५ हजारभन्दा बढी अझै बेपत्ता भोटेकोशीको घाउ निको नहुँदै नेपालमा फेरि बाढी र पहिरो
प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार
बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य (नेपाली सेना)
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिको घाउ आलै रहेका बेला नेपालका विभिन्न जिल्लामा फेरि विपद्का घटना भएका छन्। घर, सडक, पुल, जलविद्युत् आयोजना, व्यवसाय र मानवीय जीवनमा परेको क्षतिबाट तङ्ग्रिन नपाउँदै नेपाल लगातारको वर्षाको चपेटामा परेको छ।
असोज ८ देखि ११ गतेसम्म परेको लगातारको वर्षाले देशका पहाड, हिमाल र तराईलाई एकसाथ प्रभावित बनाएको छ। कतै पहिरोले घर पुरेको छ, कतै नदीले बस्ती डुबाएको छ, कतै सडक भासिएको छ भने कतै पुल बगेका छन्।
पछिल्लो चार दिनमा कम्तीमा १२ जनाको मृत्यु भएको र दर्जनौँ बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। करिब २ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
यस पटकको वर्षाबाट देशका विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। पाल्पाको माथागढी र रिब्दीकोटमा गएको पहिरोमा परी ७५ वर्षीय लिलबहादुर घर्तीमगर, १७ वर्षीया दिना घर्ती, १५ वर्षीया झरना घर्ती, ७५ वर्षीय शेरबहादुर चिदी र ५९ वर्षीया कृष्णकुमारी सारूसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख भिमलाल भट्टराईले जानकारी दिए।

म्याग्दीमा गएको पहिरोमा परी चार जनाको ज्यान गएको छ भने अन्य चार जना अझै बेपत्ता छन्। मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालमा आइतबार बिहान गएको हिमपहिरोमा परी १० जना बेपत्ता भएका छन्। यता, हुम्लाको चंखेली गाउँपालिकामा जडीबुटी संकलन गर्न गएका मुगुका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको छ भने अन्य नौ जना सम्पर्कविहीन छन्।
पर्वत र बागलुङमा पनि भारी वर्षाले ठूलो असर पुर्याएको छ। पर्वतका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार कालीगण्डकी नदीमा आएको उर्लंदो बाढीले जलजला गाउँपालिका–८, फर्सेबजारका ६६ वटा घर बगाएको छ भने थप २२ वटा घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन्।
कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको पर्वततर्फको पिल्लर भत्किएको छ। त्यसपछि पुलमा आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।
बुटवल उपमहानगरपालिका–११ मा पनि तिनाउ नदीको बाढीले तटबन्ध भत्काउँदा छ वटा घर बगेका छन्। तर, प्रहरीले समयमै सतर्कता अपनाएर टप मझुवा, प्रगतिनगर, हात्तीसुढ र युद्धनगर क्षेत्रका करिब २०० घरका १ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए।
तिनाउमा बाढी आएपछि नदी आसपासका बासिन्दाले रातभर जाग्राम बस्नुपरेको बताएका छन्। बुटवल–३ का वडा सदस्य अमृत खड्काका अनुसार ज्योतिनगरका बासिन्दा आकाशबाट पानी पर्नासाथ सतर्क भएर बस्नुपर्ने अवस्थामा वर्षौँदेखि छन्। उनका अनुसार पछिल्ला तीन दिन स्थानीयका लागि निकै कष्टकर बनेका छन्।
नारायणी नदीमा जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ। देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको यो हालसम्मकै उच्च जलसतह भएको बताइएको छ। नारायणी र सप्तकोशीमा पानीको सतह बढ्दा पश्चिम नवलपरासीको सुस्ता र सप्तरीका सयौँ घर डुबानमा परेका छन्। सुस्तामा १७२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने केही घरभित्र तीन फिटसम्म पानी पसेको छ।
सप्तरीको हनुमाननगर कंकालिनी र तिलाठी कोइलाडी क्षेत्रमा बाढी घरभित्र पस्दा खाद्यान्न नष्ट भएको छ। वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित स्थानमा सार्नुपरेको छ।
लगातारको वर्षाले पृथ्वी र बीपी राजमार्गसहितका प्रमुख सडकमा पहिरो जाने, सडक भासिने र माटो थुप्रिने समस्या पनि बढाएको छ। विशेष गरी पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा यसअघिको बाढीले क्षतिग्रस्त ग्याबियन संरचना थप भासिएको छ।

भोटेकोशी बाढीको घाउ
यी घटनाहरू भइरहँदा अगस्ट २६ मा आएको रसुवा–भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र भने अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेका छैनन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सेप्टेम्बर २६ साँझसम्मको विवरणअनुसार बाढीमा १ हजार ४५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५ हजार २८५ जना अझै बेपत्ता सूचीमा छन्। प्राधिकरणले बेपत्ताको सूचीमा केही उद्धार भइसकेका व्यक्ति, पहिचान हुन बाँकी शव र दोहोरिएका विवरणसमेत हुन सक्ने भन्दै तथ्यांक प्रमाणीकरणको काम जारी रहेको जनाएको छ।
प्राधिकरणका अनुसार बाढीपछि १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। २१ वटा होल्डिङ सेन्टरमा अझै १ हजार १०९ जना आश्रय लिइरहेका छन्। तीमध्ये रसुवामा नौ केन्द्रमा ८०५, नुवाकोटमा आठ केन्द्रमा १८३ र धादिङमा चार केन्द्रमा १२१ जना छन्।
बेपत्ताको खोजी र शव पहिचानका लागि नेपालसँगै भारत, सिंगापुर, दक्षिण कोरिया, अमेरिका र चीनका फरेन्सिक विज्ञहरू परिचालित छन्। १ हजार ३३० मृतकका डीएनए नमुना र बेपत्ता व्यक्तिका आफन्तबाट २ हजार ६१ सन्दर्भ नमुना संकलन गरिएको छ।
जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा खोजी कार्य अझै जटिल छ। अपर त्रिशूली–१ आयोजनाको सुरुङबाट ठूलो संख्यामा शव निकालिएको र करिब २.२ किलोमिटर भग्नावशेष हटाइएको प्राधिकरणले जनाएको छ। चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट पाँच शव निकालिएको छ भने अन्य आयोजनामा पनि खोजी तथा भग्नावशेष हटाउने काम जारी छ।
बाढीले भत्काएका सडक र पुल पुनः सञ्चालन गर्नु पनि अझै प्रमुख चुनौती बनेको छ। देविघाट, इन्द्रेणीचौर र स्याफ्रुबेँसीमा रोप क्रसिङ निर्माण भइसकेको छ भने हाकुबेँसी र पाहिरेबेँसीमा थप रोप क्रसिङ निर्माणलाई तीव्रता दिइएको छ। प्रभावित क्षेत्रमा सडक पहुँच पुनर्स्थापित गर्न भग्नावशेष हटाउने, चट्टान काट्ने र जलनिकास सुधार्ने कामलाई प्राथमिकतामा राखिएको छ।
बाढीपछि स्वास्थ्य र सामाजिक सेवाको आवश्यकता पनि कायमै छ। प्राधिकरणका अनुसार हालसम्म ९ हजार १३० जनाले स्वास्थ्य सेवा पाएका छन्। मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका लागि १०५ जना सहजकर्ता र मनोचिकित्सक परिचालित छन्। प्रभावित क्षेत्रमा हजारौँ मानिसलाई मनोसामाजिक परामर्श र प्राथमिक मनोवैज्ञानिक सहयोग उपलब्ध गराइएको छ।
शिक्षा क्षेत्रमा नुवाकोट र धादिङमा ५३ वटा अस्थायी सिकाइ केन्द्र तथा कक्षा सञ्चालनमा ल्याइएको छ। धादिङका छ विद्यालय भग्नावशेष हटाएर पुनः सञ्चालनमा आएका छन् भने नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय अस्थायी संरचनामार्फत सञ्चालनमा आएको छ।
बाढी प्रभावित परिवारका लागि अस्थायी आवास र जीविकोपार्जन सहयोगको व्यवस्था पनि अघि बढाइएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई वैकल्पिक आवासको व्यवस्था नभएसम्म बढीमा छ महिनासम्म मासिक १५ हजार रुपैयाँसम्म आवास तथा जीविकोपार्जन भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ। चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि थप प्रतिव्यक्ति २ हजार रुपैयाँ उपलब्ध गराउने प्रावधान छ।
विपद् अब एउटै क्षेत्रमा सीमित छैन
यी घटनाले नेपालमा एउटै मौसम प्रणालीले तराईमा बाढी, पहाडमा पहिरो र हिमालमा हिमपात तथा हिमपहिरोको जोखिम एकैपटक सिर्जना गर्न सक्ने देखाएको छ। यस्तो अवस्थामा विपद्लाई जिल्ला वा प्रदेशको सीमाभित्र मात्र हेर्ने परम्परागत दृष्टिकोण पर्याप्त नहुने देखिन्छ।
वैज्ञानिक रूपमा कुनै एक घटनालाई मात्र प्रत्यक्ष रूपमा जलवायु परिवर्तनको परिणाम भन्न नसकिए पनि यसपटकको वर्षाका तत्कालीन कारकमा बंगालको खाडीबाट आएको चिस्यान र न्यूनचापीय प्रणाली रहेका छन्। जलवायु परिवर्तनका कारण भविष्यमा एसियाका धेरै भागमा भारी वर्षाका घटना अझ तीव्र हुने प्रक्षेपण गरिएको छ।
बुटवलमा तिनाउ किनारका घर जोखिममा पर्नु, सुस्तामा नदी बस्तीमा पस्नु, पर्वतमा कालीगण्डकीले बस्ती बगाउनु र राजमार्गमा पहिरो खस्नुले प्राकृतिक जोखिमसँगै भू–उपयोग नीति र त्यसको कार्यान्वयनमाथि पनि प्रश्न उठाएका छन्।
भोटेकोशी बाढीले गराएको खर्बौँ रुपैयाँको क्षति र त्यसलगत्तै आएको भारी वर्षाले पूर्वाधारमा पारेको थप दबाबले नेपालमा विकास निर्माणका कामलाई जलवायु परिवर्तन र विपद् जोखिमलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने आवश्यकता झन् स्पष्ट बनाएको छ।
भोटेकोशी बाढीको ठूलो क्षति
२०२६ अगस्ट २६ मा आएको भोटेकोशी–त्रिशूली बाढी नेपालले पछिल्ला वर्षमा भोगेका सबैभन्दा ठूला विपद्मध्ये एक हो। रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा बाढीले घर, सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको थियो।
सरकारको द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार भोटेकोशी बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको अनुमान गरिएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि मात्रै ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी आवश्यक पर्ने आकलन छ।
बाढीबाट ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन्। ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा पनि क्षति पुगेको छ। सडक र पुलमा मात्र नभई सुख्खा बन्दरगाह, व्यवसाय, खेतबारी तथा जलविद्युत् संरचनामा समेत असर परेको छ।
जलवायु परिवर्तन र बढ्दो जोखिम
नेपालमा पछिल्ला वर्षमा देखिएका बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, अतिवृष्टि, खडेरी तथा अत्यधिक गर्मीजस्ता घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेर्न सकिन्छ। तर कुनै एउटा विपद् जलवायु परिवर्तनकै कारण मात्र भएको निष्कर्ष निकाल्नुभन्दा जलवायु परिवर्तनले यस्ता घटनाको आवृत्ति, तीव्रता वा जोखिम बढाउन सक्ने अवस्थालाई बुझ्नु उपयुक्त हुन्छ।
जलवायु परिवर्तनका कारण वायुमण्डलको तापक्रम बढ्दा हावाले बढी जलवाष्प धारण गर्न सक्छ। यसले छोटो अवधिमा अत्यधिक वर्षा हुने घटनाको जोखिम बढाउन सक्छ। नेपालमा पछिल्ला वर्षमा छोटो समयमै ठूलो वर्षा हुँदा नदीमा आकस्मिक बाढी, सहरी डुबान र पहिरोका घटना पनि बढिरहेका छन्।
विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा तीव्र वर्षाले कमजोर भूभागमा पहिरो निम्त्याउँदा सडक, पुल, विद्युत् आयोजना र बस्तीमा ठूलो क्षति पुग्ने गरेको छ।
नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तनका प्रभावप्रति विशेष रूपमा संवेदनशील छ। तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने र हिमताल विस्तार हुने जोखिम बढ्छ। हिमतालमा पानीको मात्रा अत्यधिक बढेमा बाँध फुटेर आउने हिमताल विस्फोटजन्य बाढीले तल्लो क्षेत्रमा अचानक ठूलो क्षति पुर्याउन सक्छ। यसको प्रभाव नदी किनारका बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनासम्म पुग्न सक्छ।
नेपालको भौगोलिक बनोट आफैँमा पहिरोको उच्च जोखिममा छ। त्यसमा अत्यधिक वर्षा थपिँदा माटोमा पानीको मात्रा बढेर भिरालो जमिन अस्थिर हुन सक्छ। जलवायु परिवर्तनले वर्षाको स्वरूपमा ल्याउने परिवर्तन र नेपालको कमजोर भौगोलिक संरचनाको संयोजनले पहिरोको जोखिम थप बढाउन सक्छ।
जलवायु परिवर्तनको प्रभाव पहाड र हिमालमा मात्र सीमित छैन। तराई क्षेत्रमा अत्यधिक वर्षा, नदीको बढ्दो बहाव र कमजोर जलनिकास प्रणालीका कारण डुबानको जोखिम बढ्छ। सीमावर्ती क्षेत्रमा नदीको बहाव, तटबन्ध तथा भूमि प्रयोगमा भएका परिवर्तनले जोखिमलाई थप जटिल बनाउन सक्छन्। यसको असर कृषि, खानेपानी, जनस्वास्थ्य, यातायात र स्थानीय अर्थतन्त्रमा पर्न सक्छ।
नेपालमा विपद् भन्नासाथ बाढी र पहिरो मात्र सम्झिने गरिन्छ। तर अत्यधिक गर्मी, लामो समयसम्म वर्षा नहुनु र खडेरी पनि जलवायुजन्य जोखिम हुन्।
तराईका जिल्लामा गर्मीको तीव्रता बढ्दा जनस्वास्थ्य, कृषि तथा श्रम उत्पादकत्व प्रभावित हुन सक्छ। अर्कोतर्फ, वर्षाको अनियमितताले खेतीको समय, उत्पादन र पानीको उपलब्धतामा प्रत्यक्ष असर पार्न सक्छ।
नेपालमा विपद्को जोखिम बुझ्दा जलवायु परिवर्तनसँगै वन विनाश, अव्यवस्थित सडक निर्माण, नदी तथा खोलाको अतिक्रमण, कमजोर पूर्वाधार, अव्यवस्थित बस्ती विकास र कमजोर विपद् व्यवस्थापनलाई पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ।
पछिल्ला बाढी, पहिरो, अतिवृष्टि, हिमताल विस्फोट तथा अत्यधिक गर्मीसम्बन्धी घटनालाई जलवायु परिवर्तनका बदलिँदा प्रभावबाट अलग गरेर हेर्न कठिन हुँदै गएको छ। तर विपद्को वास्तविक क्षति जलवायु परिवर्तनले मात्र निर्धारण गर्दैन।
बढ्दो जलवायु जोखिम, कमजोर भौगोलिक अवस्था, अव्यवस्थित विकास र कमजोर पूर्वतयारीको संयोजनले नेपालमा विपद्को जोखिम बढाइरहेको विकास तथा प्रकोप व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक धर्मराज घिमिरे बताउँछन्।





