४ मंसिर २०८३, शुक्रबार| Friday, November 20, 2026
अमेरिका

गोपनीयताको चिन्ताबीच क्यामेरा ठेक्का र कानुन प्रभावित पार्न फ्लक सेफ्टीले प्रहरी प्रयोग गरेको खुलासा

निगरानी क्यामेरामाथि प्रतिबन्ध लगाउने प्रयासहरू विफल पार्न ‘फ्लक सेफ्टी’ ले स्थानीय प्रहरी निकायलाई आफ्नो प्रभाव सञ्जालमा जोडेको छ । नागरिकको गोपनीयताको चासोलाई बेवास्ता गर्दै प्रहरीमार्फत कानुन निर्माणमा दबाब सिर्जना गरिएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् ।

Photo: krzhck/ Unsplash

सडकमा जडान गरिएका स्वचालित लाइसेन्स प्लेट रिडर क्यामेराहरू जोगाउन प्रविधि कम्पनी ‘फ्लक सेफ्टी’ले सरकारी लबिङमा लाखौँ डलर खर्च गरिरहेको छ । तर, कम्पनीको सबैभन्दा प्रभावकारी अभियान व्यावसायिक लबिङ फर्महरूबाट नभई स्थानीय प्रहरी अधिकारीहरूसँगको अनौपचारिक साझेदारीबाट भइरहेको खुलेको छ ।

गोपनीयता र निगरानी सम्बन्धी बढ्दो चिन्ताका कारण स्थानीय, राज्य र संघीय सांसदहरूले फ्लकका क्यामेरामा प्रतिबन्ध लगाउन दबाब झेलिरहेका बेला शेरिफ, प्रहरी प्रमुख र अन्य कानुन कार्यान्वयन अधिकारीहरू कम्पनीको प्रभाव सञ्जालमा जोडिएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत ग्यारेट ल्याङ्लीले गत अक्टोबरमा ओर्लान्डोमा आयोजित ‘इन्टरनेसनल एसोसिएसन अफ चिफ्स अफ पुलिस’ सम्मेलनमा यस समन्वयबारे खुलेर चर्चा गरेका थिए । सो क्रममा उनले देशभर लाइसेन्स प्लेट रिडरसम्बन्धी कानुन निर्माणमा लबिङ गर्न कम्पनीले कानुन कार्यान्वयन अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको बताएका थिए ।

सम्मेलनमा ल्याङ्लीले गोपनीयता र निगरानीको कडा स्थानीय विरोधका बाबजुद क्यालिफोर्नियाको ओकल्यान्डमा २२ लाख डलरको ठेक्का कसरी हात पारियो भन्ने उदाहरण प्रस्तुत गरे । समुदायमा उक्त प्रविधिको वकालत गर्न प्रहरीलाई परिचालन गरेर सो सफलता मिलेको उनको भनाइ थियो ।

“हामीले एनएएसीपीसँग समन्वय गर्न, यो प्रविधिले कसरी काम गर्छ र समुदायमा यसको प्रभाव कस्तो छ भनेर देखाउन प्रहरी विभागसँग पर्दापछाडि रहेर काम गर्‍यौँ,” फ्लकका सीईओले सम्मेलनमा भनेका थिए । उनले दर्शकदीर्घामा रहेका प्रहरी प्रमुखहरूलाई पनि लाइसेन्स प्लेट रिडरको पक्षमा वकालत गर्न पादरी र व्यावसायिक संघसंस्था लगायत स्थानीय समूहहरूसँग जोडिन प्रोत्साहित गरे । सामुदायिक समर्थन जित्न यो नै सबैभन्दा सफल रणनीति भएको उनको दाबी थियो ।

फ्लक र अन्य लाइसेन्स प्लेट रिडरलाई नियमन गर्ने आफ्ना प्रस्तावहरूमा कानुन कार्यान्वयन निकायबाट विरोध झेलेका भर्जिनिया, नेभाडा, टेक्सास, वासिङ्टन, पेन्सिल्भेनिया, मिनेसोटा र मिजुरीका आठ जना सांसदहरूसँग कुराकानी गर्दा,स्थानीय प्रहरीसँगको साझेदारीले नागरिकको गोपनीयता र निगरानीसम्बन्धी चासोलाई ओझेलमा पारेको र कम्पनीलाई अनुचित फाइदा पुगेको उनीहरूको आरोप छ ।

