३ मंसिर २०८३, बिहिबार| Thursday, November 19, 2026
अमेरिका

रिहा गर्न आदेश दिइएका व्यक्तिलाई तत्काल पुनः पक्राउ गरेपछि अमेरिकी अध्यागमन अधिकारी अदालतको अवहेलनामा दोषी ठहर

रिहाइको आदेश लगत्तै पुनः पक्राउ गर्ने अध्यागमन निकाय आइसको कार्यशैलीप्रति अमेरिकी संघीय अदालतले कडा आपत्ति जनाएको छ

Photo: Sasun Bughdaryan/Unsplash

अमेरिकाको कोलोराडो राज्यस्थित एक संघीय न्यायाधीशले अमेरिकी आइसले अदालती आदेशको उपहास गरेको ठहर गरेका छन् । न्यायाधीशले रिहा गर्न आदेश दिएका एक व्यक्तिलाई तत्कालै पुनः पक्राउ गरेपछि सरकारी अधिकारीहरूलाई अदालतको अवहेलनामा दोषी ठहर गरिएको हो ।

यद्यपि, अमेरिकी जिल्ला न्यायाधीश सार्लोट स्विनीले यस विषयमा थप कारबाही अघि नबढाउने निर्णय गरेकी छन् । एक अधिकारीले अदालतमा शपथ खाएर उक्त विवादास्पद अभ्यास बन्द गरिसकेको बताएपछि अवहेलनाको विषय समाधान भएको उनले उल्लेख गरिन् ।

कोलोराडो जिल्लाको संघीय अदालतको अभिलेखअनुसार न्यायाधीश स्विनीले लेखेकी छन्, निवेदकलाई तत्काल रिहा गर्न दिइएको अदालती आदेशलगत्तै पुनः हिरासतमा लिने आइसको नयाँ नीतिले अदालतको आदेशको उपहास गरेको छ ।

कोलोराडो पब्लिक रेडियोको समाचार विभाग सीपीआर न्युजका अनुसार पछिल्लो ६ सातामा कोलोराडोमा कम्तीमा १८ जनालाई तोकिएको समयभन्दा बढी हिरासतमा राखिएको छ वा न्यायाधीशको आदेशमा रिहा भएको केही मिनेटमै पुनः पक्राउ गरिएको छ । कतिपय आप्रवासीहरूले आफैँ मुद्दा लडेकाले यो संख्या अझै बढी हुन सक्ने अध्यागमन वकिलहरूको अनुमान छ ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी अन्तर्गतको आइस रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीमाथिको कडाइ र देश निकाला अभियानको मुख्य निकायका रूपमा रहँदै आएको छ । अधिकारवादी समूहहरूले यस अभियानले अभिव्यक्ति स्वतन्त्रता र उचित कानुनी प्रक्रियाको हक उल्लङ्घन गरेको आरोप लगाएका छन् । साथै, यसले विशेष गरी जातीय अल्पसंख्यकहरूका लागि असुरक्षित वातावरण सिर्जना गरेको उनीहरूको भनाइ छ ।

ट्रम्प प्रशासनले भने आफ्ना कदमहरू आन्तरिक सुरक्षा सुदृढ गर्न केन्द्रित रहेको र कानुनसम्मत भएको दाबी गर्दै आएको छ । न्यायाधीशको बुधबारको टिप्पणीबारे प्रतिक्रिया माग्दा आइस र  होमल्यान्ड सेक्युरिटीले तत्काल कुनै जवाफ दिएनन् ।

यसै महिनाको सुरुमा भएको मध्यावधि निर्वाचनमा कंग्रेसका दुवै सदनमा बहुमत हासिल गरेका डेमोक्रेटिक सांसदहरूले ट्रम्प प्रशासनका आप्रवासन नीतिहरूप्रति उसलाई जवाफदेही बनाउने बताएका छन् ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →