युटामा आप्रवासी हिरासतको सङ्ख्यामा भारी वृद्धि, आपराधिक रेकर्ड नभएकाहरू बढी पक्राउ
सन् २०२५ जनवरीदेखि अगस्टसम्म युटाको वेस्ट भ्याली र साल्ट लेक सिटीमा सबैभन्दा बढी आप्रवासी हिरासतमा लिइएका छन्। जघन्य अपराधीलाई लक्षित गर्ने भनिए पनि पछिल्लो समय सामान्य आप्रवासीहरू बढी पक्राउ पर्न थालेका छन्
फोटो: होमल्याण्ड सेक्युरिटी
अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले आप्रवासीहरूको पक्राउ र देश निकालामा कीर्तिमानी वृद्धि भएको नयाँ तथ्याङ्क सार्वजनिक गरेसँगै युटा राज्यको समानान्तर तथ्याङ्कले पनि यस्तै तीव्रता देखाएको छ।
डिपोर्टेसन डेटा प्रोजेक्टद्वारा सङ्कलित सङ्घीय तथ्याङ्कअनुसार युटामा आप्रवासीहरूको समग्र पक्राउ दर बढ्दो छ भने पक्राउ पर्नेहरूमध्ये आपराधिक पृष्ठभूमि नभएका व्यक्तिहरूको सङ्ख्या झन् बढेको छ। पक्राउ क्रम बढेसँगै सडक र सार्वजनिक स्थलहरूमा छड्के कारबाही तीव्र पारिएको छ, जसका कारण सामाजिक सञ्जालमा धरपकडका घरेलु भिडियोहरू निरन्तर सार्वजनिक भइरहेका छन्।
स्थानीय कानून कार्यान्वयन निकाय र आइस एजेन्टहरूबीचको सहकार्य सम्झौता अर्थात् ‘२८७(जी)’ मार्फत हुने पक्राउ भने कुल हिरासतको सानो हिस्सा मात्र रहेको छ र युटामा यो दर लगभग स्थिर देखिएको छ।
डीएचएसले गत हप्ता जनाएअनुसार सेप्टेम्बर ३० मा समाप्त भएको आर्थिक वर्ष २०२६ मा आइस अधिकारीहरूले देशभरबाट ४ लाख ८३ हजार २ सय जनालाई देश निकाला गरी कीर्तिमान कायम गरेका छन्। सन् २०२५ को कीर्तिमानी वर्षपछि आएको यो सङ्ख्या पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालका तीन पूर्ण आर्थिक वर्षमा भएको कुल पक्राउ सङ्ख्या ४ लाख ८६ हजार २४० को झन्डै बराबर हो।
यो तथ्याङ्कपछि डीएचएस सेक्रेटरी मार्कवेन मुलिनले आइस कर्मचारी र अवैध आप्रवासनमाथि कडाइ गर्न केन्द्रित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन्।
मुलिनले भने, “आर्थिक वर्ष २०२६ मा आइसको इतिहासमै सबैभन्दा बढी देश निकाला र पक्राउ भएको छ। पक्राउका हिसाबले सेप्टेम्बर २०२६ आइसको इतिहासकै सबैभन्दा सफल महिना बन्यो। राष्ट्रपति ट्रम्पको नेतृत्वका कारण अमेरिकी नागरिकको जीवन रक्षा गर्न कागजातविहीन विदेशीहरूलाई लक्षित गरी हटाउन आइसलाई पूर्ण अधिकार दिइएको छ।
डीएचएसले राज्यअनुसारको छुट्टै तथ्याङ्क सार्वजनिक गरेको छैन भने युटाको विवरणबारे स्थानीय सञ्चारमाध्यम केएसएलको अनुरोधमा संक्षिप्त प्रतिक्रिया मात्र दिएको छ। डिपार्टमेन्टका प्रवक्ताका अनुसार, डीएचएसले युटासहित देशभर हरेक दिन राष्ट्रका कानूनहरू कार्यान्वयन गरिरहेको छ।
यद्यपि, युटाका विभिन्न स्थानबाट सार्वजनिक भएका धरपकडका भिडियो र आप्रवासी अधिकारकर्मीहरूको विरोधले ट्रम्प प्रशासनअन्तर्गत अध्यागमन कारबाही तीव्र बनेको पुष्टि गर्छ। राष्ट्रपति ट्रम्पले सार्वजनिक सुरक्षा सुदृढ गर्न र अमेरिकी स्रोतसाधन जोगाउन यो कदम चालिएको बताउँदै आएका छन्।
क्यालिफोर्निया विश्वविद्यालयको संयुक्त पहल ‘डिपोर्टेसन डेटा प्रोजेक्ट’ ले सार्वजनिक अभिलेख अनुरोधमार्फत अध्यागमन कारबाहीका तथ्याङ्क सङ्कलन गरी सार्वजनिक गर्दछ।
ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेको सन् २०२५ जनवरीदेखि अगस्टको सुरुवाती दिन सम्मको करिब १९ महिनामा युटामा आइसले पक्राउ गरी हिरासतमा लिएका आप्रवासीको कुल सङ्ख्या ७ हजार ५४५ पुगेको छ। सन् २०२५ को जनवरीदेखि जुनसम्म मासिक औसत करिब २८५ रहेको पक्राउ सङ्ख्या जुलाईदेखि वर्षको अन्त्यसम्म मासिक ४०२ र सन् २०२६ जनवरीदेखि जुलाईसम्मको सात महिनामा मासिक ४८० पुगेको छ। यसको तुलनामा बाइडेन राष्ट्रपति हुँदा सन् २०२४ मा मासिक औसत ११८ र २०२३ मा ८६ मात्र थियो। ती दुई वर्षमा कुल २ हजार ४५१ जना मात्र हिरासतमा लिइएका थिए, जुन ट्रम्पको दोस्रो कार्यकालको सुरुवाती १९ महिनाको तुलनामा एक तिहाइभन्दा कम हो।
ट्रम्पले सुरुमा गम्भीर अपराधमा संलग्न आप्रवासीमाथि मात्र कारबाही केन्द्रित हुने बताएका थिए। तर, पछिल्लो समय कुनै आपराधिक अभियोग प्रमाणित नभएका आप्रवासीहरू बढी पक्राउ पर्न थालेका छन्। सन् २०२५ मार्चमा युटामा हिरासतमा लिइएकामध्ये हिंसात्मक र गैरहिंसात्मक अपराधमा दोषी ठहरिएकाहरूको हिस्सा ७०.८ प्रतिशत थियो, जुन गत फेब्रुअरीमा ४१.४ प्रतिशत र जुलाईमा ४५.१ प्रतिशतमा झरेको छ। हिंसात्मक अपराधमा मात्र दोषी ठहरिएकाहरूको हिस्सा सन् २०२५ मार्चमा ९.१ प्रतिशत रहेकोमा गत जुलाईमा २.६ प्रतिशतमा सीमित भएको छ। यसको विपरीत, कुनै आपराधिक रेकर्ड नभएका आप्रवासीहरूको हिस्सा सन् २०२५ मार्चमा २९.२ प्रतिशत रहेकोमा क्रमशः बढ्दै गत जुलाईसम्म ५४.९ प्रतिशत पुगेको छ।
कारबाही तीव्र भएसँगै सडक र समुदायस्तरमै गएर पक्राउ गर्ने क्रम बढेको छ। सन् २०२५ जनवरीदेखि गत अगस्टको सुरुसम्म कुल हिरासतमध्ये ३३.८ प्रतिशत ‘एट-लार्ज’ पक्राउ परेका छन्। प्रतिशतका हिसाबले बाइडेनको पालामा सन् २०२४ मा यो दर ३७.६ प्रतिशत रहे पनि वास्तविक सङ्ख्यामा ट्रम्पको पालामा निकै बढी छ। ट्रम्पको कार्यकालको १९ महिनामा मासिक औसत १३३ अर्थात् कुल २ हजार ५२८ जना समुदायबाटै पक्राउ परेका छन्, जबकि बाइडेनको पालामा सन् २०२४ को १२ महिनामा मासिक औसत ४४ अर्थात् कुल ५३३ जना मात्र यसरी पक्राउ परेका थिए। यसबाहेक स्थानीय प्रहरीको हिरासतमा रहेका व्यक्तिहरूलाई सङ्घीय अध्यागमन अधिकारीहरूले बुझेर गर्ने ‘कस्टोडियल’ पक्राउले पनि ठूलो हिस्सा ओगटेको छ।
ट्रम्प प्रशासनले स्थानीय निकायसँगको सहकार्य कार्यक्रम पुनः ब्युँताएपछि सन् २०२५ जुलाईदेखि यो सम्झौताअन्तर्गत पक्राउ सुरु भएको हो। सन् २०२५ जुलाईदेखि गत अगस्टको सुरुसम्म यस माध्यमबाट कुल २९४ जना हिरासतमा लिइएका छन्, जसमध्ये वेबर काउन्टीमा १२१ र वासिङ्टन काउन्टीमा ९० जना पक्राउ परेका छन्। दुवै काउन्टीका सेरिफ कार्यालयले आइससँग २८७(जी) सम्झौता गरेका छन्।
राज्यभर पक्राउका घटना भए पनि ठूला सहरहरूमा कारबाही बढी केन्द्रित देखिएको छ। सन् २०२५ जनवरीदेखि अगस्ट ६ सम्म वेस्ट भ्याली सिटीमा सबैभन्दा बढी १ हजार ९४ जना पक्राउ परेका छन्। यस्तै, साल्ट लेक सिटीमा १ हजार २५, स्पेनिस फोर्कमा ७६८, ओग्डेनमा ६१८, सेन्ट जर्जमा ३६७ र प्रोभोमा ८४ जना आप्रवासी पक्राउ परेका छन्।