गोपनीयताको सुरक्षा चाहने नागरिकहरूको पछाडि कुनै कम्पनी, संस्था वा लबिङ गर्ने शक्ति छैन,सन् २०२७ मा मिजुरी राज्यमा फ्लकमाथि प्रतिबन्ध लगाउने विधेयक ल्याउने तयारी गरिरहेका राज्य सांसद जेफ भेर्नेट्टीले भने । गत मे महिनामा मिजुरीमा लाइसेन्स प्लेट रिडर प्रतिबन्ध लगाउने उनको प्रयास असफल भएको थियो, जसको दोष उनले राज्यको राजमार्ग गस्तीको विरोधलाई दिएका छन् ।

आफ्ना राज्यमा विधेयक ल्याउने सांसदहरूका अनुसार प्रहरीको प्रभावकै कारण मिनेसोटामा लाइसेन्स प्लेट रिडरले संकलन गर्ने डेटा सीमित गर्ने प्रस्ताव तुहिएको थियो । त्यस्तै, प्रहरीले यस्ता क्यामेराबाट प्राप्त जानकारी कसरी प्रयोग र आदानप्रदान गर्छ भन्ने विषयलाई नियन्त्रण गर्ने वासिङ्टन राज्यको कानुनसमेत प्रहरीकै दबाबका कारण कमजोर बनाइएको थियो ।हामी यस्तो अवस्थामा छौँ, जहाँ प्रहरीको उपकरण खोस्ने कुनै पनि कदमलाई अत्यधिक राजनीतिकरण गरिन्छ, वासिङ्टन राज्यकी सिनेटर यास्मिन ट्रुडोले भनिन् ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

यता, ओकल्यान्ड प्रहरी विभागका प्रवक्ताले ओकल्यान्ड एनएएसीपीलाई दिइएको ब्रिफिङमा ल्याङ्लीसँग सहकार्य नगरेको दाबी गरेका छन् । यद्यपि, फ्लकसँगको बृहत् समन्वयबारे सोधिएका प्रश्नको भने उनले जवाफ दिएनन् । ओकल्यान्ड एनएएसीपीले पनि प्रतिक्रियाका लागि गरिएका पटक–पटकका अनुरोधमा कुनै जवाफ दिएन ।

फ्लकका लागि लाइसेन्स प्लेट रिडरमा प्रतिबन्ध लगाउने प्रयासहरू अस्तित्वकै जोखिम बनेका छन् । स्थानीय प्रहरीमा निर्भर रहँदा आफ्नो सन्देश सिधै सांसदहरूसम्म पुग्ने कम्पनीको बुझाइ छ ।

फ्लकका प्रवक्ता पेरिस ल्युबेलले प्रहरी प्रमुखहरूको सम्मेलनमा सीईओ ल्याङ्लीले दिएका अभिव्यक्तिहरूको पुष्टि गर्दै कम्पनीले प्रहरी अधिकारीहरूलाई सांसद र सामुदायिक समूहसमक्ष प्रविधिको फाइदा उजागर गर्न प्रोत्साहित गर्ने गरेको बताए ।

आफ्नो टोलछिमेकको सुरक्षाप्रति गहिरो चासो राख्ने सामुदायिक अगुवाहरूसँग काम गरेकोमा हामी कुनै माफी माग्दैनौँ,” ल्युबेलले एक विज्ञप्तिमा भनेका छन् । सांसदहरूलाई यस प्रविधिको सार्वजनिक सुरक्षासम्बन्धी फाइदाबारे बुझाउन प्रहरी नै सबैभन्दा उपयुक्त माध्यम भएको उनले थपे । सार्वजनिक सुरक्षा र व्यक्तिगत गोपनीयता दुवैको रक्षा गर्ने कानुन निर्माण गर्न उनीहरूको आवाज अत्यन्त महत्त्वपूर्ण छ,”उनले भने, कानुनमा बलियो र अर्थपूर्ण सुरक्षा व्यवस्था सुनिश्चित गर्न हामी नीति निर्माता, कानुन कार्यान्वयन संस्था र अन्य सरोकारवालाहरूसँग मिलेर काम गरिरहनेछौँ ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →