फुटबल खेल्दा लड्ने आफ्नो बाल्यकालदेखिको गुण-नेइमार


प्रकाशित मिति : श्रावण १५, २०७५ मंगलबार

एजेन्सी। ब्राजिलियन प्रसिद्ध फुटबल खेलाडी नेइमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन् ।

नेइमारले भर्खरै रसियामा सम्पन्न भएको खेलमा ‘अस्वभाविक अभिनय’ गरेको भनी विश्वभर आएको आलोचनालाई सम्बोधन गर्दै उनले भने, ‘खुट्टाका नलीमा जुत्ताको चोटलाग्दा, मेरुदण्डमा ठक्कर लाग्दा, खुट्टामा विपक्षी साथीहरूको पैतालाले कुल्चिँदा म जमिनमा ढल्नु स्वभाविक हो ।’

‘पीडाका कारण जमिनमा म ढल्दा अस्वभाविक लागेको हुनसक्छ वा दर्शकले यसलाई अस्वभाविक अभिनय भन्नुभयो होला तर यो मेरो बाल्यकालदेखिकै बानी हो’ उनले एक टेलिभिजन कार्यक्रममा भनेका छन् ।

पेरिस सेन्ट जर्मनका फरवार्ड खेलाडी नेइमारले पोर्चुगाली भाषामा भने, “तपाईहरू सबैले सोच्नुहोला खेलका समय म धेरै नै लडेँ । तर वास्तवमा म लडेको हो, अभिनय गरेको होइन । हुनसक्छ, खेलका समय मैले शरीरलाई केही सन्तुलित पार्न सक्नुपथ्र्यो त्यो सक्दिन । यो मेरो स्वाभाव बनिसकेको छ ।”

उनको खुट्टाको गोलीगाँठोमा निकै ठूलो चोट लागेको छ र गएको फेब्रुवरीमा शल्यक्रिया नै गर्नुपरेको थियो । नेइमारले विश्वले गरेको आलोचनाले आफ्नो कमजोरी सच्चाउने अवसर मिल्ने धारणा व्यक्त गरे । उनले यसबाट ब्राजिलको फुटबल क्षेत्रलाई पनि सुध्रने अवसर प्राप्त हुने बताए ।

नेइमारले गएको हप्ता एएफपीलाई दिएको अन्तवार्तामा ब्राजिलको विश्वकपमा अनपेक्षित हारले आफूलाई कहिलेकाँही बललाई नहरौँ जस्तो लाग्ने गरेको वा अब फुटबल नै नखेलौँजस्तो लाग्ने गरेको खुलासा गरेका थिए ।

विश्वकप फुटबलमा खेलाडीको चर्चा धेरै कारणले हुने गरेको छ । धेरैजसोको चर्चा राम्रो खेलेको वा सोचेजस्तो खेल्न नसकेका कारण हुने गर्छ । गएको विश्वकपमा नेइमार मैदानमा देखाउने व्यवहारका कारण आलोचना र ब्यंग्यको विषय बन्न पुगेका थिए । सामान्य ट्याकलमा पनि मैदानमा लड्ने मात्र होइन अति नै पीडा भएको जस्तो गरि नाटक गर्ने गरेका कारण नेइमारबारे कतै ट्रोल बनाएर त कतै कार्टुन बनाएर उनको खिल्ली पनि उडाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com