बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि मानसरोवर गएकाहरु तातोपानीबाट फर्कंदै , चाप धान्नै मुस्किल


प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार

चीन–नेपाल मैत्री पुल र झाङ्मु सीमा नाका। चीन–नेपाल मितेरी पुल चीन र नेपालको सीमामा अवस्थित एक अन्तर्राष्ट्रिय सडक पुल हो, जसले नेपालको सिन्धुपाल्चोक जिल्ला, भोटेकोशी गाउँपालिकास्थित कोदारीलाई चीनको तिब्बत स्वायत्त क्षेत्रको झाङ्मुसँग जोड्छ। रसुवागढी–केरुङ सीमा नाकामा रहेको मितेरी पुल भने फरक हो, जुन हालैको बाढीले नष्ट गरेको थियो। तस्बिर: सद्दाम१९/विकिमिडिया कमन्स, CC BY-SA 4.0।

काठमाडौं — भदौ १० गते आएको आकस्मिक बाढीपहिरोले चीनसँग जोडिएको रसुवागढी नाका र त्यहाँको अध्यागमन कार्यालय ध्वस्त भएपछि सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा यात्रुको चाप अस्वाभाविक रूपमा बढेको छ। बाढीमा परेर रसुवागढी अध्यागमन कार्यालयका चार कर्मचारी बेपत्ता भएकामध्ये कार्यालय प्रमुख यादव भण्डारीको शव फेला परेको छ भने अन्य तीन जना अझै सम्पर्कविहीन छन्।

बाढीले रसुवागढी नाकाको भौतिक पूर्वाधार, कार्यालयका प्रविधि उपकरण, अभिलेख र सवारीसाधन बगाएको अध्यागमन विभागका प्रवक्ता टिकराम ढकालले जानकारी दिए। उनका अनुसार बेपत्ता कर्मचारीको खोजी जारी रहे पनि घटनाको दुई सातापछि उनीहरू जीवितै फेला पर्ने सम्भावना क्षीण हुँदै गएको छ।

बेपत्ता हुनेमा रसुवागढी अध्यागमन कार्यालयका प्रमुख एवं अध्यागमन अधिकृत भण्डारी, वरिष्ठ अध्यागमन सहायक दुर्गाप्रसाद पोखरेल, खरिदार पार्वती र एक कार्यालय सहयोगी छन्। भण्डारीको शव फेला परेपछि परिवारले अन्त्येष्टि तथा १३ दिने काजकिरिया सम्पन्न गरिसकेको छ।

भवनसहित उपकरण र अभिलेख नष्ट

रसुवागढी अध्यागमन कार्यालय आफ्नै भवनमा सञ्चालनमा थिएन। निजी घरमा भाडामा लिइएको एउटा फ्ल्याट तथा माथिल्लो तलाका दुई कोठा कार्यालयको स्टोरका रूपमा प्रयोग भइरहेका थिए। बाढीले उक्त घर पूरै बगाएकाले कार्यालयका अधिकांश सामग्रीको अवस्था अज्ञात रहेको विभागले जनाएको छ।

बाढीबाट नष्ट वा बेपत्ता भएका सामग्रीमा पासपोर्ट रिडिङ मेसिन, भिसा प्रिन्टर, कम्प्युटर, नेटवर्किङ उपकरण, भिसा स्टिकर, सीमावर्ती नागरिकका लागि जारी हुने २४ घण्टे प्रवेश पास तथा विभिन्न महत्वपूर्ण अभिलेख छन्। कार्यालयको दुईपांग्रे सवारीसाधन र अन्य जिन्सी सामग्री पनि बाढीले बगाएको बताइएको छ।

अध्यागमन विभागले नष्ट वा हराएका सरकारी सामग्रीको आन्तरिक लगत तथा इन्भेन्टरी तयार गरिरहेको छ। सरकारी प्रक्रियाअनुसार ती सामग्रीलाई क्षति भएको भनेर मिनाहा गर्ने वा हराएको अभिलेखमा राख्ने विषयमा पछि निर्णय हुने विभागले जनाएको छ।

तातोपानी हुँदै पर्यटक र नेपालीको उद्धार

रसुवागढी नाका बन्द भएपछि चीनबाट नेपाल आउने यात्रु तथा पर्यटक तातोपानी नाकातर्फ मोडिएका छन्। सामान्य अवस्थामा दैनिक करिब १५० जनाको आवागमन हुने तातोपानी नाकामा अहिले यात्रुको संख्या एक्कासि बढेको छ।

विशेषगरी मानसरोवर–कैलाश यात्रा सकेर फर्किएका भारतीय नागरिक तथा अस्ट्रेलिया, स्पेनलगायत तेस्रो मुलुकका पर्यटक तातोपानी हुँदै नेपाल प्रवेश गरिरहेका छन्। बढ्दो चाप व्यवस्थापन गर्न अध्यागमन विभागले अतिरिक्त काउन्टर र सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केरुङ क्षेत्रमा रोकिएका नेपाली नागरिकको उद्धार पनि तातोपानी नाकाबाट भइरहेको छ। चीनतर्फका अधिकारीसँग समन्वय गरेर राहदानी नभएका तर रसुवागढीको स्थानीय पासका आधारमा चीन गएका नेपालीलाई तातोपानीबाट नेपाल प्रवेश अनुमति दिइएको विभागले जनाएको छ।

केरुङमा अलपत्र परेका करिब ९०० नेपालीमध्ये ७०० भन्दा बढीको उद्धार भइसकेको छ। बाँकी नागरिकलाई नेपाल ल्याउने प्रक्रिया जारी रहेको ढकालले बताए।

चिनियाँ भन्सार पोइन्ट सात किलोमिटर माथि

रसुवा क्षेत्रमा आएको बाढीले चीनतर्फको भूभाग र अध्यागमन पूर्वाधारमा समेत असर पारेको जनाइएको छ। त्यसपछि चीनले मितेरी पुलनजिक रहेको आफ्नो भन्सार तथा अध्यागमन पोइन्ट करिब सात किलोमिटर माथि सारेको छ।

चीनले खासा क्षेत्रलाई ठूलो व्यापारिक केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइरहेको तथा बाढीको जोखिमलाई समेत ध्यानमा राखेर पोइन्ट स्थानान्तरण गरेको बताइएको छ। चीनतर्फ सडक विस्तार, संरक्षण संरचना निर्माण र खासा बजारको क्षमता विस्तारका काम भइरहेका छन्।

हाल यात्रु सेवा शाखा मितेरी पुल आसपास सञ्चालन गर्ने र मुख्य भन्सार पोइन्ट माथिल्लो क्षेत्रमा राख्ने तयारी भइरहेको छ।

व्यापार ठप्प, सुरक्षाकर्मी जोखिममा

बाढीपहिरोपछि तातोपानी नाकाबाट हुने ठूलो परिमाणको व्यापारिक ढुवानी र कन्टेनर आवागमन ठप्प भएको छ। नेपालतर्फको सडक खण्डमा इकु पहिरो, ट्याटलाङ पहिरो र खट्टे खोलाको कटानका कारण आवागमन प्रभावित भएको छ।

रसुवागढी क्षेत्रमा भएको दुर्घटनाबाट तातोपानीका व्यापारी र ट्रेकिङ क्षेत्रमा काम गर्ने कर्मचारी पनि प्रभावित भएका छन्। स्थानीय पसल, होटल र व्यापारिक शोरुम बन्द हुन थालेका छन् भने केही स्थानीय काठमाडौैं र बाह्रबिसेतर्फ सर्न थालेका छन्।

नाकामा कार्यरत नेपाल प्रहरी र अध्यागमनका कर्मचारी पनि जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छन्। सम्भावित बाढीपहिरोको जोखिमका कारण कर्मचारीहरू राति नाकास्थित कार्यालयमा नबसी करिब ४५ मिनेट पैदल दूरीमा रहेको माथिल्लो सुरक्षित गाउँमा बस्ने गरेका छन्।

तातोपानी नाकालाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल भए पनि बाह्रबिसेदेखि नाकासम्मको करिब २२ किलोमिटर क्षेत्रमा उपयुक्त र सुरक्षित स्थान पहिचान हुन नसकेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

रसुवागढी नाका तत्काल पुनः सञ्चालनमा आउने सम्भावना नरहेको अवस्थामा तातोपानी नाकामाथि यात्रु व्यवस्थापन, उद्धार र व्यापारिक गतिविधि सञ्चालनको दबाब थपिने देखिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com