अमेरिकाको पेन्सिलभेनियामा घरभित्रै अन्धाधुन्ध गोलीप्रहार: दुई बालबालिका र गर्भवतीसहित ९ जनाको मृत्यु


प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार

Photo: Martin Podsiad/ Unsplash

अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित इरी सहरमा शुक्रबार साँझ एक व्यक्तिले आफ्नै परिवारका सात जना सदस्य र एक पारिवारिक साथीको गोली हानी हत्या गरेका छन्। त्यसपछि ती आक्रमणकारीले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रहरी अधिकारीहरूले जनाएका छन्।

इरी प्रहरीका अनुसार मृतकहरू २२ महिनाका शिशुदेखि ४४ वर्ष उमेर समूहका छन्। मृतकहरूमा दुई जना बालबालिका र एक जना आठ महिनाकी गर्भवती महिलासमेत रहेका छन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख रिक लोराहले घटनालाई अत्यन्तै भयानक भन्दै आफूले प्रहरी सेवाको इतिहासमै यति दर्दनाक दृश्य कहिल्यै नदेखेको बताए।

प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेभन्दा केही अघि ‘शटस्पोटर’ले दुईपटक गोली चलेको सङ्केत गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। टोली पुग्दा घरबाहिर ५१ र ३७ वर्षका दुई महिला मृत अवस्थामा फेला परेका थिए।

छिमेकीको रिङ डोरबेल भिडियो फुटेजमा ती दुवै महिला आत्तिएर छिमेकीसँग मद्दत माग्दै ढोका ढकढक्याइरहेको देखिएका छन्। भिडियोमा घरभित्रबाट गोली चलेको आवाज आएको र त्यसपछि संदिग्ध व्यक्ति बाहिर निस्किएर ती दुई महिलालाई पनि गोली हानेको दृश्य कैद भएको प्रहरी प्रमुखले जानकारी दिए।

आक्रमणकारी पुन: घरभित्र छिरेपछि थप गोली चलेको आवाज नसुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सुरुमा घरभित्रबाट कुनै हलचल नआएपछि स्वाट टोलीले ढोका फुटाएर रोबोट भित्र पठाएको थियो। प्रहरी भित्र प्रवेश गर्दा संदिग्धसहित अन्य व्यक्तिहरू मृत भेटिएका थिए।

प्रहरीका अनुसार आक्रमणकारीसहित आठ जना एकै परिवारका हुन् भने बाहिर मृत भेटिएका दुई महिलामध्ये एक जना पारिवारिक साथी थिइन्। घरको पहिलो तलामा ५ वर्षका बालक र २२ महिनाकी बालिका मृत भेटिएका थिए भने दोस्रो तलाको सिँढीमा २४, ४४, १९ र २१ वर्षका चार जनाको शव फेला परेको थियो।

४५ वर्षीय संदिग्ध आक्रमणकारीको शव पनि दोस्रो तलामा फेला परेको छ र उनको साथबाट ४० क्यालिबरको दर्तावाल पेस्तोल बरामद गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरी प्रमुख लोराहले हत्याको स्पष्ट कारण खुलिसकेको नसके पनि मानसिक स्वास्थ्य अवस्था यसको मुख्य कारण हुन सक्ने अनुमान गरेका छन्।

पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले इरीकी मेयर डारिया डेभ्लिनसँग कुराकानी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् र राज्य सरकारका तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com