेको आगोको भुङ्ग्रोलाई तीव्र गतिको हावाले उडाएपछि त्यसले भयावह ‘प्यालिसेड्स डढेलो’ को रूप लिएको थियो, जसले हजारौं घर तथा व्यवसायहरू ध्वस्त पारेको थियो ।
रिन्डरनेक्टले भने आफू निर्दोष रहेको दाबी गर्दै आगजनीमार्फत सम्पत्ति नष्ट गरेको र अन्तरराज्यीय वाणिज्यमा प्रयोग हुने सम्पत्तिमा आगजनी गरेको परिमार्जित अभियोगहरू अस्वीकार गर्दै आएका थिए ।
पुनः सुनुवाइका क्रममा न्यायाधीशले जुरीहरूलाई ल्याचम्यान र प्यालिसेड्स डढेलो नियन्त्रणमा दमकल विभागको कार्यक्षमता पर्याप्त थियो वा थिएन भन्ने विषयलाई विचार नगर्न स्पष्ट निर्देशन दिएका थिए । सुरुको आगो पूर्ण रूपमा निभाउन नसकेको र पछि त्यही आगो पुनः सल्किएको भन्दै दमकल विभागको आलोचना हुँदै आएको छ । पहिलो सुनुवाइमा केही जुरीहरूले दमकल विभागको विगतको कमजोरीलाई औंल्याउँदै सम्पूर्ण दोष रिन्डरनेक्टमाथि मात्र थोपर्न हिचकिचाएका थिए । १२ सदस्यीय उक्त जुरीमा २ जनाले दोषी ठहर गर्ने पक्षमा मतदान गरेका थिए भने बाँकी १० जना विश्वस्त हुन सकेका थिएनन् ।
पुनः सुनुवाइका क्रममा रिन्डरनेक्टका वकिलहरूले डढेलो लाग्नुको वैकल्पिक कारण प्रस्तुत गर्दै सुरुवाती झाडीको आगो पटकाका कारण सल्किएको जिकिर गरेका थिए । तर, अभियोजनकर्ताहरूले अदालतमा पेस गरेको लिखित जवाफमा उक्त तर्कलाई ‘आधारहीन’ भन्दै खारेज गरिदिए । निजी निवासमा देखिएको दागले पटका पड्काइएको संकेत गर्ने भनी बचाउ पक्षका एक साक्षीले ढिलो गरी दिएको बयानको विश्वसनीयतामाथि समेत अभियोजन पक्षले प्रश्न उठाएको थियो ।





