‘परिवर्तन पूरा गर्न सशस्त्र विद्रोह गर्यौ, अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुबे’


प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा डुब्दै टिप्पणी गर्नुभएको छ । उहाँले परिवर्तन अपूरो भयो भनेर आफूहरूले १० वर्ष सशस्त्र विद्रोह गरेको बताउदैँ त्यसको पूरक जनआन्दोलन मधेश विद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको दाबी गर्नुभयो । सामाजिक सञ्जालमार्फत उहाँले हिजोका अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुब्दै गर्दा देशको आर्थिक–सामाजिक रूपान्तरणको काम अधूरै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाँ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो । दश बर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन/मधेसविद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । तर, इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए । देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका डा. भट्टराईले युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेको जिकिर गर्नुभएको छ । उहाँले आफूहरूजस्ता केहीले राजनीतिको पुनःसंरचनाको कुरा गर्दा मूर्ख सावित हुनुपरेको भन्दै लेख्नुभएको छ – ‘बाबुरामहरू जस्ता केही “मूर्ख” हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौं र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन् । तर त्यो अरण्यरोदन बनिरहेछ ।’

अध्यक्ष डा. भट्टराईले इतिहासको गल्ती नदोहोराउन सचेत गराउनुभएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com