३ मंसिर २०८३, बिहिबार| Thursday, November 19, 2026
अन्तर्राष्ट्रिय

अमेरिका छिर्ने आशामा आप्रवासीको लर्को, सीमामा ट्रम्प र मेक्सिकन प्रशासनको दोहोरो अवरोध

नयाँ राजनीतिक माहोलसँगै सुरक्षित भविष्यको खोजीमा रहेका आप्रवासीहरू जत्था बनाएर अमेरिकी सीमातर्फ सोझिएका छन्। तर, सन् २०२५ यता कुनै पनि जत्था सीमामा नपुगेको मेक्सिकोको दाबी र ट्रम्पको कडा चेतावनीले उनीहरूको यात्रा अनिश्चित बनेको छ

Photo: Greg Bulla/ Unsplash

मेक्सिको हुँदै अमेरिकाको सीमातर्फ अघि बढिरहेका आशावादी आप्रवासीहरूका जत्थाका सामु इतिहास र कठिन राजनीतिक अवरोधहरू खडा भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी मेक्सिकोमा बनिरहेका ‘विशाल जत्था’ हरू टेक्सास राज्यको सीमासम्म आइपुग्न सफल भए पनि उनीहरूलाई अमेरिका प्रवेश गर्न नदिइने पटक-पटक बताउँदै आएका छन्।

यद्यपि, यसै महिना सम्पन्न अमेरिकी निर्वाचनमा डेमोक्रेटिक पार्टीले हासिल गरेको सफलताका कारण मेक्सिको-ग्वाटेमाला सीमा नजिकै यस्ता जत्थामा सामेल हुने मध्य अमेरिकी आप्रवासीहरूमा नयाँ आशा पलाएको छ।

विगत एक दशकदेखि अमेरिकामा हुने राजनीतिक नेतृत्व वा प्रशासनको परिवर्तनले आप्रवासीहरूको अपेक्षामा फेरबदल ल्याउने क्रम दोहोरिँदै आएको छ,” मेक्सिकोस्थित ‘कलेज अफ द नर्दर्न बोर्डर’ की सांस्कृतिक अध्ययनकी प्राध्यापक लौरा भेलास्को ओर्टिजका अनुसार जत्थामा यात्रा गरिरहेका व्यक्तिहरूमा आफू सफल भइनेछ र अध्यागमन अधिकारी वा राजनीतिज्ञलाई आफ्नो सुरक्षाको आवश्यकता छ भनी विश्वस्त पार्न सकिनेछ भन्ने वास्तविक आशा देखिन्छ।

यता, टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबटको कार्यकाल सकिनै लाग्दा र नवनिर्वाचित गभर्नर गिना हिनोजोसाले पदभार ग्रहण गर्नुअघि सीमा क्षेत्रमा आप्रवासीहरूको चाप बढ्ने अपेक्षा अमेरिकी बोर्डर पेट्रोलमा २१ वर्ष काम गरेका अनुभवी आर्ट डेल कुएटोले गरेका छन्। सुरक्षित मार्गको खोजीमा रहेका आप्रवासीहरूका कारण सीमामा चहलपहल बढ्ने उनको अनुमान छ।

हिनोजोसाले सीमा सुरक्षित राख्नेबारे हालसम्म सार्वजनिक रूपमा कुनै ठोस योजना घोषणा गरेकी छैनन्, यद्यपि चुनावी अभियानका क्रममा उनले यसलाई प्राथमिकतामा राख्ने बताएकी थिइन्।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले सन् २०२५ यता कुनै पनि आप्रवासी जत्था अमेरिकी सीमामा नपुगेको गत साता बताएकी थिइन्।

उनले पछिल्लो जत्थालाई सुस्त बनाउन मेक्सिकन अधिकारीहरूले सडकमा अवरोध खडा गरेको र आप्रवासीहरूलाई नियन्त्रणमा लिन थालेको जानकारी दिइन्। साथै, ट्रम्प प्रशासनले गैरकानुनी प्रवेशमा गरेको कडाइका कारण जत्थाहरूलाई सीमा पार गर्न कठिन हुने चेतावनीसमेत शेनबामले दिएकी छन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

प्राध्यापक भेलास्को ओर्टिजका अनुसार सन् २०१७-२०१८ मा यो प्रवृत्ति सुरु भएयता कुनै पनि जत्था सीमा पार गर्न सफल भएका छैनन्। लामो यात्राका क्रममा समूहलाई एकजुट राख्न कठिन हुने भएकाले यस्ता जत्थाहरू प्रायः बीचमै तितरबितर हुने गर्छन्।

सन् २०१७ मा दक्षिणी मेक्सिकोबाट २०० जनाको जत्था हिँडेकोमा अमेरिकी सीमा पुग्दा ८० जना मात्र बाँकी रहेको ‘द वर्ल्ड पब्लिक रेडियो’ ले जनाएको छ। राइस युनिभर्सिटीको बेकर इन्स्टिच्युटका अनुसार कोभिड–१९ प्रतिबन्धले पनि समूहमा सीमा पार गर्न झनै कठिन बनाएको थियो।

भेलास्को ओर्टिजका अनुसार कानुनी माध्यमबाट अमेरिका प्रवेश गर्न लाग्ने लामो प्रतीक्षा समय र गैरकानुनी रूपमा सीमा पार गरेपछि पुनः मेक्सिको नै फर्काइने गरेका खबरहरूले कतिपयलाई अमेरिकी सीमासम्म पुग्न निरुत्साहित गर्छ।

दक्षिण अमेरिकाको असुरक्षित जीवनयापनबाट जोगिन शरण खोजिरहेका कतिपय आप्रवासीहरू मेक्सिकोमै बस्न रुचाउँछन्, जहाँ उनीहरूलाई प्रायः अस्थायी अनुमतिपत्र दिइन्छ।

परिवार र साना बालबालिका समेत लिएर लामो दूरी तय गर्नुपर्ने भएकाले अधिकांश जत्थाहरू मेक्सिको सिटी पुग्नुअगावै छिन्नभिन्न हुने गरेको भेलास्को ओर्टिज बताउँछिन्। यद्यपि, जत्था भङ्ग भएपछि ती आप्रवासीहरू कहाँ जान्छन् भन्ने विषय अझै स्पष्ट छैन। अनुसन्धानमा रहेका केही रिक्तताका कारण समूह टुक्रिएपछि सदस्यहरू ठ्याक्कै कहाँ जान्छन् भन्ने यकिन गर्न कठिन भएको उनको भनाइ छ।

मानिसहरू एक्लाएक्लै वा स-साना समूहमा मेक्सिकोको भूभाग हुँदै अघि बढिरहेको हुन सक्छन्, उनले भनिन्, तर यस वर्ष उत्तरी मेक्सिकोका सीमावर्ती सहरहरूमा कुनै पनि जत्था आइपुगेको रेकर्ड हामीसँग छैन।

सिंगो जत्था सीमामा पुग्न नसके पनि अमेरिका प्रवेश गर्न दृढ संकल्पित आप्रवासीहरू एक्लै वा स-साना समूह बनाएर यात्रा जारी राख्छन्। धेरैजसो अवस्थामा उनीहरू मानव तस्करी गर्ने आपराधिक गिरोहमा निर्भर हुन्छन्, जसले आप्रवासीहरूलाई गैरकानुनी रूपमा अमेरिका-मेक्सिको सीमा पार गराएर बर्सेनि अर्बौं डलर कमाउने गर्छन्।

डेल कुएटोका अनुसार यस्ता आपराधिक संगठन र गिरोहहरूले आप्रवासीहरूमा अमेरिका प्रवेश गराइदिने झूटा आशा जगाउँछन्। मध्यावधि निर्वाचनयता तस्कर गिरोहका नाइके र सञ्चालकहरूले आप्रवासीहरूलाई सुरक्षित रूपमा सीमा पार गराइदिने आश्वासन दिइरहेको स्पष्ट देखिएको उनले बताए।

जत्थाबाट छुट्टिएर एक्लाएक्लै अमेरिका प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परे पनि मेक्सिको फिर्ता पठाइनुबाहेक तत्कालै कुनै गम्भीर सजाय भोग्नु नपर्ने डेल कुएटो बताउँछन्। तर, त्यसरी फिर्ता पठाइएपछि तस्कर गिरोहहरूले पुनः पक्राउ नपरी अमेरिका छिराइदिने भन्दै आप्रवासीहरूलाई फकाउने गरेको उनको भनाइ छ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →