बूढीगण्डकीमा आकस्मिक बाढी: पैयू र बगरका ३५ घर बगायो, आरुघाटसम्म उच्च सतर्कता


प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार

फोटो: साइराम उपरकोटी

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आइतबार बिहानै आकस्मिक रुपमा आएको लेदो र गेग्रानसहितको ठूलो बाढीले व्यापक क्षति पुर्‍याएको छ। बाढीका कारण चुमनुब्रीका पैयू र बगर गाउँका ३५ वटा घर पक्की/कच्ची बगाएको छ भने दोभान, घट्टेखोला, जगत र सल्लेरी क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ।

स्थानीय प्रशासन तथा गाउँपालिका पदाधिकारीका अनुसार आइतबार बिहान करिब ४:०० देखि ४:३५ बजेको बीचमा नदीमा अचानक ठूलो बाढी पसेको थियो। बाढी आएको थाहा पाउनासाथ स्थानीय बासिन्दा र त्यस क्षेत्रमा रहेका पर्यटकहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका थिए। विशेष गरी वडा नम्बर ३ का बजार क्षेत्रमा बाढीले धेरै क्षति पुर्‍याएको छ।

माथिल्लो क्षेत्रमा वर्षा नभएकाले बाढीको स्पष्ट कारण तत्काल खुल्नसकेको छैन। यद्यपि, चुमनुब्री गाउँपालिका–६ स्थित चुम्चेत क्षेत्रको उग्युलुङ खोलामा पहिरो गएर थुनिएको र पछि बाँध एकैपटक फुटेर बूढीगण्डकीमा ठूलो बाढी मिसिएको बताइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनले पनि कतै पहिरोले नदीको बहाव रोकिएर पछि बाँध फुट्दा यो आकस्मिक बाढी आएको प्रारम्भिक अनुमान गरेका छन्।

बाढी तल्लो क्षेत्र आरुघाटसम्मै पुग्न सक्ने र क्षति गराउने जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बाढीको जोखिमलाई ध्यानमा राख्दै सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई शतर्क रहन मोबाइलमा एसएमएस पठाइसकेको छ। बाढी माथिल्लो क्षेत्रबाट आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान छ। सुरक्षा निकाय र स्थानीय प्रतिनिधिहरू उद्धार तथा क्षतिको विस्तृत विवरण सङ्कलनमा जुटिरहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com