अमेरिकामा इन्धनको मूल्य घटाउन ट्रम्पको कदम: रुससँग ३० लाख टनभन्दा बढी डिजेल खरिद गर्ने सम्झौता


प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार

तस्बिर: जुलिया डेमारी निकिन्सन / एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट डिजेल प्राप्त गर्ने सम्झौता भएको घोषणा गरेका छन्। युक्रेन युद्धका कारण मस्कोमाथि वर्षौंदेखि लगाइँदै आएको अमेरिकी दबाबको नीति विपरीत ट्रम्पको यो कदमलाई एक अनपेक्षित मोडका रूपमा हेरिएको छ। अमेरिकामा हुन गइरहेको मध्यावधि निर्वाचनअघि इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्ने उद्देश्यले यो सहमति गरिएको बताइएको छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ताका क्रममा यो सम्झौता भएको जानकारी दिए। ट्रम्पका अनुसार रुसले तत्काल ३ लाख टनभन्दा बढी डिजेल आपूर्ति गर्नेछ। त्यसपछि नोभेम्बरमा थप ५ लाख टन र लगत्तै १० लाख टन डिजेल उपलब्ध गराइनेछ। साथै, त्यसको केही समयभित्रै थप ३० लाख टन डिजेल आपूर्ति गरिने उनले उल्लेख गरेका छन्।

“हाम्रा महान् किसान, पशुपालक र ट्रक चालकहरूका लागि इन्धनको मूल्य घटाउनु नै मेरो सबैभन्दा ठूलो प्राथमिकता हो,” ट्रम्पले भने।

ट्रम्पको यो घोषणाप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा आपत्ति जनाएका छन्। उनले यसलाई “बलिया साझेदारहरूको तर्फबाट गरिएको एक कमजोर निर्णय” भन्दै आलोचना गरेका छन्।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “रुसलाई पेट्रोलियम पदार्थ बिक्री गर्न दिनु भनेको युद्धमा लगानी गर्नुसरह हो। यसले रुसलाई थप आतङ्क मच्चाउन, युद्ध लम्ब्याउन र अझ ठूलो क्षति पुर्‍याउन मद्दत पुग्नेछ।”

ट्रम्पको यो घोषणा यस्तो समयमा आएको छ, जब उनले गत महिना मात्रै रुसी ऊर्जा आयमा कडाइ गर्ने उद्देश्यले व्यापक प्रतिबन्धसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका थिए। सम्झौताको घोषणा भएसँगै अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेललाई विश्वव्यापी बजारमा आउन दिनका लागि छोटो अवधिको अस्थायी छुट जारी गरेको छ।

इरान युद्धका कारण विश्वभर इन्धनको मूल्य अकासिएको छ। अमेरिकामा डिजेलको औसत मूल्य प्रति ग्यालन ६.२८ डलरसम्म पुगेको छ। यद्यपि, ऊर्जा विश्लेषकहरूका अनुसार रुसबाट डिजेल आयात गर्दा पनि विश्वव्यापी अभावका कारण समग्र मूल्यमा उल्लेख्य गिरावट आउने सम्भावना भने न्यून रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com